मन्त्रिपरिषदबाट बजेट पारित
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रीपरिषद्ले बजेट पारित गरी संसद्मा पेश गर्ने निर्णय गरेको जानकारी दिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपाली कागजमा बजेट वक्तव्य, ब्रिफकेस पनि फरक
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस पटकको बजेट वक्तव्य नेपाली कागजमा तयार गरेका छन् । मन्त्रिपरिषद् बैठक जानुअघि बजेट वक्तव्यको ब्रिफकेस देखाउँदै उनले बजेट वक्तव्य नेपाली कागजमा तयार पारेका बताएका हुन् । उनले बजेट वक्तव्य बोक्ने ब्रिफकेस पनि विगतको भन्दा फरक नै बोकेका छन् । बजेट बोक्ने ब्रिफकेस पनि नेपाली कागजको नै रहेको छ ।
बजेट स्वीकृत गराउन मन्त्रिपरिषद बैठक हिँडे अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बाट पारित गराउन मन्त्रिपरिषद बैठकमा हिँडेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बजेट पारित भएपछि अर्थमन्त्री संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ प्रस्थान गर्नेछन् ।