मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

म्याग्दी । मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन् । चालु शीर्षकमा रु ७९ करोड तीन लाख र पूँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकाले २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख बजेट पाएका छन् । यसैगरी लोघेकर–दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख अनुदान पाएका हुन् । सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरूले सङ्घीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् । रासस

चितवनमा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन, सबैभन्दा बढी बजेट भरतपुरलाई

चितवन । सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छ । जिल्लामा सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुरले आगामी आवका लागि समपूरक बजेट दुई करोड ५० लाख र विशेष अनुदान १४ करोड आठ लाखसमेत पाएको छ । त्यस्तै एक अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख पाउने भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेनु दाहाल निर्वाचित भएकी छिन् । नगरप्रमुख दाहालकै पहलमा भरतपुरमा ठूला–ठूला आयोजना आउन सफल भएका छन् । सङ्घीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरी भरतपुरमा शिक्षक अस्पतालका लागि समेत बजेट छुट्याइसकेको छ । यसैगरी जिल्लामा दोस्रो बढी बजेट प्राप्त गर्ने रत्ननगर नगरपालिका छ । यस नगरपालिकाले रु ५९ करोड ७२ लाख बजेट सङ्घीय सरकारबाट पाएको छ । यसमा समानीकरण अनुदान २० करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ७६ लाख र विशेष अनुदान पाँच करोड छ । त्यस्तै राप्ती नगरपालिकाले सङ्घीय सरकारबाट ५५ करोड ५९ लाख बजेट पाएको छ । राप्तीले पाएको बजेटमध्ये समानीकरण अनुदान १८ करोड ५३ लाख, सशर्त अनुदान २४ करोड २६ लाख र विशेष अनुदानतर्फ दुई करोड रहेको छ । माडी नगरपालिकाले सङ्घीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४९ करोड ६० लाख प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख, सशर्त अनुदान ३१ करोड ९८ लाख र विशेष अनुदान दुई करोड ५० लाख रहेको छ । खैरहनी नगरपालिकाले सङ्घीय सरकारबाट आव २०७९/८० मा ४८ करोड आठ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १८ करोड १८ लाख, सशर्त अनुदानमा २५ करोड १२ लाख र विशेष अनुदानमा तीन करोड ५८ लाख रहेको छ । त्यस्तै कालिका नगरपालिकाले ४० करोड ९८ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान १५ करोड ५६ लाख, सशर्त अनुदान २३ करोड ४२ लाख र विशेष अनुदान एक करोड प्राप्त गरेको छ । जिल्लाको इच्छाकामना गाउँपालिकाले सङ्घीय सरकारबाट जिल्लाका स्थानीय तहमा सबैभन्दा कम बजेट प्राप्त गरेको छ । गाउँपालिकाले आव २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट ३८ करोड बजेट प्राप्त गरेको छ । गाउँपालिकाले समानीकरण अनुदानअन्तर्गत ११ करोड १९ लाख, सशर्त अनुदानमा २४ करोड ३१ लाख र विशेष अनुदानमा एक करोड ७० लाख प्राप्त गरेको छ । रासस

केमिकल हालेर सिसडोललाई एकहप्ताभित्र दूर्गन्धमुक्त बनाउँछौं : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ताभित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ, केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ, बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो, सडने र नसडने फोहोर छुट्टयाउने, त्यसबाट मल र ग्यास निकाल्ने हो, सडने र नसडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ,’ उनले भने । मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो । मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।