मकवानपुरका ९ पालिकाले ल्याए बजेट

बागमती । मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट घटाएर ल्याएका छन् । मकवानपुरका १० मध्ये नौ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन् । जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन । सोमबारमात्रै मकवानपुरको मनहरी, मकवानपुरगढी, राक्सिराङ, कैलाशा र भीमफेदी गाउँपालिकाले आगामी आवको ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले भने अघिल्लो साता बजेट ल्याएका थिए । आर्थिक तरलता, राजस्व संकलनमा गिरावट, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौतीलगायत कारणले यहाँका स्थानीय तहहरुले चालु आवको भन्दा आकार घटाएर ल्याएका छन् । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आवका लागि ९० करोड १३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवको तुलनामा ३ करोड रुपैयाँ कम हो । यस्तै, राक्सिराङ गाउँपालिकाले आगामी आवका लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार ६ सय २३ रुपैयाँ खर्च हुने अनुमान रहेको प्रस्तुत गरे । मकवानपुरको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आगामी आवका लागि ४८ करोड ७८ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । मकवानपुरगढी गाउँपालिकाले पनि चालु आवको तुलनामा ४ करोड ६ लाख ७६ हजार रुपैयाँ बजेट घटाएर ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकाले पनि आगामी आवका लागि ७४ करोड ३६ लाख ७३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले चालु आवको भन्दा १ करोड रुपैयाँ घटाएर बजेट प्रस्तुत गरेका थिए ।

छोरीको जन्मदर्ता गरे २५ सय उपहार

गलकोट । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा २ हजार ५ सयको मुद्दति खाता उपहार दिने भएको छ । नगरपालिकाले छोरीको सम्मान र उनीहरुको उज्जवल आर्थिक भविष्यका लागि जन्मदर्ता गरेपछि मुद्दति खातामा सो रकम जम्मा गर्ने कार्यक्रम ल्याएको नगर उपप्रमुख हरिहर शर्माले बताए । छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकरात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रवृतिको विकास गर्नका लागि ‘जैमिनीको छोरी’ कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । उनले आगामी आवमा छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दति खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकलाई समेत उक्त खातामा दक्षअनुसारको रकम जम्मा गर्न आग्रह गर्ने बताए । ‘छोरीको उज्जवल आर्थिक भविष्यका लागि बचत अनिवार्य छ, बचतको महत्वसमेत अभिभावकलाई गराउने हाम्रो अभियान हो, अहिलेको रु दुई हजार पाँच सय ठूलो रकम बन्नेछ,’ उपप्रमुख शर्माले भने, ‘यसबारे साउनमै कार्यविधि निर्माण गरेर कार्यान्वयमा जान्छ, एक वर्षभित्र नगरपालिकामा जन्मेका छोरीहरुको जन्मदर्ताका आधारमा रकम जम्मा गर्नका लागि बजेटसमेत विनियोजन गरेका छौँं ।’ बालमैत्री नगरपालिका घोषणाको तयारीमा रहेको जैमिनीले जन्मदर्तासमेत अनिवार्य रहेको भन्दै मुद्दति खाता उपहारले अभिभावकमा जन्मदर्ता गराउनुपर्ने जनचेतना जगाउने बताए । नगरपालिकाले कुश्मिसेरालाई केरा पकेट क्षेत्रका रुपमा विकास गर्न ‘सेरा जाउ, केरा खाउ’ कार्यक्रम ल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि उक्त कार्यक्रमका लागि रु १२ लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने विश्वास लिइएको छ । यस्तै, दूधको बिक्रीका आधारमा प्रतिलिटर रु एक अनुदान दिँदै आएको नगरपालिकाले आगामी वर्ष प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । नगर प्रमुख नरबहादुर पुनले नगरभित्रका सबै विपन्न विद्यार्थीलाई लिड विद्यालयका रुपमा रहेको सर्वोदय जनक माध्यामिक विद्यालयमा आवसीय सुविधासहित अध्यापन गराउने जानकारी दिए ।

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिने

बोदेबरसाइन । यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । ‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ’, नगरप्रमुख आतेशकुमार सिंहले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।’ दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ । नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाहबारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरे ।