गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड विनियोजन
गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ । त्यस्तै पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र एक अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ । जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख बजेट प्राप्त गरको छ । जिल्लाको गण्डकी गाउँपालिकाले ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ । त्यस्तै धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई ४० करोड ३० लाख छुट्याइएको छ । जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।
काठमाडौं महानगरको पहिलो बैठकमै लफडा, तत्काल विवाद मिलाउँदै बालेनले गराए सबै प्रस्ताव पास
काठमाडौं । काठमाडौं महानगर पालिकाको पहिलो नगर बैठकमै विवाद भएको छ । पहिलो बैठकमा प्रसाशकीय अधिकृतले सुनाएका निर्णयहरुको वडा सदस्यहरुले विरोध गरेपछि महानगरका मेयर बालेन शाहले ती निर्णय तत्काल फिर्ता लिन प्रसाशकीय अधिकृतलाई निर्देशन दिएका थिए । पहिलो बैठकमा निर्वाचित मेयर, उपमेयर, वडा सदस्य तथा कर्मचारीबीच परिचयात्मक कार्यक्रम थियो । त्यस्तै, महानगरका मतदातालाई धन्यवाद प्रस्ताव थियो । त्यस्तै महानगरको फोहोर मैला व्यवस्थापनको लागि मेयर संयोजक, काँग्रेसबाट २ जना वडा सदस्य, एमालेबाट मेयरसहित २ जना समाजवादीबाट एक र महानगरको प्रमुख प्रसाशकीय अधिकृत सदस्यसचिव रहेन समिति गठनको प्रस्ताव थियो । त्यस्तै, महानगरवासीको गुनोसो सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने, सार्वजनिक शौचालयको सरसफाइका कार्यमा सुधार ल्याउने, विग्रेका भत्केका ढल मर्मत सफाइ गर्न ४५ दिने कार्ययोजना पारित गर्ने, न्यायिक काम गर्न महानगरमा न्यायिक समिति गठन गर्ने, ३१ नम्बर वडाबाट दुई वटा बाटो तत्काल मर्मत गर्ने प्रस्ताव नगर समितिको बैठकमा पेस भएको थियो । तर ती प्रस्तावहरुलाई प्रमुख प्रशासकीय अधिकृतले निर्णयको रुपमा सुनाएका थिए । उनले विग्रेभत्केका ढल मर्मत तथा सफाइ गर्ने ४५ दिनको कार्ययोजना भोलि देखि नै लागू हुने भन्दै कुन वडामा कहिले सरसफाइ गर्ने भन्ने निर्णय लिन वडा अध्यक्षहरुलाई निर्देशन दिएका थिए । प्रमुख प्रशासकीय अधिकृतले यस्तो निर्देशन दिएपछि वडा सदस्यहरुले उठेर विरोध गरेका थिए । नगरपरिषद्को बैठकमा प्रस्तुत प्रस्तावमा छलफल नै नगराई निर्णायर्थ पेश गरेको, आदेश शैलीमा काम गर्न खोजेको, समिति बनाउँदा दलीय भागभण्डा गरेको, कुन दिन कुन वडामा सरसफाइ गर्ने भन्ने निर्णय गोलाप्रथाबाट गर्ने भनि प्रसाशकीय अधिकृतले सुनाएको भन्दै वडा अध्यक्षहरुले विरोध गरेका थिए । तत्कालै मेयर वालेनले निर्णय होइन, प्रस्ताव नै हो भनेको थिए । वडा सदस्यहरुले निर्णयको रुपमा सुनाएको भन्दै विरोध गरेका थिए । त्यसपछि वालेनले निर्णय फिर्ताको घोषणा गर्न प्रशासकीय अधिकृतलाई भनेका थिए । प्रशासकीय अधिकृतले पनि मेयरमा निर्देशनमा निर्णयहरु फिर्ता लिएको बताए । विवादपछि बोल्न सुरु गरेको मेयर वालेनले तत्काल स्थितिलाई सामान्य बनाए । उनले नगर परिषदमा आएको डकुमेन्ट प्रस्ताव नै भएको र त्यसमा छलफल, परिमार्जन पछि निर्णय गरिने बताए । त्यसपछि उनले एक एक प्रस्तावमा छलफल गराउँदै पारितको प्रस्ताव गरेका थिए । मेयरले एक एक गरी प्रस्ताव पढेर पास गर्न अनुरोध गरेपछि भने नगरपरिषदका सबै सदस्यहरुले सबै प्रस्तावमा टेबुल ठटाएर पास गरेका छन् ।
बालेन शाह मेयर भएको खुशीमा निःशुल्क बर्गर
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएको उपलक्ष्यमा चिकन स्टेशनले बर्गर विररण गर्ने भएको छ । उक्त रेष्टुरेन्टकाे झम्सीखेलमा रहेकाे शाखाले मंगलबार (जेठ १७ गते) दिनभर निःशुल्क बर्गर वितरण गर्ने लागेकाे हाे । रेष्टुरेन्टकका अनुसार कुनै पनि व्यक्तिले झम्सिखेल शाखाबाट नि:शुल्क बर्गर खान सक्ने छन् । साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । यस्तै, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शपथ ग्रहण गरेका छन् । उनीहरु दुबैले आज बिहान राष्ट्रिय सभागृहमा आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । महानगरपालिकाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधिले आजैबाट कार्यभार सम्हाल्दै छन् ।