सुकुम्वासीबारे ४ दलले संसद्‌मा दर्ता गराए जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौं । ठोस पुनर्स्थापना योजनाबिना नै सुकुम्वासी बस्ती भत्काएर नागरिकलाई विस्थापित गरिएको विषयलाई लिएर प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयमा बुधबार (२०८३ असार ३१ गते) प्रमुख चार राजनीतिक दलका सांसदहरूले संयुक्तरूपमा सो प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ७१ बमोजिम दर्ता गरिएको यस प्रस्तावमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका प्रमुख नेताहरूको सहभागिता रहेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रस्तावक रहेको उक्त प्रस्तावमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई समर्थक रहेका छन् । दर्ता गरिएको प्रस्तावमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, उपयुक्त आवासको हकका साथै सुकुम्वासी तथा भूमिहीन दलितको मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । प्रस्तावमा गत वैशाख महिनामा सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न नदी किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा कुनै ठोस पुनर्स्थापना योजना र विकल्पबिना नै डोजर चलाएर नागरिकहरूलाई सडकमा पुर्‍याएको उल्लेख छ ।  सरकारको सो कदमले मौलिक हकको ठाडो उल्लङ्घन भएको ठहर गर्दै सांसदहरूले विस्थापित नागरिकको व्यवस्थापन लगायतका मुख्य ५ वटा विषयमाथि सदनमा तत्काल छलफल चलाउन माग गरेका छन् ।

अविरल वर्षा र पहिरोले देशभरका चार मुख्य राजमार्ग ठप्प, बीपी र कान्ति लोकपथमा पनि रोक

काठमाडौं । लगातारको वर्षा र त्यसका कारण विभिन्न स्थानमा खसेको पहिरोका कारण देशभरका चार वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बुधबार साँझ जारी गरेको पछिल्लो विवरण अनुसार, पहाडी तथा हिमाली जिल्ला जोड्ने प्रमुख सडकखण्डहरूमा यातायात सेवा ठप्प भएको हो । प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा सडक अवरुद्ध भएको छ। यसले गर्दा झापादेखि ताप्लेजुङसम्म चल्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।  यस्तै, चीनसँगको व्यापारिक नाका जोड्ने अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर २ र ४ मा खसेको पहिरोका कारण यो सडकखण्डमा सवारी आवगमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सालझण्डी-ढोरपाटन सडकखण्ड पनि पहिरोको चपेटामा परेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ ढुङ्ग्रेखोलामा खसेको पहिरोले गर्दा सो सडकखण्ड अवरुद्ध भएको हो । यसैगरी, सम्भावित ठुलो जोखिमलाई मध्यनजर गर्दै प्रहरीले बुधबार साँझदेखि बीपी राजमार्ग र कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।  यी सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने र सडक बगाउन सक्ने खतरा रहेकाले पूर्वसावधानी स्वरूप यातायात बन्द गरिएको प्रहरीको भनाइ छ । अवरुद्ध राजमार्गहरू खुलाउन स्थानीय प्रशासन र सडक विभागको टोली परिचालित भए पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएका कारण पन्छाउने कार्यमा कठिनाइ भइरहेको छ ।  प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अर्थमन्त्री वाग्लेले भने- सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताएका छन् । नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औं वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा  सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिए । ‘गरिबी निवारण, असमानता न्यूनीकरण र  दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ । यहाँहरूलाई धेरै धेरै धन्यवाद,’ अर्थमन्त्री वाग्लेले भने, ‘आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।’ संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उनले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए। नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पु‍र्याएको योगदानका लागि उनले युएनडीपीलाई धन्यवाद दिए । आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उनले स्मरण गरे । सो अवसरमा उनले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब ‘६० वर्षको सहयात्रा सार्वजनिक पनि गरेका थिए ।