काठमाडौं । केही दिनअघि आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ ।
जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । साथै, बीपी राजमार्गमा १० टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार सडक जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको छ । धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन बाटोमा सम्भव भएसम्म एकै समयमा आमनेसामने नहुने गरी समय व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।
ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डेबेँसी सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने व्यवस्था गरिएको छ ।
त्यस्तै, दुर्घटनाको उच्च जोखिम रहेका साँघुरा घुम्ती तथा सडक अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका काम तत्काल अघि बढाइने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधनलाई सहज रूपमा पार गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ । कार्यालयका अनुसार जोखिमयुक्त स्थानमा सडकको अवस्था सुधार गर्ने तथा सवारीसाधनको आवागमन सहज बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।