प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बुधबार पनि जारी रहेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख डीपी अर्यालले कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।  गत जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए ।  उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । यसै विषयलाई लिएर विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् भने सरकार र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।

५० हजारको भविष्य अन्योलमा, सिंहदरबारमा करार कर्मचारीको प्रदर्शन

काठमाडौं । तीनै तहका सरकारअन्तर्गत कार्यरत अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरू आफ्नो रोजगारी नै संकटमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन् । साउन १ गतेदेखि ठूलो संख्यामा कर्मचारीलाई सेवाबाट हटाउने तयारी भइरहेको आशंकापछि उनीहरूले बुधबार सिंहदरबारमा प्रदर्शन गरेका हुन् । यसअघि मंगलबार उनीहरूले अर्थ मन्त्रालयअगाडि धर्ना दिएका थिए । आन्दोलनरत कर्मचारीहरूले सरकारले प्रशासनिक खर्च कटौती र मितव्ययिताको नाममा आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् । कर्मचारीहरूका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगामी आर्थिक वर्षदेखि अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाएर ठेक्का प्रणालीमार्फत जनशक्ति व्यवस्थापन गर्ने विषयमा छलफल भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उक्त नीतिले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५० हजारभन्दा बढी कर्मचारीको रोजगारी जोखिममा परेको उनीहरूको दाबी छ । आन्दोलनमा सहभागी कर्मचारीहरूले १० वर्षदेखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीलाई कुनै विकल्प वा संरक्षणबिना घर फर्काउने तयारी अन्यायपूर्ण भएको बताएका छन् । वर्षौसम्म राज्यको सेवा गरे पनि अहिले एकैपटक हटाउने निर्णयले हजारौं परिवारको जीविकोपार्जन संकटमा पर्ने उनीहरूको भनाइ छ । उनीहरूले सरकारले एक पटकका लागि आवश्यक प्रक्रिया पूरा गरी आफूहरूलाई स्थायी गर्नुपर्ने, सर्वोच्च अदालतले अस्थायी तथा करार कर्मचारीको पक्षमा गरेका फैसलाहरू तत्काल कार्यान्वयन गर्नुपर्ने तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने माग अघि सारेका छन् । आन्दोलनरत कर्मचारीहरूका अनुसार सर्वोच्च अदालतले २०७० साल र गत भदौ २ गते दिएका आदेशमार्फत अस्थायी तथा करार कर्मचारीलाई महँगी भत्ता, स्वास्थ्य उपचार, उपदान तथा सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो । तर ती आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले कुनै सेवासुविधा नदिई कर्मचारीलाई घर पठाउने तयारी गरेको उनीहरूको आरोप छ । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि ठोस निर्णय नभई आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।   

निषेधित क्षेत्र तोड्न खोज्ने अनेरास्ववियु अध्यक्ष धामीसहित सात जना पक्राउ

काठमाडौं । सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान सिंहदरबारको दक्षिण प्रवेशद्वार अगाडि प्रदर्शन गर्न पुगेका अनेरास्ववियुका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीहरूले निषेधित क्षेत्र तोडेर नाराबाजीसहित प्रदर्शन गर्न खोजेपछि सुरक्षाको दृष्टिले नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन् । अनेरास्ववियुले विभिन्न माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।  प्रदर्शनका क्रममा उनीहरूले मोटरसाइकल पार्किङ गरी नाराबाजी गर्न थालेपछि केहीबेर उक्त क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउँदै नेतृत्व तहका सात जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेशको प्रयास र सुरक्षा व्यवस्थामा अवरोध पुग्ने गतिविधि देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।  पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । यस घटनापछि सिंहदरबार आसपासको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।