प्रदेश नं १ को नीति तथा कार्यक्रम आज
विराटनगर । प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ तथा बजेट अधिवेशन हो । प्रदेशसभा गठन भएपछि प्रदेश सरकारको कार्यकालको यो अन्तिम बजेट अधिवेशन हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि आगामी असार १ गते आव २०७९/८० लागि सरकारले अनुमानित आयव्यय बजेट सार्वजनिक गर्ने र यसका लागि बजेट निर्माण भइरहेको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सरकारले यस वर्ष करिब रु ३२ अर्ब हराहारीको बजेट ल्याउन लागेको मन्त्रालयका सचिव सुमन दाहालले जानकारी दिए । अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र जनताको आवश्यकता एवं चाहनामा केन्द्रित भएर बजेट निर्माण गरिरहेको तथा यसका लागि निजी क्षेत्र, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थासँग छलफल एवं राय र सुझाव सङ्कलन भइरहेको उनले बताए । रासस
भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत
भरतपुर । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, सारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका हुन् । नेकपा (माओवादी केन्द्र) की बीना नेपाली पनि निर्वाचित भएकी छिन् । दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी निर्वाचित भएका सूचनामा उल्लेख छ । भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ । जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले)का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन् । कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन् । महानगरपालिकामा २९ वडा छन् । रासस
भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु
चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेका हुन् । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु गरिएको हो । हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरुप यो सेवा सुरु गरिएको महानगरप्रमुख रेणु दाहालले बताइन् । उनले भनिन्, ‘डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।’ पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुआत गरिएको उनले बताइन् । स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उनले जानकारी दिइन् । महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत सेवा लिन सबैलाई आग्रह गरे । उनले भने, ‘अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।’ जनताले सेवासुविधा चुस्त रुपमा पाउन सक्ने उनको भनाइ थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम सुरु गरिएको बताए । डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरु लिन सहज हुने उनले बताए । रासस