उपत्यकामा १९ प्रतिशतले घट्यो ट्राफिक दुर्घटना

काठमाडौं ।  काठमाडौं उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए ।

‘दुर्घटना हुनु आफैमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ ’, उनले भने । 

उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ ।  ‘शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन् ’, सुवेदीले भने । 

ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ । 
 

Share News