बाढी प्रभावित क्षेत्रमा विद्युत् सुचारु गर्ने प्रयास तीव्र, सुरुङमा फसेकाहरूको टोलीद्वारा संयुक्त उद्धार जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लामा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ । 

यसैक्रममा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र पूर्वाधार विकास मन्त्री समक्ष नेपाली सेनाले उद्धार अभियानको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेको छ । सो अवसरमा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारको प्रगति र आगामी रणनीतिका विषयमा विस्तृत छलफल भएको छ ।

हाल रसुवाका नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ भने बाँकी क्षेत्रमा वैकल्पिक व्यवस्थामार्फत द्रुत गतिमा मर्मत कार्य भइरहेको छ । 

त्यसैगरी, नुवाकोटको किस्पाङ्ग गाउँपालिकामा प्राविधिक जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरी अवरुद्ध विद्युत् सेवा पुनः सुचारु गरिएको छ । सान्जेनखोला जलविद्युत् आयोजनालाई ’आइसोलेटेड मोड’ मा सञ्चालन गरी विद्युत् प्रवाह मिलाइएको छ भने हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी क्षतिग्रस्त प्रसारण पूर्वाधारहरूको पुनर्निर्माण तीव्र पारिएको छ ।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ र आयोजनाका इन्जिनियरहरूको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले एक्साभेटर, ब्याक लोडर र बोबक्याट जस्ता भारी उपकरणको प्रयोग गरी रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने कार्य निरन्तर गरिरहेको छ ।

अर्कोतर्फ, नुवाकोटको विदुरबाट संस्थागत तथा घरेलु सौर्य विद्युत् प्रणालीहरू सम्बन्धित स्थानीय तह र विपद् व्यवस्थापन समितिको समन्वयमा ढुवानी गरी जडान भइरहेको छ, जसको समन्वय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक अधिकृत सरोज बहादुर कार्की र वरिष्ठ प्रशासन सहायक बिमल प्रसाद भुसालले गरिरहेका छन् । 

साथै, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक सङ्घबीच भएको बैठकले विपद् व्यवस्थापनका लागि देशभर उपलब्ध सौर्य ऊर्जा प्रविधि र प्राविधिक जनशक्तिको विवरण भदौ १९ गतेभित्र केन्द्रमा बुझाउने निर्णय गरेको छ ।

Share News