स्थानीय जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पूरा, उनीहरूको सेवा प्रवाह कस्‍तो रह्यो ?

काठमाडौं । करिब दुई दशक जनप्रतिनिधिविहीन रहेको स्थानीय निकायले जनप्रतिनिधि पाएको पनि पाँच वर्ष पूरा हुन लागेको छ । २०७८ सालको समाप्तिसँगै निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि लगभग सकिँदैछ भन्दा फरक नपर्ला किनकि शासन व्यवस्थामा सबैको हिस्सेदारी र स्रोतसाधनमा पहुँचको सुनिश्चितता गर्न बनेको संघीयता अन्तर्गतको स्थानीय तहले अबको एक महिनामा नयाँ जनप्रतिनिधि पाउँदैछ । गाउँगाउँमा सिंहदरबार भन्दै स्थानीय तहलाई पूर्ण जिम्मेवार र जनमुखी बनाउन स‌ंविधानले नै अधिकार दिएको छ । नेपाल संविधानको अनुसूची ८ मा स्थानीय सरकारका एकल अधिकार व्यवस्था गरिएको छ । तर पहिलो कार्यकाल समाप्त हुँदै गर्दा संस्थागत संरचना, कानुन निर्माण, विकास निर्माण र कोरोना रोकथाम तथा नियन्त्रण आदि कार्यमा स्थानीय तह व्यस्त बन्यो । नयाँ र सुरुवाती कार्यकाल भएकोले जनप्रतिनिधिहरू कानुन, ऐन तथा कार्यविधि बनाउँदा बनाउँदै धेरैजसो समय बितेको बताउँछन् । अबको कार्यकालका जनप्रतिनिधिले कार्यसञ्चालनका कानुन बनाउनु नपर्ने भएकोले विकास निर्माणमा मात्र केन्द्रित हुन पाउने उनीहरूको भनाइ छ । कूल ७५३ स्थानीय तहमा ३६ हजार ७२२ जनप्रतिनिधिहरू स्थानीयको सेवामा क्रियाशील छन् । यस अवधिमा स्थानीयहरूले जनप्रतिनिधिको काम नजिकबाट हेर्न पाए भने जनप्रतिनिधिले पनि आफ्नो क्षमता र स्रोत अनुसरको काम गरेका छन् । उनीहरूले स्थानीय सरकारकै हैसियतमा करिब पाँच वर्ष बिताएका हुन् । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । यस सरकारमा निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेर जनताको भरोसालाई जित्न पनि सफल भएका छन् भने करिब पौने २०० जनप्रतिनिधिहरूमाथि फौजदारी मुद्दासमेत लागेको छ । त्यसैले सबै जनाप्रतिनिधिलाई एउटै तराजुमा जोख्न मिल्दैन । अख्तियारका अनुसार सो अवधिमा स्थानीय तहका जनप्रतिनिधिविरुद्ध करिब २० हजार उजुरीसमेत परेका छन् । यस तथ्यांकले गलत गर्ने जनप्रतिनिधिलाई स्थानीयले टुलुटुलु हेरिरहँदैन भन्ने देखाउँछ । यसरी हेर्दा स्थानीय तहको ५ वर्षको अवधि नीति निर्माण, सामाजिक, आर्थिक विकास, पूर्वाधारको निर्माण, न्याय सम्पादन, अन्तर सरकार समन्वय आदि कार्यको प्रारम्भमै बितेको देखिन्छ । स्थानीय तहभित्र सञ्चालित ठूला प्रोजेक्टको विस्तृत परियोजना प्रस्ताव तयार भई कार्यान्वयन हुन थालेका छन् । निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनै लाग्दा पुन: वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । पदाधिकारीहरूको कार्यअवधि सकिनै लाग्दा चुनावी माहोल पनि बढ्दो छ । जनप्रतिनिधिहरू कार्यालयको काम छोडेर पार्टीको चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् । ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङ्ग भन्छन् – ‘कर्मचारी पालिकामा अभाव भए पनि नागरिकलाई छिटो छरितो सेवा दिने कामलाई कन्जुस्याइँ गरेको छैन ।’ गाउँपालिकामा कर्मचारीको अभाव अझै पनि रहेको अध्यक्ष गुरुङ्गले बताए । अध्यक्ष गुरुङ्गका अनुसार गाउँपालिकामा ८ वटा वडा छन्, सो वडामा शिक्षक तथा स्वास्थ्यका कर्मचारलाई सचिवको जिम्मा दिएर नागरिकको कामलाई पालिकाले सहज बनाएको छ । ‘कोभिड-१९ को बेलामा दिन रात नभनीकन जनताको सेवामा हामी लाग्यौं,’ उनले भने । सो गाउँपालिकाले जनताप्रति गरेका काम देखेर स्थानीयवासीहरू पनि खुसी भएका उनको दाबी छ । न्यूनतम स्रोत र साधनको उच्चतम प्रयोग गर्दै गाउँपालिकाको विकास गरेको गुरुङ्गले बताए । यस्तै, स्थानीय तहमा नेतृत्वको लिएपछि यो अवधिसम्ममा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको र सेवा प्रवाहलाई चुस्त बनाई नागरिकलाई सहज सेवा दिएको मुसिकोट नगरपालिका, रुकुम(पश्चिम)का नगरप्रमुख देविलाल गौतमले बताए । नगरपालिको सेवा प्रवाहमा हाल कुनै पनि समस्या नरहेको नगरप्रमुख देविलाल दाबी गर्छन् । गौतमका अनुसार नगरपालिकामा सुरुका दिनमा सेवा प्रवाहमा समस्या थियो, जनताको नगरले दिन सेवामा हाल कुनै पनि समस्या नहोस् भनेर सबै वडामा नगरपालिकाले कर्मचारीको पनि व्यवस्था गरिसकेको छ । ‘हाम्रो नगरपालिका भौगोलिक रूपमा विकट छ, पूर्वाधारको विकास गर्न पनि मोटो रकम खर्च हुन्छ, यसका बाबजुद पनि हामीले जनतालाई सेवा दिने कुरामा रोकेका छैनौं,’ उनले भने । डिजिटल माध्यमबाट नागरिकलाई छिटो र छरितो रूपमा सेवा दिँदै आइरहेको षडानन्द नगरपालिका, भोजपुरका नगरप्रमुख वीरबल राईले जानकारी दिए । नगरप्रमुख राईका अनुसार स्थानीय तहलाई आत्मनिर्भर, सक्षम र सबल बनाउने प्रकृतिका नीति, कार्यक्रम, योजना र बजेट आ–आफ्नो सभाबाट पारित गरी कार्यान्वयन गर्नु, सडक, पुल, खानेपानी, विद्यालय भवन, सामुदायिक भवनलगायत पूर्वाधार निर्माणले तीव्रता पाएको छ । नगरपालिकाले जनताको कामलाई सहज बनाएर, उनीहरूको जीवनसँग जोडिने कुरालाई पहिला प्राथमिकता दिएको उनको भनाइ छ । ‘नगरपालिकाको प्रत्येक वडामा इन्टरनेटको पहुँच पुर्‍याएको, प्रविधिको उचतम् प्रयोग गरी काम गरेका छौं, अझै पनि नगरले दिने सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल पनि गरिरहेका छौं,’ उनले भने । कामको हिसाबले कतै राम्रा कतै ठिकै काम भएका छन् तर, कुनै पनि जनप्रतिनिधिले आफ्नो चुनावी घोषणा पत्रअनुसार भने काम गर्न नसकेको स्थानीयहरू बताउछन् ।

मेयर बनेपछि काठमाडौंमा १० तले स्मार्ट भर्टिकल पार्किङ बनाउँछु : सुनिता डंगोल

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयरको पदमा दाबी गर्नेको संख्या पनि बढ्दो छ । संघीय राजधानी पनि भएकोले काठमाडौंको मेयर पदमा धेरैको आकर्षण बढेको पनि हुनसक्छ । स्थानीय तहको आगामी निर्वाचनमा मेयर पदको दाबी गर्नेमध्येमा एक हुन् सुनिता डंगोल । स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइसकेकी छैनन् । ‘मिस नेवा २०११’ की विजेता, सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धन गर्ने र सुनिता सञ्चारकर्मी भएर विगत लामो समयदेखि काम गरिरहेकी छन् । काठमाडौंको मेयरमा उठ्न दौडधुप गरिरहेकी डंगोल अहिले आगामी निर्वाचनको तयारीमा व्यस्त छिन् । अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफू सक्षम रहेको उनी बताउँछिन् । सुनिता डंगोलसँग मेयर पदमा उनको उम्मेदवारी लगायत विषयमा विकासन्युजले कुराकानी गरेको छ । तपाईं विभिन्न संस्थामा सक्रिय भएर काम गरी राख्नु भएको छ, अचानक कसरी मेयरमा उठ्ने सोच्नुभयो ? विभिन्न संस्थामा सहभागी भएर सक्रिय भइरहँदा मैले के अनुभव गरे भने नीति निर्माण गर्ने र कार्यकारी पदहरूमा युवाको सहभागिता तथा नेतृत्व अहिलेको आवश्यकता हो । यसै सन्दर्भमा, सानै उमेरदेखि मलाई सक्रिय राजनीतिमा लाग्ने इच्छा थियो । काठमाडौं म जन्मिएको सहर हो । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै म जन्मेको सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौंको मेयर बन्ने सोच राखेकी हुँ । मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा चाहिन्छ । त्यसका लागि युवाहरू नै राजनैतिक नेतृत्वमा आउन आवश्यक छ । त्यसैले अहिले स्थानीय सरकारको निर्वाचनको अवसर पारेर मैले मेयरमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । तपाईं सानैदेखि राजनीतिमा रुचि राख्ने मान्छे भन्नु भयो, चुनाव पनि नजिकिँदै छ, तर अहिले पनि कुन पार्टीबाट उम्मेदवारी बन्ने भनेर चुन्न सक्नु भएन नि किन ? अहिले म ठूला-साना धेरैजसो पार्टीको सम्पर्कमा छु । ती पार्टीहरूको प्रस्तावहरूका विषयमा छलफल गर्दैछु । त्यसैले म केही समयभित्रै स्वतन्त्र वा पार्टीगत उम्मेदवारी कसरी अघि बढ्ने हो निर्णय लिन्छु । तपाईं राजनीति गर्नको लागि मेयरमा चुनाव लड्न खोजिरहनु भएको छ कि चर्चामा आउनको लागि ? राजनीति राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन र प्रणाली हो । राजनीति भनेको राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रूपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु । राजनीति व्यापार होइन यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । मेरो त्यो मूल उद्देश्यलाई मूर्तरूप दिन मैले राजनीतिमा आउन चाहेको हो । आर्थिक समृद्धि, उन्नत समाजको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने हो भने राजनीति पनि उन्नत बन्छ । म उन्नत किसिमका राजनीतिमा विश्वास गर्छु । म एक दशक अघि नै मिस नेवा भएर चर्चामा आइसकेकी व्यक्ति हुँ । यस अलावा मैले निरन्तर रूपमा विभिन्न संघ संस्थामा आबद्ध भएर एकजना सामाजिक तथा सांस्कृतिक अभियनता भएर लागि परेकी व्यक्ति हुँ । मैले नेपालमात्र होइन विदेशमा बस्ने नेपाली र विदेशीहरूलाई समेत रञ्जना लिपी सिकाउने र हाम्रो संस्कृतिलाई विश्वव्यापी रूपमा प्रचार गर्ने एउटा अभियनता को रूपमा चर्चा कमाएको व्यक्ति हुँ । म सस्तो लोकप्रियता मा विश्वास गर्दिन । म पानीको फोकाजस्तो बन्न पनि चाहँदिन । मेरो यो पाइला सक्रिय राजनीतिमा एक प्रस्थान विन्दु हो भने मेरो पाइलाहरू निरन्तर रूपमा यस क्षेत्रमा अघि बढिरहने छ । दीर्घकालीन सोच लिएर नै देश र जनताको लागि समर्पित हुन म राजनीतिमा लागेकी हुँ । महानगरको मेयरमा उठ्ने तपाईंका भिजन र चुनावी एजेण्डा के–के हुन् ? मैले आफ्नो भिजन र योजनाहरू सहित एक प्रकारको घोषण पत्र तयार गरिसकेकी छु र आम जनसमुदायका भावनाहरू बुझ्न मैले योजनाहरूका लागि अपिल पनि गरिसकेकी छु । जनताले अथाह माया र विश्वास गरेर मलाई हजारौं इमेलमार्फत सुझावहरू दिनु भएको छ । त्यसको लागि सबैमा मुरी मुरी धन्यवाद पनि दिन चाहन्छु । अब उहाँले पठाएका राम्रा सुझावहरू र मैले तयार पारेको भिजन सहितका योजनाहरूलाई मिलाएर केही दिन मै प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछु । मैले आठ खम्बा विकास रणनीतिक मोडेल अघि सारेको छु । जसमा फोहरमैला व्यवस्थापन, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सूचना प्रविधिको अधिकतम प्रयोग, डिजिटल काठमाडौं, कला संस्कृति सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, सोसियल इन्जिनियरिङको व्यवस्थापन, युवा तथा रोजगारी लक्षित अल्पकालीन र दीर्घकालीन योजनाहरू लगाएका अन्य क्षेत्रसमेत समावेश गरेरहेकी छु । यी रणतितिक मोडेलहरूमा मेरो आफ्नो दृष्टिकोण स्पष्ट ढङ्गले समावेश गरेकी छु । निर्वाचित भएपछि पर्याप्त पार्किङ स्थलको व्यवस्थापन गर्छु भन्नुभयो, महानगरभित्र खाली जग्गा पाउनसमेत मुस्किल छ, कस्तो र कहाँकहाँ पार्किङ बनाउने योजना बनाउनु भएको छ ? पार्किङको सम्बन्धमा मैले विदेशमा देखेको १० तल्लाको स्मार्ट भर्टिकल पार्किङहरू, अन्डरग्राउन्ड पार्किङहरु र सामान्य सडकमा गर्ने पार्किङ सिस्टमहरुलाई काठमाडौंमा व्यवस्थापन गर्नेछु । काठमाडौं महानगरपालिकाको मेयरमा धेरै दाबेदारी गरिरहेका छन्, यसमा आफ्नो जितको सुनिश्चितता कतिको देख्नुहुन्छ ? काठमाडौंका जनताले सधैं न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहीँको माटोमा जन्मिएकी, हुर्केकी, ज्यापू जातिको नेवार समुदायको छोरी हुँ । मैले सांस्कृतिक अभियनताका रूपमा योगदान गरेकी छु । मैले धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाउँदो विकास गर्ने योजना बनाएकी छु । सांस्कृतिक सहर काठमाडौं कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार भएको व्यक्ति हुँ । यहाँका युवाको सोच, यहाँका युवाको भावना र यहाँका युवाको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ म । त्यति मात्रै होइन आफूभन्दा अग्रजहरूको विज्ञता, अनुभवीहरूको ज्ञान, सल्लाह र सबै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु । मलाई यो आशिर्वाद अवश्य प्राप्त हुनेछ भन्ने मैले ठानेकी छु । यी मेरो प्रारम्भिक योजनाहरू हुन् । मेयरको तयारीसँगै बृहत् योजनासहित अघि बढ्ने छु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुँदै आइरहेको समाज सेवाले गर्दा पनि यसपाली काठमाडौंवासीले मलाई मेयरको रूपमा विजयी बनाउने छन् भन्ने कुरामा म विश्वस्त छु । यदि तपाईं निर्वाचित हुन भयो भने तपाईंको पहिलो काम के हो ? यदि म निर्वाचित भएभने मैले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक प्रक्रियाहरू अघि बढाउने र जनतालाई विश्वास दिलाउने तथा सकेसम्म चाँडो ती प्रक्रियाहरू पूरा गर्न म लागी पर्नेछु । यसअघि निर्वाचित जनप्रतिनिधिहरूको गरेको काम तपाईंलाई कस्तो लाग्छ ? धेरै जसो जनप्रतिनिधिहरूले राम्रै काम गरेका छन् । उहाँहरूले गरेको कामको मुल्यांकन अवको निर्वाचनबाट जनताले मत दिएर अवश्य पनि गर्ने नै छ । उपप्रमुखमा पनि उम्मेदवारी दिन सक्नुहुन्थ्यो, किन मेयरको पद नै रोज्नुभयो ? गत निर्वाचनमा मेयर पदमा करिब ९७ प्रतिशत पुरुषहरू निर्वाचित भएका छन् । के मेयर पदका लागि महिलाहरू अयोग्य नै हो त ? राजनैतिक पार्टीहरूले आधा धर्ती धाकेको महिलाहरूलाई संविधानको भावनाविपरीत मेयर पदमा पुरुषहरूलाई मात्रै स्थान दिने हो त ? के यो महिलाहरू माथि अन्याय होइन र ? त्यसैले पनि मैले सम्पूर्ण महिला तथा युवाहरूको आवाजको प्रतिनिधित्व गर्दै मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । संस्था चलाएजस्तो स्थानीय तह हाँक्नु सजिलो छ होला र ? संस्था भनेको एउटा सानो यूनिट हो भने स्थानीय तह भनेको एउटा स्थानीय सरकार नै हो । त्यसैले पनि स्थानीय तह हाँक्नु सजिलो अवश्य पनि हुँदैन । यसै सन्दर्भमा मसँग काठमाडौ महानगरपालिकाको सहरी योजना आयोगमा बसेर काम गरिसकेको अनुभव पनि छ र मैले त्यहाँको कर्मचारीतन्त्र लगायत सिस्टमलाई राम्ररी बुझेकी छु र नजिकबाट अनुभव गर्न पाएकी छु । त्यसैले पनि मसँग आत्मविश्वास छ, म राम्रो व्यवस्थापनका साथ स्थानीय सरकारको नेतृत्व गर्न सक्छु ।

भूमिहीनलाई निस्सा वितरण गर्दै तनहुँका पालिका

दमौली । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिए । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उनले बताए । यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । ‘भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाैँ, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ’, उनले भने । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताए । रासस