छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी
जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए । गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्सा हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न ४६ लाख रुपैयाँ लाग्नेमा गाउँपालिकाले २३ लाख रुपैयाँ प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए । चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने सर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ । यस्तै कनकासुन्दरी गाउँपालिका– ३ की कल्पना बुढालाई पनि एमबीबीएस अध्ययनका लागि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । बुढा किस्ट कलेज ललितपुरमा अध्ययनरत छिन् । कनकासुन्दरी गाउँपालिका– ५ बडुवालवाडाका विवेक बडुवाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विटिएस डेण्टल अध्ययन गर्दै छन् । बडुवाललाई पनि गाउँपालिकाले प्रोत्साहनस्वरुप एक लाख रकम सहयोग गरेको गाउँपालिका सूचना अधिकारी खत्रीले जानकारी दिए ।
चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै
चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् । गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर चलाएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट अतिक्रमण गरी बनाइएका संरचना घरधनी आफैँले भत्काउन थालेको बताउँछन् । पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काइरहेका छन् । पुङ्गी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट छ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बाइपास सडकदेखि नारायणी नदीसम्म पुङ्गी खोला ६ दशमलव ५ किलोमिटरमध्ये बाइपासबाट लायन्सचोकसम्म तीन किलोमिटर र त्यहाँबाट नारायणीनदीसम्म सौन्दर्यीकरणको काम गत वर्षदेखि जारी छ । नगरलाई सुन्दर बनाउन खोला किनारका मुख्य बजारमा उद्यान, कसरत गर्ने स्थल, पैदलमार्गलगायत संरचना निर्माण हुने छन् ।
चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई ३१ प्रकारका औषधि प्रदान
मुग्लिन । इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरे । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताए । उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।