ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लगानीदेखि नीतिगत सुधारसम्मका विषय उठ्ने

काठमाडौं । केही दिनयता विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग निरन्तर संवाद गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, लगानीको वातावरण नीतिगत सुधार तथा समाधानका उपायबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ ।

एक ऊर्जा व्यवसायीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा देखिएका चुनौती, निजी क्षेत्रका गुनासा तथा सुधारका सम्भावित उपायबारे प्रत्यक्ष रूपमा सुझाव लिन ऊर्जा उद्यमीहरूलाई छलफलका लागि बोलाएका हुन् । 

पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग संवादलाई तीव्रता दिँदै आएका छन् । यसैक्रममा ऊर्जा क्षेत्रसँगको आजको छलफललाई पनि सरकारले निजी क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ । 

ऊर्जा व्यवसायीहरूले उत्पादन, प्रसारण, विद्युत् खरिद–बिक्री, लगानीमैत्री वातावरण तथा नीतिगत स्थायित्वलगायतका विषयमा आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरेका छन् । 

Share News