काठमाडौं । नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परालाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ३–३ जना अर्थमन्त्रीले बजेट खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ मा जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेट पूर्वअर्थ सचिवसमेत रहेका विज्ञ अर्थमन्त्री रामेश्वर खनाल र त्यसपछि अर्थमन्त्री बनेका अर्थविद् डा. स्वर्णिम वाग्लेले समेत कार्यान्वयन गरे । तर पनि कुल बजेट खर्च १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र रहेको छ ।
सरकारले अन्तिम समयमा हुने खर्चको परम्परा कम गर्न आर्थिक वर्ष सकिनुभन्दा एक हप्ता अगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेको छ । लेखा नियन्त्रकको कार्यालयले बिहीबारबाटै सर्कुलर जारी गरेर बजेट खर्चमा रोक लगाइसकेको छ । आजबाट सरकारी खाता एक हप्ताका लागि बन्द हुनेछ ।
चालु आर्थिक वर्षमा पुँजीगततर्फ मात्र ४४.५१ प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।
यता चालुतर्फ भने केही बढी खर्च भएको देखिएको छ । चालुतर्फ आर्थिक वर्षमा ८८.३ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।
वित्तीय व्यवस्थापनतर्फ ९०.८ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनको लक्ष्य ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।
असारमा मात्रै ११ प्रतिशत खर्च
बालेन्द्र साह नेतृत्वको सरकारका अर्थविद् अर्थमन्त्रीले समेत अन्तिम समय अर्थात् असारमा मात्रै ११.१३ प्रतिशत बजेट खर्च गरेका छन् । जेठ मसान्तसम्म कुल बजेटको ६९.५६ प्रतिशत खर्च भएकोमा आर्थिक वर्षको अन्तिम दिनसम्म ७९.०४ प्रतिशत बजेट खर्च भएको छ ।
यो एक महिनाको अवधिमा मात्र २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बजेट खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
अन्तिम समयमा हुने पुँजीगत बजेट खर्च हेर्ने हो भने झन् भयावह देखिन्छ । एक महिनामा मात्र करिब २१ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । जेठ मसान्तसम्म पुँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ (२३.५३ प्रतिशत) रहेकोमा एक महिनामै ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ (२०.९८ प्रतिशत) खर्च भएको छ ।
चालुतर्फ भने केही कम खर्च भएको छ । चालुतर्फ एक महिनामा ११.३९ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ मसान्तसम्म चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ (७६.९१ प्रतिशत) खर्च भएकोमा असारमा मात्र १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।
एकै दिन ३३ अर्ब १६ करोड बजेट खर्च
सरकारी खाता सञ्चालन हुने अन्तिम दिन मात्रै बजेटको ठूलो रकम खर्च भएको छ । बिहीबार मात्र एकै दिन सरकारी खाताबाट ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगततर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ, चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।