निषेधित क्षेत्र तोड्न खोज्ने अनेरास्ववियु अध्यक्ष धामीसहित सात जना पक्राउ

काठमाडौं । सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान सिंहदरबारको दक्षिण प्रवेशद्वार अगाडि प्रदर्शन गर्न पुगेका अनेरास्ववियुका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरूले निषेधित क्षेत्र तोडेर नाराबाजीसहित प्रदर्शन गर्न खोजेपछि सुरक्षाको दृष्टिले नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन् ।

अनेरास्ववियुले विभिन्न माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो । 

प्रदर्शनका क्रममा उनीहरूले मोटरसाइकल पार्किङ गरी नाराबाजी गर्न थालेपछि केहीबेर उक्त क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई हटाउँदै नेतृत्व तहका सात जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रवेशको प्रयास र सुरक्षा व्यवस्थामा अवरोध पुग्ने गतिविधि देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ । 

पक्राउ परेकाहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ ।

यस घटनापछि सिंहदरबार आसपासको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।  

Share News