सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले १०२ नगरपालिकाको प्रमुख र १८० गाउँपालिकाको अध्यक्ष जितेको छ । गठबन्धन आबद्ध नेकपा (माओवादी केन्द्र) २० नगरपालिका र ९२ गाउँपालिका गरी ११२ पालिकामा विजयी भएको छ । यस्तै जनता समाजवादी पार्टी नेपाल २० र नेकपा (एकीकृत समाजवादी) १४ पालिकामा विजयी भएको छ । स्थानीय निर्वाचनमा गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले छ महानगर, ११ उपमहानगरसहित केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा गठबन्धनका दलले मित्रवत प्रतिस्पर्धा गरेका थिए । गणना बाँकी रहेका पालिकामा पनि गठबन्धन आबद्ध दलले अग्रता लिइरहेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ । एमालेले ६० नगरपालिका र ११५ गाउँपालिका गरी १७५ स्थानमा मात्र विजयी भएको छ । अघिल्लो निर्वाचनमा एमालेले २९४ पालिकामा जीत हासिल गरेको थियो । एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादीलगायत विभिन्न पार्टीसँग गठबन्धन गरेको थियो । यसैगरी कांग्रेसले ७७ नगरपालिकाको उपप्रमुख र १८० गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमाले ७९ उपप्रमुख र ११७ उपाध्यक्ष, माओवादी केन्द्र २८ उपप्रमुख र ९१ उपाध्यक्ष, जनता समाजवादी पार्टी नेपाल १४ उपाध्यक्ष र एकीकृत समाजवादी आठ स्थानीय तहको उपप्रमुखमा विजयी भएको छ । कांग्रेसले सबैभन्दा बढी वडाध्यक्षमा जीत हासिल गरेको छ । हालसम्म कांग्रेस दुई हजार ३९२, एमाले एक हजार ९०७, माओवादी केन्द्र ९८९, जनता समाजवादी पार्टी २३८ र एकीकृत समाजवादी पार्टी १०० बढी वडामा विजयी भएका आयोगले जनाएको छ ।
कामपा–३२ मा एमालेका पुरानै जनप्रतिधि दोहोरिए
काठमाडौं । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौं महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित प्यानल नै विजयी भएको छ । उनी नेकपा (एकीकृत समाजवादी)का निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल (पराजुली) लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय भएकी हुन् । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो । अध्यक्षमा विजय भएका पराजुलीले पाँच हजार २२५ मत प्राप्त गरेका हुन् भने कँडेलले तीन हजार १०८ मत प्राप्त गरेकाे बताइएको छ । त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी भएका छन् । महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएकाे जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९ र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
दमकको मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित
सुरुङ्गा । दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भइन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमालेको गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरे । थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ । अधिकारी विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित थिए । उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९६६ मत प्राप्त गर्दा एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरिन् । उपप्रमुखमा भट्टराई र खनालको मतान्तर ३९२ छ । अन्ठाउन्न हजार १७६ मतदाता रहेको नगरमा १८ हजार ७१६ पुरुष र २१ हजार १७९ महिला गरी ३९ हजार ८९५ जनाले मतदान गरेका थिए । वडाध्यक्षमा १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भए । त्यस्तै वडा नं ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भए । छ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा–कडा प्रतिष्पर्धा हुँदै आएको थियो ।