कर्णालीका स्थानीय तहमा तीन अर्ब बेरुजु

कर्णाली । कर्णालीका स्थानीय तहमा तीन अर्बभन्दा बढी रकम बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार कर्णालीका ७३ स्थानीय तहमा ६५ अर्ब ३७ करोड ६० लाखको लेखा परीक्षण गरिएकोमध्ये तीन अर्बभन्दा बढी बेरुजु देखिएको हो । महालेखाले आर्थिक २०७६/०७७ मा कर्णालीका ५० गाउँपालिका र २३ नगरपालिकाको लेखापरीक्षण गरेको थियो । नगरपालिका र गाउँपालिकाको गरी र तीन अर्ब २६ करोड ९१ लाख रकम बेरुजु (पेश्कीसमेत) आएको हो । स्थानीय तहको अद्यावधिक बेरुजु रकम मात्रै एक अर्ब ३१ करोड १५ लाख ४९ हजार रहेको महालेखाले औँल्याएको छ । विगतमा कानूनविपरीत भएको खर्च सरकारी निकायले फछ्र्योट गर्न नसक्दा बेरुजु अङ्क बढी देखिएको हो । स्थानीय तहले बजेट व्यवस्थापन, आयोजना कार्यान्वयन, सोझै खरिद, बिल भरपाईलगायत विषय सुधार नगरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सरकारको ८३ करोड कर्णाली प्रदेश सरकारका छ वटा मन्त्रालयको आव ०७६/०७७ सम्म ८३ करोड १७ लाख ३३ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक प्रदेशको प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक बाँकी छ मन्त्रालयको बेरुजु देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन र बजेट हस्तान्तरणमा कमजोरी देखिए पनि लगती बेरुजु छैन । महालेखाको प्रतिवेदनअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १२ करोड सात लाख ३६ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयको एक लाख नौ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको पाँच लाख, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १९ करोड ८३ लाख ८७ हजार छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको २० करोड दुई लाख ३८ हजार, सामाजिक विकास मन्त्रालयको ३१ करोड १७ लाख ३३ हजार बेरुजु छ । कर्णाली प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको नाममा पनि बेरुजु देखिएको छ । रासस

खाँडाचक्र नगरपालिकाका विद्यालय सञ्चालनमा

मान्मा । खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागाईंले जानकारी दिए । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । ‘नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ । जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,’ उनले भने,’ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।’ यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारी दिए । ‘जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,” उनले भने,’त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।’ विद्यालयमा स्यानीटाइजर र मास्क अनिवार्य गरिएको छ । ‘विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कुल गएर केही ज्ञान त सिक्न पाउँथे ।’ रासस

गाउँपालिका अध्यक्षलाई प्रश्न – हालसम्म के-कस्ता महत्वपूर्ण कार्य सम्पन्न गर्नुभयो ?

सानीभेरी गाउँपालिका कर्णाली प्रदेशअन्तर्गत रुकुम (पश्चिम) जिल्लामा अवस्थित गाउँपालिका हो । ११ ओटा वडा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका, पश्चिममा जाजरकोट जिल्ला, उत्तरमा आठविसकोट नगरपालिका तथा दक्षिणमा चौरजाहारी नगरपालिका र त्रिवेणी गाउँपालिका रहेको छ । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यस्तै स्थानीय तहको निर्वाचन भएको पनि ४ वर्ष बितिसकेको छ । ७ सय ५३ ओटा स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू चुनावको बेला गरेको बाचा र घोषणापत्रहरूप्रति पूरा प्रतिबद्ध छन् भने केही जनप्रतिनिधिले भोट माग्दा प्रयोग गरेको घोषणापत्र कागजमै सीमित राखे । गाउँगाउँमा सिंहदरबार पुग्छ भनेर आश गरेका आम सर्वसाधारणले सामान्य कामकाज पनि सम्बन्धित जिल्ला वा शहरमा नै पुग्नुपर्ने बाध्यता भने अझै टरेको छैन । यसैक्रममा, पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको आधारित अन्तर्वार्ता प्रस्तुत गरेका छौं । सर्वप्रथम कृषि क्षेत्रबाटै सुरु गरौं, तपाईंको गाउँपालिकाले कृषिको विकासतर्फ के–कसरी काम गर्दै आएको छ ? हामीले गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आइरहेका छौं । यहाँका धेरै नागरिकहरू कृषि पेसामा नै निर्भर छन् । कृषिमा आधारित व्यवसाय उपयुक्त हो भन्ने कुराको दीर्घकालीन सोच बनाएर काम गरेका छौं । गाउँपालिकाद्वारा सिँचाइ सम्बन्धी काम पनि भएको छ । कुन ठाउँमा कुन बाली उपयुक्त हुन्छ, सोही अनुरूप खेती गर्न कृषकलाई अनुदान सहयोग गरी कृषि खेतीतर्फ आकर्षित गरिरहेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा भारी लगानी गरेर स्थानीयवासीको जीवनस्तर उकास्न विभिन्न पकेट क्षेत्रसमेत छुट्याएकोे छ । पकेट क्षेत्र घोषण गरिएका ठाउँमा कृषि प्राविधिकहरू खेतीको अवस्था बुझ्न र समस्या परेको हल पनि गर्दै आएका छौं । अहिले कृषक खुशी देखिनुहुन्छ । कृषिको विकासबाट गाउँ पालिकावासीको आयआर्जनमा वृद्धि हुने हाम्रो अपेक्षा छ । विदेशबाट रोजगारी गुमाएर फर्किनेहरूका लागि गाउँपालिकाले कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि ल्याएको छ । पालिकामा कृषिको आत्मनिर्भर बलियो, उर्वर माटो, भौगोलिक विविधता उद्यमशीलताका लागि प्रशस्त सम्भावना छन् । पालिकामा मकै, दूधजन्य पदार्थहरू, तरकारी, दाल, फलफूल आदिको उत्पादन हुने गरेको छ । कृषकहरूलाई उचित सफाइ, ग्रेडिङ, भण्डारण र ढुवानीका लागि ज्ञान, सीप तथा सामग्री आवश्यक पालिकामा देखिन्छ । पालिकाको कृषि क्षेत्रमा अवसरभन्दा बढी चुनौती धेरै हुने गरेका छ । तथापी पनि पालिकामा कृषिका विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आएका छौं । यति मात्र होइन कृषकहरूलाई हामीले कृषि औजारका सामान पनि वितरण गर्दै आइरहेका छौं । हामी आइसक्दा कृषि क्षेत्रका योजना अघि बढाउँदा नागरिकमा सकारात्मक प्रभाव परेको छ । तर, पनि हामीले कृषि क्षेत्रको लागि जति काम गर्नु चाहेका थियौं त्यति काम चाहिँ हुन सकेको हो कि भन्ने पनि लाग्छ । यसका बाबजुद पनि हामीले कृषि क्षेत्रका काम पनि गर्दै आएका छौं । हामी कहाँ कृषि उपज हुन्छ । उत्पादन न्यून हुन्छ । किसानले जुन उत्पादन गरेको कुरालाई बजारीकरण गर्ने कुरामा हामी सचेत छौं । पछिल्लो समयमा पालिकामा कृषिमा कृषकको आकृषण बढ्दो नै छ । स्थानीय तहमा निर्वाचित भएको चार वर्षमा पुरा हुँदा के कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ? स्थानीय सरकार सञ्चालन भए पछि पालिकामा धेरै विकास निर्माणको कामहरू भएका छन् । जस अन्तर्गत स्थानीय सरकार नेतृत्व समालेको करिव ४ वर्ष पूरा भएको छ भने अन्तिम कार्यकालको दैउरानमा छौं । अहिलेको गाउँपालिकाको स्वरुप भने धेरै परिवर्तन भइसकेको छ । यो बिचमा पूर्वाधारको काम पनि धेरै भएका छन् । हामी निर्वाचित भएर आउँदा हाम्रो गाउँपालिकामा शिक्षा क्षेत्रको अवस्था निकै कमजोर थियो । शिक्षा क्षेत्रको परिवर्तन गर्नुपर्छ भनेर गाउँपालिका सुरुआतदेखि नै लागिपरेका थियौं । हाल हामीले सबैभन्दा उत्कृष्ट काम नै शैक्षिक क्षेत्रमा गरेका छौं । निर्वाचित भएर आइसकेपछि शिक्षा क्षेत्रको उन्नती र गुणस्तरको लागि विशेष जोड दिएका छौं । विद्यालयमा गुणस्तरीय शिक्षा र प्राविधिक ज्ञान कसरी विद्यार्थीलाई दिन सकिन्छ भन्नेतर्फ प्रयासरत छौं । लगानीको हिसाबले पनि हामीले शिक्षा क्षेत्रलाई धेरै बजेट छुट्याएका छौं । माध्यमिक विद्यालयहरू पालिकामा थिए तर, दरबन्दी थिएन । ती विद्यालयहरू हामीले दरबन्दी मिलाउने काम गरेका छौं । शिक्षा लागि भौतिक संरचना निर्माण गर्ने कार्य जारी छ । आधारभूत तहसम्मको सबै निःशुल्क बनाएका छौं । विद्यार्थी बढी भएको विद्यालयमा थप शिक्षकको व्यवस्था गरेका छौं । यसका साथै स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । गाउँपालिकाका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउन सफल भएका छौंं भने पालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकीको स्थापना गरेका छौं । गाउँ स्वास्थ्य इकाई, प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकलाई नजिकैबाट स्वास्थ्य सेवा दिएका छौं । गाउँपालिकामा ‘एक वडा एक सडक’ को अवधारण अगाडि बढाएर सडक निर्माणको कार्य गरेका छौं । समग्रमा भन्नुपर्दा गाउँपालिकासँग भएको सीमित साधन र स्रोतबाट गर्न सकिने कामहरू भएका छन् । यी उपलब्धिसहित खानेपानी, सिचाइ आदि सबै क्षेत्रमा उल्लेखिनिय काम भएका छन् । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । अहिले ती काम धेरै पुरा भइसकेका छन् । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखापरेको छ । मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । हामीले चुनाव अघि गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं । हामीले घोषणापत्रमा समसामयिक विषयलाई धेरै जसो समेटेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । यस्तै भन्दै गर्दा हामी र नागरिकले देखेको सपनाहरू सबै पुरा भए भन्ने होइन । हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ । हामीले गाउँपालिकामा जुन परिस्थिति आउँछ सोही अनुसार काम गरिराखेका छौं । शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रमा विशेष पहल गरिराखेका छौं । कतिपय पूरा पनि भएका छन् भने कति हुने क्रममा छन् । दोस्रो चरणको कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? कोभिडको दोस्रो लहर अत्यन्त घातक देखिएको छ भने हाल तेस्रो लहर आउने पनि हल्लाचलि रहेको छ । विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । दोस्रो चरणको प्रभाव परेसँगै बिपद् व्यवस्थापन समितिको आकस्मिक बैठकद्वारा कोभिड रोकथाम तथा निगरानी समूहको गठन गरी सम्पूर्ण गतिविधिहरू यसै समितिमार्फत गर्ने निर्णय गरियो । यस महामारीको रोकथाम र नियन्त्रण गर्नको लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यही रकमबाट नै महामारी नियन्त्रण गर्नमा खर्च गर्दै आएका पनि छौं । कोरोना महामारी सुरु भएसँगै म तथा मेरा सहकर्मी जनप्रतिनिधि सँगै नागरिकको घरआँगनमा पुगेका छौं । जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । पालिकामा कोभिडको धेरै ठुलो प्रभाव त परेको छैन तर, पनि आवश्यक तयारीचाहिँ गरेका छौं । अहिले हामीसँग पर्याप्त मात्रामा औषधि, उपचार उपकरण र अन्य स्वास्थ्य सामग्रीहरूको मौज्दात रहेको छ । कार्यकालको अन्तिम बजेट पनि ल्याइसक्नुभएको छ, यसपटक बजेटमा तपाईंहरुको प्राथमिकतामा के छ र के कस्ता नयाँ कार्यक्रमहरू समेट्नुभएको छ ? हामीले गाउँसभा सम्पन्न गर्यौं भने गाउँसभामार्फत नै बजेट विनियोजन गर्यौं । पूर्वाधार विकास, सामाजिक विकास, पर्यटनमा बजेट छुट्याएका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढंगले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं । कृषकहरूलाई उत्पादनतर्फ प्रेरित गरेका छौं भने आर्थिक विकासतर्फ पशुपालनका कामहरूलाई हामीले अगाडि राखेका छौं । सामाजिक विकासतर्फ युवा, बालबालिका, दलित, जनजाति, सिमान्तकृत, अपाङ्गता लगायतका क्षेत्रलाई समेत सम्बोधन हुने गरी विकासका योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौैं । कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्यमा केही बजेट छुट्याएका छौं । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौं । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार अनि कृषि तथा रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ भने आर्थिक वर्षमा कोभिड महामारीबाट पालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । जनताको आधारभूत कुरालाई पुरा गर्ने तरीकाले नै बजेट ल्याएका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नु भएको छ ? हाम्रो कार्यकाल एक वर्ष मात्र बाँकी छ । यो अवधिमा मुख्यगरी नमुना योग्य काम अगाडि बढाउने छौं । गाउँपालिकालाई अगाडि बढाउनको लागि आवधिक योजना बनाएका छौं भने उक्त योजनाको मध्यकालीन फजुल खर्च संरक्षणको निर्माण गरेका छौं । अधुरा कार्य अगाडि बढाइने छ । सडक जोडिन बाँकी रहेका वडामा सडक जोड्छौं । गुणात्मक शिक्षा दिने कार्यलाई प्राथमिकतामा राखेका छौं । जनताको आयस्तरमा वृद्धि गर्न नगदे बालीलाई प्राथमिकतामा राखिएको छ । जनताका आधारभूत कुराको पुरा गर्ने लक्ष्य राखेका छौं । युवा स्वरोजगार गाउँपालिकाले कसरी गरिरहेको छ ? हाम्रो पालिकाको मात्रा नभई देशको सबैभन्दा चुनौतीको रूपमा रहेको समस्या मध्ये बेरोजगारी पनि एक हो । बेरोजगारी समस्याका कारण दैनिक हजारौं युवाहरू विदेशिनुपर्ने बाध्यता र विवशता छ । हाम्रो पालिकाकोतर्फ बाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । पालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । युवालाई उद्यमशील विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । कतिपय युवाहरूलाई भने विकास निर्माणको काममा लगाएका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? म के भन्न चाहन्छु भने विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएको होइन बरु यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहीँ भनेजस्तो काम हुन सकिरहेको हुँदैन । तर, हामीले पालिकामा जति पनि विकास निर्माणको काम गर्यौं त्यो काम उपलब्धिमूलक नै छ भन्ने मलाई लाग्छ । पालिकामा विकास निर्माणको काम गर्न त अझै पनि बाँकी नै छ । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । काम गर्दै गर्दा चुनौती र अवसर सँगसँगै आउँछ । जति बढी चुनौती आयो त्यति नै अवसर आउँछ । त्यो चुनौतिमा र अप्ठ्यारोमा सबै जनताको साथ र सहयोग गरेकोमा आभार व्यक्त गर्न चाहन्छु । सधैंभरी सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु ।