आजको मौसम: चट्याङसहित वर्षा हुने, हावाहुरी चल्ने
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका तराई तथा पहाडी भू-भागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै ‘पियर-टु-पियर लेनदेन’ लाई नियमनसहित सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गरिने जानकारी दिए । त्यसैगरी बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गरिने बजेटमा उल्लेख छ । सरकारका अनुसार क्रेडिट स्कोरिङ प्रणालीले कर्जाको जोखिम मूल्यांकन सुधार गर्ने, पियर-टु-पियर लेनदेनले वित्तीय पहुँच विस्तार गर्ने तथा सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको समस्या समाधानमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
बजेट मध्यम वर्ग केन्द्रित भयो, टेलिकम र वायुसेवा निगमको सेयर बिक्री गर्नु ठिक छैन: वर्षमान पुन
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मध्यम वर्ग केन्द्रित भएको भन्दै तल्लो वर्गका लागि आवश्यक कार्यक्रम उपेक्षित भएको टिप्पणी गरेका छन् । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले किसान, मजदुर, बेरोजगार युवा र सुकुम्बासीका लागि ठोस कार्यक्रम समावेश नभएको आरोप लगाए । 'समग्रमा बजेट मध्यम वर्ग केन्द्रित आएको छ, तल्लो वर्गका लागि लक्षित कार्यक्रम देखिँदैन,' उनले भने, 'मजदुर, किसान, बेरोजगार युवा र सुकुम्बासीका लागि रोजगारी सिर्जना गर्ने वा स्वरोजगारका कार्यक्रम पर्याप्त छैनन् ।' उनका अनुसार बजेटले रोजगारी सिर्जनाको जिम्मेवारी निजी क्षेत्रतर्फ सार्ने प्रयास गरेको देखिन्छ, जुन उचित नभएको उनले बताए । पुनले नेपाल टेलिकम र नेपाल वायुसेवा निगम जस्ता सार्वजनिक संस्थानको सेयर बिक्रीको योजनाप्रति पनि आपत्ति जनाए । नाफामा सञ्चालन भइरहेका संस्थानलाई सेयर बिक्रीमार्फत निजीकरणतर्फ लैजान खोजिएको भन्दै उनले आलोचना गरे । त्यसैगरी बजेटमा उल्लेख गरिएको आन्तरिक तथा वैदेशिक ऋण परिचालन योजनाप्रति पनि उनले प्रश्न उठाए । सरकारले ठूलो परिमाणमा ऋण लिने योजना बनाएको भन्दै उनले यसले दीर्घकालीन आर्थिक दबाब बढाउने जोखिम रहेको बताए । पुनले यसअघि आफूले बजेटमा समावेश गरेका केही विकास अवधारणालाई वर्तमान बजेटमा फरक नाममा निरन्तरता दिइएको भन्दै त्यसप्रति धन्यवाद समेत व्यक्त गरे । समग्रमा बजेटले संरचनात्मक परिवर्तनको संकेत गरे पनि सामाजिक न्याय र तल्लो वर्गका मुद्दामा कमजोरी देखिएको उनको निष्कर्ष छ ।