रेणुको पहिलो निर्णय : निःशुल्क खानेपानी र छोरीको एक लाखसम्मको बीमा

काठमाडौं । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेणु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छिन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन् । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन् । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ । महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि एक लाखको जीवन बिमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् । राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले एक लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ । पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन् । उनले भनिन्, ‘भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछाैँ ।’ महानगरवासीलाई निरास हुन नदिने भन्दै उनले सबैको राय–सुझाव लिएर काम गर्ने बताइन् । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताए । उनले भने, ‘अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।’

जनताको मनोविज्ञान बुझेर काम गर्छुः रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छिन् । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन् । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उनले महानगरका अधुरा काम पूरा गर्ने बताइन । उनले भनिन्,’देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु’, उनले भनिन्,’स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।’ पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उनले बताइन् । पहिलो पटक उनी निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उनले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताइन । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उनले दोहोर्याइन् । उनले भनिन्, ‘महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।’ भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उनको भनाइ थियो । उनले भनिन्, ‘भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।’ शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उनले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गरिन् । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उनको भनाइ थियो । उनले भनिन्, ‘विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छौं ।’

धुर्कोटमा विद्युतीय चुलो, घरको बीमादेखि आवासीय शिक्षासम्ममा छुट

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिकाले घरको बीमा र विद्युतीय चुलो खरिदमा छुटदेखि निःशुल्क आवासीय शिक्षासम्मको निर्णय गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सोमबार पदभार ग्रहण गर्दै विद्युतीय चुलो खरिद र घरको बीमा गराउँदा ५० प्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राकृतिक विपत्तिबाट हुने आवासको क्षतिलाई राहत उपलब्ध गराउन घरको बीमा गर्ने व्यवस्था मिलाउने र बीमा बापतको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान गाउँपालिकाले दिने निर्णय गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘प्राकृतिक विपत्तिले विगतमा धेरै घरको क्षति भएको छ, जसलाई बीमामार्फत केही राहत उपलब्ध गराउन सक्छौ’, अध्यक्ष पोखरेलले भने,’संविधानमा उल्लेख गरिएको आवासको अधिकार गाउँपालिकाले पूरा गर्दैछ ।’ पहिलो बैठकबाट दलित परिवारका छोराछोरीलाई एसइई पछिको तीन वर्षे प्राविधिक शिक्षामा १० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने पनि निर्णय गरिएको छ । विभिन्न कारणले आमाबुबा नभएको २० जना विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको पालिका उपाध्यक्ष सीता गिरीले जानकारी दिए ।