कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ ।

मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ । 

त्यसकाकारण सोमबार (हिजो) नेपाल आइपुग्नुपर्ने १ हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ ।

 साथै, २ हजार ५ सय मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड भई प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ ।

बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकताअनुसार देशभर वितरण गरिने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ ।
 

Share News