गणतन्त्र दिवसमा मौन प्रधानमन्त्री बालेन

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा यसपटक मुलुकले एउटा असामान्य दृश्य देख्यो । प्रधानमन्त्री बालेन्द्र शाह समारोहमा उपस्थित भए, तर देशवासीलाई सम्बोधन भने गरेनन् । विगतमा प्रधानमन्त्रीले गर्ने गरेको औपचारिक सम्बोधन यस वर्ष राष्ट्रपतिले गरेपछि राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भएको छ । टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह पत्नी सविना काफ्लेसहित सहभागी भएका थिए । औपचारिक कार्यक्रममा प्रायः कालो पोशाकमा देखिने शाह यसपटक पनि सोही शैलीमा उपस्थित भए । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । प्रधानमन्त्री कार्यालयकै आग्रहपछि राष्ट्रपति गणतन्त्र दिवशलाई सम्बोधन गर्न तयार भएका हुन् । यससँगै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने स्थापित अभ्यास यस वर्ष भंग भएको छ । प्रधानमन्त्री शाहले गणतन्त्र दिवसका अवसरमा कुनै औपचारिक शुभकामना सन्देश पनि जारी गरेका छैनन् । सामाजिक सञ्जालमार्फत सक्रिय रहने शाहले नयाँ वर्ष, बुद्ध जयन्ती र मातातीर्थ औंसीजस्ता अवसरमा फेसबुकमार्फत शुभकामना दिएका थिए । तर गणतन्त्र दिवसमा भने उनको फेसबुक पेजसमेत समाचार तयार पार्दासम्म मौन रहेको छ । प्रधानमन्त्रीसँगै सत्तारूढ दलका सभापतिसमेत गणतन्त्र दिवशको सवालमा देखाएको मौनताले पनि ध्यान खिचेको छ । दुवै जना समारोहमा सहभागी भए पनि उनीहरूले गणतन्त्र दिवसको शुभकामना सार्वजनिक गरेका छैनन् । दिनभर दुवै जनाका सामाजिक सञ्जालहरू पनि निष्क्रियजस्तै देखिए । यद्यपि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पोस्टर सार्वजनिक गर्दै गणतन्त्र दिवसको शुभकामना दिएको छ । पार्टीका केही नेताहरूले व्यक्तिगत रूपमा शुभकामना दिए पनि शीर्ष नेतृत्वको मौनतालाई लिएर विभिन्न राजनीतिक व्याख्या हुन थालेका छन् । प्रधानमन्त्री र प्रमुख राजनीतिक नेताको यस प्रकारको मौनतालाई कतिपयले प्रतीकात्मक  रूपमा हेरेका छन् । राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई यसलाई गणतान्त्रिक संस्कारप्रतिको उदासीनता मान्दछन् । उनि भन्छन्, ‘गणतान्त्रिक सरकारवाट गणतन्त्रप्रतिको यो उदासीनतालाई राम्रो मान्न सकिँदैन ।’ 

परेवाको दिशाबोधमा कलेजोको भूमिका

काठमाडौं । परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ । अध्ययनअनुसार यी चराहरूले दिशानिर्देशनका लागि केवल आकाशीय सङ्केत वा स्थलचिह्न मात्र नभई, उनीहरूको कलेजोसँग सम्बन्धित जैविक प्रणालीलाई पनि उपयोग गर्ने सम्भावना देखिएको छ ।      जनावरहरूले सामान्यतया ताराहरू, भू–दृश्य र पृथ्वीको चुम्बकीय क्षेत्रजस्ता विभिन्न सङ्केतहरू प्रयोग गरेर दिशा पहिचान गर्छन् । चराहरू, माछा र कछुवाजस्ता प्रजातिहरूले पृथ्वीको चुम्बकीय क्षेत्रलाई प्राकृतिक कम्पासको रूपमा प्रयोग गर्ने विश्वास रहँदै आएको छ, तर यसको वास्तविक जैविक प्रक्रिया अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन ।      परेवाहरू लामो दूरी उडान गर्न सक्षम चराहरू हुन् । यी चराले एकै दिनमा सयौँ माइल दूरी पार गर्न सक्छन् । ऐतिहासिक रूपमा मानिसहरूले यी चराहरूलाई सन्देशवाहकका रूपमा समेत प्रयोग गर्दै आएका छन्, जसले उनीहरूको दिशा पहिचान क्षमताप्रति थप चासो बढाएको छ ।      जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एनिमल बिहेभियरका मार्टिन विकेल्स्की नेतृत्वको अनुसन्धान टोलीले यस रहस्यको अध्ययन गर्दै चुम्बकीय सङ्केत पत्ता लगाउने प्रणाली खोज्ने क्रममा कलेजोमा अप्रत्याशित जैविक सङ्केत फेला पारेको जनाएको छ । अध्ययनअनुसार कलेजोमा रहेका विशेष प्रतिरक्षा कोशिकाहरूले रातो रक्त कोशिका तोड्ने र फलाम भण्डारण गर्ने प्रक्रियामा चुम्बकीय संवेदनसँग सम्बन्धित भूमिका खेल्न सक्ने देखिएको छ ।      बोन विश्वविद्यालयका क्रिश्चियन कुट्र्सका अनुसार ती प्रतिरक्षा कोशिकाहरूलाई अस्थायी रूपमा निष्क्रिय पारिँदा परेवाहरूले आफ्नो मार्ग पहिचान गर्ने क्षमता गुमाएको देखिएको थियो । यसले कलेजोमा रहेको फलाम–सम्बन्धित प्रणालीले दिशाबोधमा भूमिका खेल्न सक्ने बलियो सङ्केत दिएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । अनुसन्धानकर्ताहरूले चराहरूको चुम्बकीय कम्पास विशेषगरी बादलयुक्त अवस्थामा मात्र प्रभावित हुने बताएका छन्, किनभने उनीहरूले सूर्यलाई पनि वैकल्पिक दिशा पहिचान सङ्केतका रूपमा प्रयोग गर्ने गर्छन् ।    वैज्ञानिकहरूले लामो समयदेखि प्रतिरक्षा कोशिकाहरू चुम्बकीय संवेदन प्रक्रियामा संलग्न हुन सक्ने अनुमान गर्दै आएका थिए, तर साइन्स जर्नलमा प्रकाशित यो अध्ययनले त्यसतर्फ पहिलो ठोस संरचनात्मक सङ्केत प्रस्तुत गरेको बताइएको छ ।      अमेरिकाको म्यासाचुसेट्स बोस्टन विश्वविद्यालयका व्यावहारिक पारिस्थितिकीविद् अल्बर्ट काओले अनुसन्धानलाई आश्चर्यजनक भए पनि अर्थपूर्ण रहेको प्रतिक्रिया दिए ।      बोन विश्वविद्यालयकी सह–लेखिका क्लिभिया लिसोभ्स्कीका अनुसार कलेजोका ती प्रतिरक्षा कोशिकाहरू स्नायु तन्तुको नजिक रहेकाले तिनले चुम्बकीय सङ्केतलाई मस्तिष्कसम्म पुर्‍याउने सम्भावना देखिन्छ, जसले परेवाको दिशा पहिचान प्रणालीमा योगदान दिन सक्छ ।      अनुसन्धानकर्ताहरूले मुसाजस्ता अन्य जनावरमा पनि यस्तै प्रकारको चुम्बकीय प्रणाली हुन सक्ने सम्भावना औँल्याएका छन् । तर बाह्य विज्ञहरूले अझै थप प्रमाण आवश्यक रहेको बताउँदै परेवाहरूले चुम्बकीय सङ्केत कसरी मस्तिष्कमा व्याख्या गर्छन् भन्ने विषयमा अनुसन्धान जारी रहनुपर्नेमा जोड दिएका छन् ।      अध्ययनले कलेजोमा सबैभन्दा बलियो सङ्केत भेटिए पनि यस्तै प्रतिरक्षा कोशिकाहरू चराको मुखको भाग (चुच्चो) र शरीरको रोग–प्रतिरोधी प्रणालीसँग सम्बन्धित अन्य अङ्गहरूमा पनि देखिएको उल्लेख गरिएको छ । विशेषज्ञहरूले चुम्बकीय दिशा पहिचानको एकल सिद्धान्त नहुन सक्ने बताउँदै चराहरूले परिस्थितिअनुसार विभिन्न संयन्त्र प्रयोग गर्न सक्ने सम्भावना पनि औँल्याएका छन् । रासस  

बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्।  बैठक शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो । बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बजेटलाई अन्तिम स्वीकृति दिनेछ । आजै अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक (संघीय संसद्)मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रस्तुत गर्नुअघि बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे जानकारी गराएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने र पुँजीगत खर्च बढाउने उद्देश्यसहित बजेट निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । यस वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी पनि गरिएको छ । बढ्दो महँगी र कर्मचारीको दबाबलाई ध्यानमा राख्दै तलब समायोजन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसैगरी, करका दरमा पनि केही परिवर्तन हुने संकेत देखिएको छ । उद्योगी(व्यवसायीहरूले उत्पादन, आयात, विद्युतीय सवारीसाधन, सूचना प्रविधि तथा साना(मझौला व्यवसायसँग सम्बन्धित कर संरचनामा सुधारको अपेक्षा गरेका छन् । उनीहरूले कमजोर माग र घट्दो लगानीका कारण अर्थतन्त्र दबाबमा परेको भन्दै राहतमुखी बजेटको माग गर्दै आएका छन् । निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा स्थायित्व, अनावश्यक झन्झट हटाउने व्यवस्था र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिनुपर्ने सुझाव दिएका छन् । यसैबीच, नागरिक तहमा पनि रोजगारी सिर्जना, महँगी नियन्त्रण, सुशासन, विकास निर्माणको तीव्रता र सेवा प्रवाह सुधारलाई मुख्य अपेक्षाका रूपमा हेरिएको छ । आर्थिक सुस्तता, राजस्व संकलनमा दबाब र बढ्दो सार्वजनिक अपेक्षाबीच आउने यस वर्षको बजेटलाई देशको आर्थिक दिशानिर्देशका रूपमा चासोका साथ हेरिएको छ ।