कामपा–१५ मा एकीकृत समाजवादीको डङ्गोल प्यानल नै विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे । यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएका छन् । डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौं–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् ।
काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा रिजाल
काठमाडाैं । काठमाडौं महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरे । यस्तै चार सदस्यमा भने नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो । काठमाडौं–१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत हुन् ।
नगर विकास कोषले बनाउन लागेको बहुतले पार्किङमा कसैले पनि देखाएनन् चासो
काठमाडौं । नगर विकास कोषले बनाउन लागेको बहुतले पार्किङ निर्माणको लागि स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूले चासो देखाएका छैनन् । कोषले काठमाडौं उपत्यका बहुतले मेकानिकल पार्किङ बनाउने भनेर प्रस्ताव आह्वान गरे पनि प्रस्ताव पेश गर्ने संस्थाको संख्या न्यून देखिएको हो । सो पार्किङ बनाउनको लागि २ वटा कम्पनीले प्रस्ताव पेश गरेको नगर विकास कोषका सूचना अधिकारी सूर्यबहादुर कार्कीले जनकारी दिए । कोषले २०७८ माघ ७ गते १५ दिनको समय राखेर बहुतले मेकानिकल पार्किङ बनाउनका लागि प्रस्ताव आह्वान गरेको थियो । पार्किङ निर्माणको लागि प्रस्ताव पेश गर्ने समय सकिए पनि प्रस्ताव पेश गर्न सक्ने नगर विकास कोषले जनाएको छ । सबैलाई सूचना नपुगेको कारण पार्किङ निर्माणको लागि प्रस्ताव पेश गर्न सक्ने कोषले जनाएको हो । सूचना अधिकारी कार्कीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र गुठी संस्थाले मात्र चासो देखाएका छन् । खाद्य संस्थाले थापाथलीमा बनाउने भनेर प्रक्रिया अगाडि बढाएको छ । हालसम्म चार वटा कम्पनीले पार्किङ बनाउन प्रस्ताव गरेका छन् । तर, कोषले बनाएको मापदण्ड अनुसारको प्रस्ताव नआएको कार्कीले बताए । उपत्यकाभित्र सवारी साधनको चाप र अव्यवस्थित सवारी पार्किङलाई व्यवस्थित गर्नको लागि उक्त पार्किङ बनाउने योजना कोषले अगाडि सारेको हो । कोषले काठमाडौं उपत्यका बहुतले मेकानिकल पार्किङ निर्माणमा ९० प्रतिशत लगानी गर्ने भएको छ । जसमध्ये १० प्रतिशत लगानी सम्बन्धित स्थानीय तह, निजी क्षेत्र र संस्थाहरूले गर्नुपर्ने कोषले जनाएको छ । ‘उपत्यकाभित्र सवारीको चाप बढ्दो छ, पार्किङ गर्ने कुनै पनि स्थान छैन, खुला ठाउँमा पार्किङ गरेर धेरै मानिसहरू हिँड्छन्, पार्किङ नहुँदा सवारीको चापले जाम हुने गरेको छ, यस्तो अवस्था भएकाले पार्किङ निर्माणको अवधारण कोषले ल्याएको हो,’ कार्कीले विकासन्युजसँग भने । कोषले पनि नमुनाको लागि एउटा पार्किङ बनाउन खोजेको थियो । कोषको भवन नै भाडमा भएकाले सो ठाउँमा पार्किङ बनाउन नसकेको कार्कीले बताए । ‘लगानी गर्नको लागि कोषलाई कुनै पनि समस्या छैन, योजना आयो भने ठाउँ र जग्गा हेरेर काम अगाडि बढ्ने छ, पार्किङ बनाउनको लागि सबैभन्दा बढी इच्छुक हुने नगरपालिका हुन्, नगरपालिकासँग पर्याप्त जग्गा छैन, उपत्यकाभित्र जग्गाको समस्याका छ, यसकारणले केही समस्या छन्,’ उनले भने । कार्कीका अनुसार पार्किङ बनाउने सूचना प्रकाशन गरेको बेला मापदण्ड अनुसारको प्रस्ताव आएको भए सम्पूर्ण प्रक्रिया पूरा गरी यो समयमा निर्माणको काम सुरु भइसक्थ्यो । ‘जग्गामा झार उम्रिएर बसेको छ, एउटा निकायले यसको प्रयोग गरौं भन्छ, जग्गाधनी पुर्जा समातेर बसको छ,’ उनले भने । अन्य ठाउँबाट प्रस्ताव नआएपछि खाद्य र गुठी संस्थानको जग्गालाई नै सम्पूर्ण प्रक्रिया पुरा गर्न सके सो क्षेत्रमा नै पार्किङ बनाउने कोषको योजना छ । ‘भोलि संसद् सचिवालय सिंहदवार भित्र बनिसकेपछि संसद् सदस्यको नै साधन राख्ने ठाउँ हुँदैन, त्यलाई पनि मध्यनजर गर्दै सो ठाउँमा पार्किङ बनाउने योजना रहेको छ,’ उनले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा रहेको थापाथलीमा यस्तो पार्किङ बनाउन लागिएको हो । सरकारसँग मिलेर नगर विकास कोषले यो काम अगाडि बढाएको हो । पार्किङ बनाउनको लागि अझै पनि प्रस्ताव पेश गर्न सक्छन् । सम्बन्धित समाचार काठमाडौंमा बहुतले पार्किङ बनाउन ४ कम्पनीको प्रस्ताव यस्तो बन्नेछन् नगरकोषले बनाउने बहुतले १५ पार्किङ, ५ करोड बढी खर्च हुने अनुमान