अब २४ घण्टामै कोलकाताबाट विराटनगर सामान आइपुग्ने, सुरु भयो रेल सेवा

काठमाडौं । भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्मको प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । 

मङ्गलबार आईसीपी परिसरमा आयोजित उद्घाटन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहित संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगी-व्यवसायीहरूले लामो समयदेखि देख्दै आएको सपना र संघको झन्डै एक दशक लामो निरन्तर पहलपछि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो ।

विराटनगर आईसीपी यार्डसम्म रेलमार्ग जोड्न करिब तीन वर्षअघि नै पूर्वाधार निर्माण भई परीक्षणसमेत भइसकेको थियो ।

तर, साविकको नेपाल-भारत व्यापार तथा ट्रान्जिट सन्धिमा कोइला, क्लिंकर, मल र नुन गरी चार वटा वस्तु मात्र ल्याउन पाउने सीमितताका कारण यो सेवाले निरन्तरता पाउन सकेको थिएन ।

त्यसपछि संघको दोस्रो चरणको तीव्र पैरवी र दुवै देशका सरकारको कूटनीतिक प्रयासबाट नीतिगत तथा कानुनी जटिलताहरू फुकाइएपछि सबै प्रकारका औद्योगिक कच्चा पदार्थ ल्याउन पाउने गरी यो सिधा रेल सेवा सुरु भएको हो ।

रेलमार्फत सामान आयात गर्दा सडक मार्गको तुलनामा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत भई उत्पादन लागत घट्नेछ । साथै, पहिले ५ देखि ७ दिन लाग्ने ढुवानी समय अब २४ देखि ७२ घण्टामै सीमित हुनेछ । 

विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी र क्षतिको जोखिम अन्त्य हुने तथा विलम्ब शुल्क (डेमरेज) घट्ने जस्ता बहुआयामिक लाभ नेपाली उद्योगी-व्यवसायीलाई प्राप्त हुनेछ ।

आगामी दिनमा यस भेगका उत्पादनहरू तेस्रो मुलुक तथा भारततर्फ निर्यात गर्नसमेत सस्तो र छिटो भई नेपाली उद्योगहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सुदृढ हुने विश्वास लिइएको छ ।

Share News