बालेन १७ हजार २३४ मतले सिर्जनाभन्दा अगाडी

काठमाडौं । काठमाडौं महानगरपलिकाको मत गणना जारी छ । मेयरको उमेदवारीमा बालेन्द्र शाह(बालेन) ले सुरुवातदेखि नै लिड गरिरहेका छन् । उनले एक लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगर : ७ नंम्बरमा कांग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् । होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित भएका छन् । महिला सदस्यतर्फ कांग्रेसका रुपा थापाले जित हासिल गरेकी छिन् भने दलित महिला सदस्यमा कांग्रेसकै कल्पना सुन्दास विजय भएका छन् । हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।  

स्थानीय तहमा व्यवसायीको ‘इन्ट्री’, दर्जनौं व्यापार सम्हालेका गोपाल बने धनगढीको मेयर

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतान्तरले निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे । यस्तै, अर्का उम्मेदवार नेकपा (एमाले)का रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेका छन् । हमाल धनगढीका चर्चित व्यवसायी पनि हुन् । उनी व्यापार व्यावसायसँगै सामाजिक क्षेत्रमा उनी अग्रसर छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारमा उठेका उनी नृप वडसँग नै झिनो मतले पराजित भएका थिए । अहिले उनी भारी मतान्तरले विजयी भए । सुदूरपपश्चिममा चर्चित व्यवसायी छवि बनाएका हमाल ‘दिनेश ग्रुप’ को अध्यक्ष हुन् । उनले दिनेश ग्रुप अन्तर्गतका विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन् । दिनेश यातायात, दिनेश एग्रो, दिनेश होटल, दिनेश एफएम, दिनेशखबर र दिनेश मोटर्सजस्ता व्यापारमा उनको लगानी छ । यस्तै, दिनेश कन्सर्न, दिनेश फोर ह्विल, दिनेश अटो मोटिभ्स, दिनेश मेटल, दिनेश पेन्ट्स, दिनेश कम्प्युटर्सजस्ता व्यवसायमा पनि उनको सेयर स्वामित्व छ । सुदूरपश्चिमको विकासममा एक अभियन्ताको परिचय बनाएका हमालको विजयी पछाडि धेरैको आशा पनि छ । उनले लामो समयसम्म कैलाली उद्योग वाणिज्य संघ र सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष भएर काम गरिसकेका छन् । सचिवालय सुदृढ बनाउँछु : मेयर हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित हमालल आफ्नो पहिलो काम सचिवालय सुदृढ बनाउने बताएका छन् । विजयी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले पहिलो काम सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने धारणा राखेका हुन् । उनले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताए । सचिवालय सुदृढ नहुँदासम्म काम बन्दैन, मेरो काम सचिवालय सुदृढ गर्ने हुनेछ, त्यसपछि यसअघिका जनप्रतिनिधिहरूले अुधरै छोडेका कामहरू सम्पन्न गर्नेछु,’ उनले भने ।