नगरको आन्तरिक आम्दानी हाल ३ करोड रुपैयाँ छ – नगरप्रमुख थापासँगको कुराकानी
वेलका नगरपालिका प्रदेश १ अन्तर्गत उदयपुर जिल्लामा पर्छ । यस नगरपालिकाका नगरप्रमुख हुन् दुर्गा कुमार थापा । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि नगरपालिकाको विकासमा निरन्तर खटिरहेका छन् । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै नगरवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि नगरप्रमुख थापा बताउँछन् । उनै नगरप्रमुख थापासँग चार वर्षको अवधिमा नगरपालिकाले गरेको उपलब्धि, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : नगरपालिकाको नगरप्रमुख भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ? स्थानीय तहको संरचना बनि सकेपछि नगरपालिकाको प्रमुखको रूपमा निर्वाचित भए । त्यो बेला नगरपालिकाको अवस्था निकै जीर्ण थियो । निर्वाचित भएर आए पछि बस्ने ठाउँ समेत थिएन । संघीयताको पहिलो पहिचान, कर्मचारीको व्यवस्थापन, प्रशासनिक भवन नभएको कारणले गर्दा धेरै चुनौती र समस्या भएको मलाई अनुभव छ । नगरको ९ ओटा वडा मध्ये एक जनामात्र वडा सचिव थिए । कुनै पनि वडा प्रशासनिक भवनहरू थिएनन् । त्यो बेला २५ प्रतिशतमा घरधुरीमा बिजुली पुगेको थियो भने सडक कमै ठाउँ पुगेको थियो । हामी पूर्वाधारको हिसाबले धेरै ठुलो संकटमा थियौं । कतिपय असहज परिस्थितिका बाबजुद पनि हामी निर्वाचित भएको चार वर्ष पूरा भएको छ । स्थानीय तहमा नेतृत्व समलेको चार वर्ष पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ? नगरपालिकाले सन्तुलित विकासको अवधारण ल्याएको छ । एक क्षेत्रलाई नभई समग्र क्षेत्रमा परिवर्तन र विकासमा नगर लागेको छ । हामीले पहिलो नगरसभाबाटै ‘आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन, सामाजिक परिचालन, दिगो विकासको आधार’ भन्ने नारा तयार गरेका थियौं । यसका साथै हामीले ५ वर्षको आवधिक योजनाहरू तयार गरेका थियौं । हामी निर्वाचित भएको एक महिना भित्र ३ ओटा ट्रस्ट भवन निर्माण गरेका थियौं । उक्त भवनमा नगरपालिकाको कार्यालय सञ्चालन गरी सेवा प्रवाह भएको थियो । सुरुवाती चरणमा नगरपालिको आन्तरिक आम्दानी ३० लाख रुपैयाँ थियो । हाल नगरको आन्तरिक आम्दानी ३ करोड रुपैयाँ छ । हामीले पहिलाको लक्ष्यलाई परिवर्तन गरी समुन्नत समाज, समावेशी पूर्वाधार, समाजवाद उन्मुख वेलका नगर भन्ने नारा तयार पारेका छौं । हामीले नगरमा कृषि, पशुपक्षी, माछाको विकास र गुणस्तर शिक्षा, स्वास्थ्य, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, समावेशी, विकास, सुशासन, न्यायिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । कृषि क्षेत्रमा नगरपालिकाले धेरै कामहरू गरेको छ । वडा नं. १ मा एक हजार बिगामा चकला बन्दी खेती भइरहेको छ । यसै गरी ६१ हजार हेक्टर जमिनमा माछा ब्लकका कार्यत्रम सञ्चालन भइरहेको छ । नगरको जग्गामा ३१ ओटो माछा पोखरी एकै ठाउँमा बनेका छन् । यसै गरी वडा नं. ५ र ८ मा बाख्रोको स्रोत केन्द्र रूपमा विकास गरेका छौं । १, २, ३, ५, र ९ नं. वडालाई बहु बाली जोउ खेतीको घोषण गरेका छौं । वडा नं. ५, ६, ७, ८ लाई मसला बाली जोनको घोषण गरेका छौं । यसका साथै मैरीपालन पकेटको कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ । यो वर्ष केराको पकेट क्षेत्र पनि छुट्याउदै छौं । दूधका डेरीहरू सञ्चालन भएका छन् । नगरले दिएको अनुदानमा मासु पसलहरूसञ्चालन भएका छन् । हामीले बजारको छैउमा सानासाना किसान केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएका छौं । ५ सय टनको किसान केन्द्र निर्माण भइरहेको छ । उक्त केन्द्रको निर्माणको काम अन्तिम चरणमा छ । नगरपालिकामा बोका, खसी संकलन केन्द्र पनि छ । नगरमा बिउ, बिजन भण्डारण केन्द्र ३ ओटा छन् । ११ कोठा भएको कृषि संकलन केन्द्र नगर परिषदमा नै निर्माण भएको छ । पशु र बाली बीमामा नगरपालिले थप अनुदानको व्यवस्था मिलाएको छ । नगरका सम्पूर्ण किसानहरूलाई किसान परिचय पत्रको व्यवस्था गरेको छौं । किसानहरुलाई ऋणको आवश्यकता पर्याे भने नगरले बैकसँग सम्झौता गरी ऋणको पनि व्यवस्था मिलाइ दिने छ । यसका साथै व्यवसायिक योजनाहरू बनाएका छौं । नगरपालिका र युवा स्वरोजगार कोष मिलेर हामीले एउटा फन्ट बनाएका छौं । त्यो फन्टबाट ३० हजार देखि २ लाख रुपैयाँसम्म २ प्रतिशत व्याज दर ऋण युवा अथवा कृषकलाई दिने व्यवस्था मिलाएका छौं । कृषि र कुमारी बैंकमा पनि समूह धितो राखेर अथवा नगरपालिकाले जिम्मा लिएर ऋणको व्यवस्था मिलाएको छ । यसै गरी नगरपालिकाले ऋणसम्बन्धी मापदण्ड पनि बनाएको छ । नगरपालिको दिएको तालिम आधारित रहेर उनीहरूको सिप अनुसार काम गर्नको लागि ऋणको प्रवाह पनि गरी रहेको छ । अनि स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ? शिक्षा क्षेत्रमा पनि धेरै कामहरू गरेका छौं । हामी निर्वाचित भएको पहिलो वर्ष नै क्याम्पस बनाउने निर्णय गरी हाल बेलका जनता क्याम्पस भनेर चलाइरहेका छौं । नगर क्षेत्रमा ३ ओटा प्लस टु का विद्यालयहरू सञ्चालन भइरहेका छन् । जनता माविलाई नमुना विद्यालयको रूपमा घोषणा गरेका छौं । कोसो माविमा कानुन पढाई हुन्छ । प्राविधिक धारहरूलाई पनि नगरपालिकाले स्थापित गरी नमुना विद्यालय बनाएर वर्षको ३ करोड रुपैयाँ बजेट छुट्याउने गरेको छ । विद्यालयका २२ ओटा भवन यो ४ वर्ष भित्रमा निर्माण गरेका छौं । यसै गरी नगरका प्रत्येक विद्यालयमा बाल विकास केन्द्रको स्थापना गरेका छौं । नगर भित्रका प्रत्येक विद्यालयमा सिसिटिभी जडान भएको छ भने इन्टरनेटको पहुँच सबै विद्यालयमा पुगेको छ । स्थानीय पाठ्यक्रम नगरपालिका आफैले तयार पारेको छ । शिक्षा ऐन र नियावलिको पनि निर्माण गरेका छौं । शिक्षकहरूको पनि वर्षेनी योग्यता परीक्षा पनि लिन्छौं । नगरले एक सय ११ जना नगर शिक्षाहरू विद्यालयमा थपी दिएको छ । दलित समुदायमा निःशुल्क कोचिङ पढाउन टोल टोलमा शिक्षकको व्यवस्थापन गरेका छौं । स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरु गरेको छ । पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । नागरिकलाई स्वास्थ्य संस्थासम्म जनाको लागि एम्बुलेन्सको व्यवस्था गरेका छौं । नगर अस्पतालमा हाल २४ औं घण्टा इमरजेन्सी सेवा खुल्छ । कोभिड अस्पताल पनि नगरमा छ । अक्सिजन प्लान्ट पनि जडान भएको छ । उक्त प्लान्टबाट प्रति दिन ५१ ओटा अक्सिजन सिलिन्डर उत्पादन हुन्छ । सो प्लान्ट नगरको आन्तरिक स्रोतबाट नै जडान गरेका हौं । यसै गरी नगर अस्पताल निर्माणको लागि टेन्डर लगाएका छौं । उक्त भवन निर्माणको लागि ११ करोड रुपैयाँ बजेट छुट्याएका छौं । यसका साथै प्रत्येक वडामा स्वास्थ्य संस्थाको भवन निर्माण गरी सकेका छौं । सहरी स्वास्थ्य किल्नीकका भवनहरु निर्माण गरी सकेका छौं । पालिकामा ३ ओटा प्रजनन् केन्द्र छन् । नगरले सर्व दमश उपचार केन्द्र सञ्चालन गरेको छ । उक्त अस्पतालमा भेन्टिलेटर पनि जडान भएको छ । नगरले आँखा अस्पताल पनि सञ्चालनमा ल्याएको छ । वडा नं. ४ मा नगरपालिका आफैले आयुर्वेद अस्पताल सञ्चालन गरी सेवा प्रवाह गरेको छ । घुम्ती स्वास्थ्य सेवाको सञ्चालन गरी बिरामीको घर घरमा गएर उपचार गरेका छौं । सुरक्षित मातृत्वका लागि एम्बुलेन्स सेवा सुचारु गरेका छौं । यसका साथै नगरपालिकाले शव वहानको पनि व्यवस्था मिलाएको छ । सहुलियत औषधी पसल पनि नगरले सञ्चालन गरेको छ । बच्चा जन्माउनुभन्दा अघि नै अस्पतालमा आउने महिलाहरूलाई बस्ने, खानेको व्यवस्था मिलाएका छौं । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याएका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । भौतिक पूर्वाधार विकासमा स्थानीय सरकारले झेल्नुपर्ने समस्या के–के हुन् ? भौतिक पूर्वाधारमा स्थानीय सरकारले झेल्नु परेका सबै भन्दा ठुलो समस्या भनेको नै कानुनी जटिलता हो । अनि सबै भन्दा ठुलो समस्या जग्गा प्राप्तिको पनि हो । पहिलाको जस्तो कुनै भौतिक संरचना निर्माण गर्नको लागि व्यक्तिले जग्गादिँदैन, संरचना निर्माणको लागि सरकारी जग्गाको आवश्यकता पर्दछ । उपलब्ध जग्गा छन् तर, ती जग्गामा संरचना निर्माण गर्ने बेलामा संघीय सरकारबाट धेरै समस्याहरू आउने गरेको छ । बसपार्क निर्माणको लागि जग्गा प्राप्ति गर्न म लागि रहेको छु तर, अहिलेसम्म जग्गा प्राप्ति गर्न सकेका छैनौं । पूर्वाधारको क्षेत्रमा जग्गा प्राप्ति गर्न नसक्नु नै ठुलो समस्या हो । हामी विकासको लागि बजेट छुट्याउँ छौं । कोसी करिडोलबाट किमाथान्कासम्म पुग्ने सडक पोहोरै पिच हुनुपर्ने थियो । उक्त सडक प्राविधिक जनशक्तिको कमी, ठेक्का व्यवस्थापनमा कठिनाई, पर्याप्त बजेट विनियोजन नहुनु, अदालतमा गएका विषयहरू टुङ्गो नलाग्नुका कारण समस्या भइरहेको छ । अन्तर मन्त्रालयको समन्वयको अभाव त्यसै गर्दा पनि पूर्वाधारको विकासमा ठुलो समस्या परेको छ । चुरे क्षेत्रमा ठुङगा, बालुवा गिटि निकाल्न नदिने भएकाले गर्दा संरचना निर्माणमा समस्या छ । विकास निर्माण कामले तीव्रता नपाएको कारण पनि समस्या छ । यसै गरी सबै काम ठेक्काबाट हुँदैन । बजेट अभावको कारण निर्माण समयमै सम्पन्न हुन सक्दैन । बहु वर्षीय योजनाका रूपमा अघि बढाउँदा एउटै निर्माण व्यवसायीबाट निर्माण गर्न सकिने हुनाले स्रोत सुनिश्चित हुन आवश्यक पनि छ । राम्रो काम गर्नको लागि कठिन छ । यद्यपी हामी जनप्रतिनिधि, कर्मचारी, नागरिक आदिको सहयोगमा नै विकास निर्माणको काम अगाडि बढाइरहेका छौं । कोरोनाको पहिलो र दोस्रो लहरमा नगरपालिकाले कति बजेट खर्च गर्याे ? गत वर्ष नगरपालिकाले विपत् व्यवस्थापन कोष भन्दै पैसा जुटाउन एक अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा विभिन्न संघसंस्था र व्यतिहरुले चन्दा दिएका थिए । पहिले वर्ष ३५ लाख रुपैयाँ चन्दा उठेको थियो । सो रकमबाट हामीले पहिलो लहरको कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि रकम खर्च गरेका थियौं । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि दोस्रो लहरमा लगभग २० लाख रुपैयाँ जति खर्च भएको छ । यस महामारीमा नगरपालिकालाई विभिन्न संघसंस्थले पनि सहयोग गरेका छन् । अनि चुनावी बाचा कति पुरा गर्नु भयो नी ? हामीले चुनावी बाचा भन्दा बढि नगरमा काम गरेका छौं । हामीले घोषणापत्रलाई नै आधार मानेर ५ वर्षको आवद्धिक योजना बनाएका थियौं । हामीले लगभग घोषणापत्रमा लेखेका तथा निर्वाचित हुँदा बेलेको कुरा पुरा गरी सकेका छौं । हामीले एउटा काम गर्न सकेनौं । वडा नं. २ बर्खाको समयमा डुबानमा पर्छ । उक्त वडाका छेउछाउमा पर्ने खोलाहरुको पानी नियन्त्रण गर्न सकिरहेका छैनौं । निरन्तर परिरह्यो भने तत्काल उद्धारका लागि पनि समस्या हुन्छ । यसलाई नियन्त्रण गर्नको लागि बाँध त बाँध्यौं तर त्यो बाँध नै पानीले फुटाएर बस्तीमा पसेर बस्न नहुन अवस्था आएको छ । त्यस ठाउँको बस्ती स्थानान्तरण गर्ने अथवा नदिलाई नियन्त्रण गर्ने भन्ने बाचा थियो । त्यो काम हामीले पुरा गर्न सकेका छैनौं । उक्त वडाको सामपुरबाट २ नं. प्रदेश फत्तेपुरसम्म जोड्ने सडक पिच गर्ने भनेका थियौं । उक्त सडक २२ किलोमिटरको छ । तर त्यो मध्ये ४ किलोमिटर मात्र सडक पिच गरेका छौं । सो सडक पिच गर्नको लागि ६ करोड रुपैयाँ बजेट छुट्याएका छौं । यो वर्ष पनि सडकका लागि बजेट छुट्याएका छौं । अदालतको कारणले गर्दा स्थानीयको नम्बरी जग्गा पर्ने भएकोले अदालतले बाटो नै भत्काउनु भनेको छ । भनेको भन्दा धेरै काम पुरा गरेका छौं । अन्त्यमा नगरवासीलाई भन्नुपर्ने केही छ ? म के भन्न चाहन्छु भने एकला एक्लै तानातान सबै मिले समाधान हुन्छ । विकासको काममा सबैको रचनात्मक सहयोग चाहियो । विकासमा जनताको निगरानी हुनुपर्छ । नगरले गरेको कामको निगरानी जनताले गर्नु पर्याे । नगरले काम गर्दैगर्दा कुनै ठाउँमा गल्ती भएको छ भने जनताको तर्फबाट राह्य सुझाव सल्लाह नगरलाई हुनुपर्छ । अनि समस्त नेपालीहरुमा शुभ दीपावली तथा छर्ठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यी चाडपर्वमा धेरै खर्च नगरी आफ्नो गक्ष अनुसार पर्व मनाउन र कोभिड–१९ को महामारी अझै पनि न्यूनीकरण भइनसकेको हुनाले सुरक्षित रहि चाडपर्व मनाउन तथा स्वास्थ्य रही जस्तोसुकै रोगलाई पनि जित्न सक्ने सामथ्र्यको विकास होस् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हाम्रो पालिकामा तिव्र विकास हुँदै गएकोले युवाहरु पलायन हुन छाडेका छन् – अध्यक्ष मल्ल
ताँजाकोट गाउँपालिका कर्णाली प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित छ । यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटबाट ४८ कोष टाढा छ । प्राकृतिक रूपमा सुन्दर रहेको यस गाउँपालिकामा ५ ओटा वडा छन् । यस गाउँपालिका अध्यक्ष हुन् बाग्दाल मल्ल । स्वास्थ्य, शिक्षा, सडक र कानुन निर्माण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर गाउँपालिकाले काम गरेको अध्यक्ष मल्ल बताउँछन् । उनै अध्यक्ष मल्लसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् : अब कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ? हामी निर्वाचित भएपछि पालिकामा जति विकास निर्माणको काम गर्छौं भनेका थियौं त्यो अनुसार काम हुन सकेन । स्थानीय तहको नयाँ संरचना, कर्मचारीको व्यवस्थापन, ऐन कानुन बनाउन केही समय लाग्यो । यस पश्चात हामीले पालिकामा विकास निर्माणको कामलाई तीव्रता दियौं । हामीले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएको पाएको छु । निर्वाचित भएर आएपछि पालिकामा शून्य अवस्थाबाट विकास काम सुरु गरेका थियौं । कर्णाली प्रदेशको हुम्ला जिल्ला सबैभन्दा दुर्गम मानिन्छ । सोचेको लक्ष्य अनुसार काम नभएका कारण असफल भइयोकि भन्ने महसुश हुन्छ । तपाईंहरू निर्वाचित भएर आएको ४ वर्षभन्दा बढी भएको छ, यसबिचमा ताँजाकोट जनताले विकासमा कस्तो अनुभूति गरे ? संघियता आइसकेपछि मुलुकमा विकास निर्माणको कामले असाध्यै तीव्रता लिन्छ भन्ने हामी सबैको आशा तथा अपेक्षा थियो । र, लामो समयसम्म जनप्रतिनिधिको अभावले कर्मचारी तन्त्रबाट र राज्य सत्ताबाट चलिरहेको थियो । स्वाभाविक ढंगले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकासले एउटा गति लिएको छ । र, जनताको अपेक्षा पनि धेरै बढेको छ । जनताहरू पनि खुसी नै हुनुहुन्छ तर पनि मान्छे तृप्त भन्ने हुँदैन । जनताको आवश्यकता गुनासोलाई संवोदन गर्दै अगाडि बढेका छौं । क्रमिक रूपमा पालिकामा हिजो भन्दा आज परिवर्तन र विकास हुँदै गएको छ । तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् नी ? हामीले पूर्वाधार विकासमा धेरै राम्रो काम गरेका छौं । पालिकाको प्रत्येक वडामा स्वास्थ्य संस्थाको स्थापना गरी नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यको पहुँच पुर्याएका छौं । यहाँका धेरै युवाहरू रोजगारीको लागि अन्य मुलुक गएका छन् । विकास निर्माणको काम तिव्र गतिमा पालिकामा नै हुन थालेपछि पलायन हुने क्रम पनि धेरै रोकिएको छ । कामको धेरै प्रतिफल नआए पनि कृषि क्षेत्रमा धेरै काम गरेका छौं । बिजुली विस्तार काम भएको छ र जनताको घरमा खानेपानीको पुर्याउने काम भएको छ । हामीले पालिकाको प्रत्येक वडामा सडकको सञ्जाल पुर्याएका छौं । बिजुली नपुगेको नागरिकको घरमा पालिकाले सोलर खरिद गरी अनुदान स्वरुप वितरण गरेको छ । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक नागरिकहको घरमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । आउँदो निर्वाचनमा नागरिकको घरमा बिजुली नपुर्याई भोट माग्न आउँदिन भनेको छु । तपाईंको पालिका पर्यटकीयस्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । पालिकामा पर्यटन मार्गको सुरुवात गरेका छौं । सबै ठाउँमा सडक नपुगेको कारण पर्यटकिय क्षेत्रमा पनि केही समस्या देखिएको छ । यस क्षेत्रतर्फ राम्रो कामको सुरुवात गरेका छौं । हालसम्म कति ऐन–कानुन बनाउनुभयो ? पालिकाको आवश्यकता अनुसार ऐन–कानुनको निर्माण गरेका छौं । हालसम्म पालिकामा २० ओटा ऐनको निर्माण भएको छ । गाउँपालिकालाई आवश्यक पर्ने सबै ऐन, कानुन बनाएका छौं । कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । कार्यविधि त आवश्यकताअनुसार बनाउँदै जाने कुरा पनि हो । प्रदेश र संघ सरकारसँगको सहकार्य कस्तो रह्यो ? संघी सरकारसँगको समन्वय राम्रो छ । संघबाट आएको बजेटले पालिकाको विकासको गतिलाई तिव्रता दिएका छौं । प्रदेश सरकारसँग पालिकाको धेरै राम्रो समन्वय हुन सकेन । गत आर्थिक वर्षमा कति योजना तर्जुमा गर्नु भएको थियो, कति योजनाहरू सम्पन्न गर्नुभयो ? गत आर्थिक वर्षमा हामीले करिव ९७ ओटा योजनाको तर्जुमा गरेका थियौं । उक्त योजनामध्ये धेरै काम पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । टेन्डरका कामहरू चलिरहेका छन् भने धेरैजसो योजनाहरू सम्पन्न भइसकेको अवस्था छ । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमत पनि भएका छन् । पहिलो वर्ष ७५ लाख रुपैयाँ खर्च भएको छ । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि दोस्रो लहरमा ९० लाख रुपैयाँ जति खर्च भएको छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । पालिकामा युवा लक्ष्ति गर्दै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । उक्त रोजगार कार्यक्रम अन्तर्गत यहाँका धेरै युवाहरुले रोजगार पाएका छन् । युवा उद्यमशीलता वृद्धि गर्ने पशु र कृषिमा आकर्षण वृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिका अगाडी बढेको छ । पालिकामा विस्तरै साना तथा मझौला उद्योग स्थापना हुँदै छन् । उक्त उद्योग मार्फत पनि धेरै युवाहरुले रोजगारी पाउने आशा छ । पालिकाले विभिन्न स्वरोजगारका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । स्वरोजगार बन चाहने युवाहरूलाई हामीले ऋणको पनि व्यवस्थापन मिलाएका छौं । व्यवसायकीक बन्न चाहने युवाहरूको लागि सुलब ब्याजदरमा ६ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउन सक्छौं । अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले सरसल्लाह सुझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु । अनि नेपालीहरूको महान् चाड वडा दशैं, शुभ–दीपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा देशविदेशमा बसोबास गर्नुहुने सम्पूर्ण गाउँबासी दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
‘हाम्रो पालिकाका सबै वडामा कार्यालय सहयोगीले नै सचिवको काम गर्छन्’
पुथा उत्तरगंगा गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत पूर्वी रुकुम जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष हुन् ओम प्रकाश घर्ती । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरिरहेका छन् । तर, कुनै पनि वडामा सचिव नभएका कारण कार्यालय सहयोगीले सचिवको काम गरी सेवा प्रवाह गरेको अध्यक्ष घर्ती बताउँछन् । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बिचमा उनको लक्ष्यअनुसार काम नभएको भन्दै असन्तुष्टी व्यक्त गर्छन् । यसैक्रममा गाउँपालिकाले अघि सारेका विकास निर्माणका काम, सम्भावना, चुनौती, कर्मचारी व्यवस्थापन लगायत विषयमा केन्द्रित रहेर उनै अध्यक्ष घर्तीसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकाको अध्यक्ष भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ? स्थानीय तहको संरचना बनिसकेपछि गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएँ । त्यो बेला गाउँपालिकाको अवस्था निक्कै जीर्ण थियो । संघीयताको पहिलो पहिचान, कर्मचारीको व्यवस्थापन, प्रशासनिक भवन नभएको कारणले गर्दा धेरै चुनौती र समस्या भएको मलाई अनुभव छ । हामी त्यो बेला अन्योलताको साथ नै अगाडि बढ्यौं । कतिपय असहज परिस्थितिका बाबजुद हामी निर्वाचित भएको पनि चार वर्ष पूरा भएको छ । गाउँपालिकाको अध्यक्ष भएर काम गर्दा के–कस्ता कठिनाइहरू आइ परे ? काम गर्दा हरेक पाइलापाइलामा कठिनाइ हुने रहेछ । हाम्रो गाउँपालिका भौगोलिक हिसाबले पनि दुर्गम छ । यहाँ सिटामोल पाउन समेत गाह्रो छ । अशिक्षित, गरिबीका कारण अझै पालिकाको मुहार फेरिन सकेको छैन । राम्रो काम मन नपराउने मान्छे पनि समाजमा छन् । अन्य स्थानीय तहको तुलनामा पालिका धेरै पिछाडिएको छ । पालिकामा धेरै समस्या छ । अझै पनि पालिकामा विकासको गतिले तीव्रता पाउन सकेको छैन । तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् ? पूर्वी रुकुम जिल्लाको सबैभन्दा पिछडिएको गाउँपालिका हाम्रो हो । हामी निर्वाचित भएपछिको पहिलो बैठकमै शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्छौं भन्ने निर्णय गरेका थियौं । त्यो निर्णय बमोजिमनै काम भएको छ । शिक्षा क्षेत्रमा पालिकाले ५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट पालिकाले शैक्षिक गुणस्तरका लागि खर्च गर्दै आएको छ । शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्ताइ दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले २ जना इन्जिनियरी बढ्ने विद्यार्थीहरूलाई निःशुल्क पढाउँदैछ । हामीले पालिकाको प्रत्येक वडामा सडक पुर्याउने पहल गरी रहेका छौं । हालसम्म पालिकाको वडा नं. १०, १२, १३, १४ मा मात्र सडक सञ्जाल पुगेको छ भने अन्य वडामा सडक पुगेको छैन । पालिकामा १४ ओटा वडा छन् । यी प्रत्येक वडामा बिजुली पुर्याउने लक्ष्यमा छौं । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक वडामा बिजुली पुर्याउँछौं । तर, हाम्रो सोच र लक्ष्य अनुसार काम हुन सकेन । लक्ष्य अनुसार काम नभएको कारणले म असन्तुष्ट छु । अनि कृषि क्षेत्रमा कस्तो काम भएका छन् नि ? पालिकामा परम्पराबादि कृषि खेती छ । यहाँ वर्ष भरी काम गरेर पनि खान नपुग्ने अवस्था छ । पालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि अगाडि बढाएको छ । यहाँका धेरै नागरिकहरू कृषि पेशमा आधारित रहेको पाइन्छ । पालिकाले पनि कृषकहरूलाई सहयोग गरेको छ । कृषि क्षेत्रमा पनि केही समस्या भएका कारण उक्त क्षेत्रतर्फ उत्कृष्ट काम गर्न सकेका छैनौं । सकेसम्म पालिकाले कृषि क्षेत्रमा पनि राम्रो काम गर्ने प्रयास गरी रहेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? गाउँपालिकाले कोभिडको पहिलो र दोस्रो लहर रोकथाम र नियन्त्रण गर्नको लागि बजेट त धेरै खर्च गर्याे तर, बजेटको खर्च अनुसारको उपलब्धि भने देखिएन । पहिलो लहरमा नै पालिकाले लगभग ८० लाख रुपैयाँ खर्च गरेको छ । दोस्रो लहरमा कति खर्च भयो भनेर छलफल गरेका छैनौं । मलाई लाग्छ यो वर्ष पनि धेरै खर्च भएको छ । गाउँपालिकाले किन विकास निर्माणको काममा फड्को मार्न सकेन ? हाम्रो पालिकामा १४ ओटा वडा छन् । झन्डै नगरपालिकाको भन्दा धेरै वडा छन् । भौगोलिक विकटता छ बजेट सीमित छ । बेजेट पनि अन्य स्थानीय तहको तुलनामा कम आउँछ । यहाँ भ्रष्टाचार मैलाएको देखिन्छ । वर्षमा ६ देखि ८ करोड रुपैयाँसम्म मात्र बजेट आउने गर्छ । यति बजेटले मात्र पालिकाको विकास सम्भव छैन । सीमित बजेटको कारणले नै पालिकामा विकास निर्माणको कामले गति लिन सकेन । संघ र प्रदेश सरकारले स्थानीय तहलाई हर्ने दृष्टिकोण कस्तो पाउनु भयो नि ? संघ र प्रदेश सरकारले स्थानीय तहलाई हर्ने दृष्टिकोण फरक छ । हाम्रो पालिका भूगोलको हिसाबले पनि ठुलो छ । बजेट सीमित आउँछ । हाम्रो पालिकामा मान्छे नै छैनन्, विकास नगर्दा पनि हुन्छ भन्ने तरिकालेसंघ र प्रदेश सरकारले बुझ्यो । प्रदेशका नेताहरू पनि भोट माग्न आउँदा आकाश नै झार्दिउँला जस्तो कुरा गर्छन् । चुनावमा विजयी भएपछि वास्ता गर्दैनन् । संघ र प्रदेश सरकारसँग पनि राम्रो समन्वय हुन सकेन । संघ र प्रदेश सरकारले पनि विकसित पालिकालाई मात्र सहयोग गर्ने देखियो । दुर्गम स्थानीय तहलाई फर्केर पनि हेरेन । आगामी दिनका योजना के छन् ? हामीले सञ्चालन गरेका तर पुरा नभएका केही योजनाहरू पुरा गर्ने छौं । पालिकाको प्रत्येक नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने हो । हरेका क्षेत्रमा थोरै भए पनि परिवर्तन गर्नतर्फ हाम्रो ध्यान केन्द्रित छ । पालिकामा कर्मचारीसँगको समन्वय र कर्मचारीको अभाव अझै पनि छ र ? कर्मचारीसँग पनि मेरो धेरै राम्रो समन्वय हुन सकेन । हालसम्म पनि पालिकाको कुनै पनि वडामा सचिव छैनन् । मेरो कार्यकाल भर सचिव पनि हुँदैन जस्तो मलाई लाग्छ । कार्यालय सहयोगीले सचिवको काम गरिरहेका छन् । हाम्रो गाउँपालिकालाई योजनाबद्ध ढंगले असफल बनाउन खोजिएको देखिन्छ । प्रमुख कार्यकारी अधिकृतले कर्मचारी माग बेलमा नगर्ने, समय सकिएपछि कर्मचारी माग गर्ने र माथिल्ला निकायले पनि बस्ता नगरेकाले समस्या भयो । कर्मचारी नभएको कारणले नै सेवा प्रवाहमा पनि समस्या भएको छ । कार्यकारी अधिकृतले कर्मचारी व्यवस्थापन गरेको छु भन्ने तर कामनै नगर्नाले समस्या भयो । दुर्गम ठाउँ भएकाले पनि कर्मचारी आउन मान्दैनन् । विकास निर्माण गर्नको लागि सबैको सहयोग चाहिन्छ तर यहाँ यस्तो भएन । अन्त्यमा, के भन्न चाहनु हुन्छ ? के भन्न चाहन्छु भने हामीले राम्रो काम गर्न खोजेका थियौं । तर, त्यसलाई प्रभावकारी बनाउन सकिनौं । विकास भनेको क्रमिक रूपमा हुने कुरा पनि हो । भौगोलिक विकटता र दक्ष जनशक्तिको अभावका कारण यहाँ धेरै समस्या देखापरे । यस्ता समस्याको समाधान गर्नको लागि पालिका लागि परेको छ । यस्तो परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहिनेत गर्नुपर्छ । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नुहुन सवैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।