काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरू निर्वाचित हुनुभन्दा अगाडि के गर्थे ?

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र ३२ वटा वडा छन् । जसमा विभिन्न पार्टीबाट वडा अध्यक्षहरु निर्वाचित भएका छन् । ६ वटा महानगरमध्ये काठमाडौं महानगरपालिका सबै भन्दा ठूलो महानगर पनि हो । संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१, असार १४ गते र असोज २ गते गरेर तीन चरणमा सम्पन्न भएको थियो । ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिहरूको ५ वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । तर, स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने राजनीतिक दलहरु सहमतिमा पुग्न सकिरहेका छैनन भने सरकारले पनि निर्वाचन घोषणा गरिसकेको अवस्था छैन । यसै सन्दर्भमा हामीले काठमाडौं महानगरभित्रका वडा अध्यक्षहरु वडा अध्यक्षमा निर्वाचित हुनुअघि के कस्तो कार्यमा संलग्न थिए भनेर यो सामग्री तयार पारेका छौं । काठमाडौं महानगरपालिकाको वडा अध्यक्ष बन्नको लागि राजनीतिक रुपमा सक्रिय व्यक्ति मात्रै सम्भव हुने स्थानीयहरु बताउँछन् । काठमाडौं महानगरभित्रका अधिकांश जनप्रतिनिधिहरू निर्वाचित हुनभन्दा अगाडि विकास निर्माणको काममा समन्वय गरिदिने विकासका योजनाहरू लिएर महानगरपालिका धाउने, जनताको काममा सहयोग गर्ने तथा राजनीतिक गतिविधिमा संलग्न हुने गरेको हाम्रो रिपोर्टिङले देखाएको छ । काठमाडौं महानगरपालिकाका वडा नं. १ वडा अध्यक्ष हुन् भरतलाल श्रेष्ठ । उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर वडा अध्यक्ष निर्वाचित भएका थिए । तर, श्रेष्ठ पूर्णकालिन राजनीतिक कार्यकर्ता भने होइनन् । नेपाली सेनाबाट अवकाश पाएका श्रेष्ठलाई एमालेले वडा अध्यक्षमा टिकट दिएको थियो । सेनाबाट अवकाश पाएपछि उनी एमालेको राजनीतिमा सक्रिय भएका थिए । वडा नं. २ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ हुन् । श्रेष्ठ पनि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । उनकी श्रीमती मिर्गाैलाको विरामी छन् । सोही कारण वडा नं. २ का वडा अध्यक्ष श्रेष्ठ मिर्गाैला पिडितहरुको लागि सहयोगका कार्यमा बढी खटिने गरेको समाजसेवी भएका स्थानीय बताउँछन् । उनी कलाकार पनि हुन् । वडा नं. ३ का वडा अध्यक्ष दीपक केसी हुन् । उनी नेकपा एमाले पार्टीबाट वडा अध्यक्षको रूपमा निर्वाचित भएका हुन् । स्थानीय तहको निर्वाचन हुन भन्दा अगाडि पनि केसी वडा अध्यक्ष नै थिए । अर्थात उनी पहिलादेखि नै राजनीतिक गतिविधिमा संलग्न थिए । वडा नम्बर ४ का अध्यक्ष मोहन विष्ट हुन् । निर्वाचित हुनुभन्दा पहिला पनि उनी राजनीतिको क्षेत्रमा नै अग्रसर थिए । विष्ट नेकपा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका थिए । वडा नं. ५ का वडा अध्यक्ष हुन् रमेश डंगोल । उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी भएका थिए । निर्वाचन अघि डंगोल राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय रुपमा लाग्ने गरेको स्थानीय बताउँछन् । दीपेन्द्र्र लामा वडा नं. ६ का वडा अध्यक्ष हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । लामा निर्वाचित हुनुभन्दा अगाडि बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष थिए । यस्तै, ७ नं. वडाका अध्यक्ष हुन् शुद्ध डंगोल । उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । तर, अहिले एमाले विभाजन भएपछि माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीतिर लागेका छन् । निर्वाचित हुनुभन्दा अगाडि पनि डंगोल वडा अध्यक्ष नै थिए । जनप्रतिनिधि नभएको बेलामा पनि उनी राजनैतिक प्रतिनिधि भएर काम गर्दै आएका थिए । यसै गरी दिनेश कुमार डंगोल वडा नं. ८ का वडा अध्यक्ष हुन् । उनी नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षको रूपमा निर्वाचित भएका थिए । वडा अध्यक्षको रुपमा निर्वाचित हुनु अगाडि उनी राजनैतिक क्षेत्रमा संलग्न थिए । रामकृष्ण जयखुु श्रेष्ठ ९ नं. का वडा अध्यक्ष हुन् । उनी नेकपा एमाले पार्टीबाट निर्वाचित भएका थिए । निर्वाचित हुन भन्दा अगाडी उनी खेलकुदको प्रशिक्षण दिने गर्दथे । वडा नं. १० का वडा अध्यक्ष हुन् रामकुमार केसी । उनी नेपाली कांग्रेसको तफैबाट उम्मेदवार बनी निर्वाचित भएका थिए । केसी निर्वाचित हुन भन्दा अगाडि खेलकुदका संयोजक थिए । वडा नं. ११ का वडा अध्यक्ष हुन् हिरालाल तण्डुकार । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । उनी सोभन्दा अघि पनि वडा अध्यक्ष नै थिए । उनी सो क्षेत्रका पुराना राजनीतिक कार्यकर्ता पनि हुन् । विकास डंगोल १२ नं. का वडा अध्यक्ष हुन् । उनी नेकपा एमाले पार्टीबाट निर्वाचित भएका थिए । उनी धेरै समय अगाडिदेखि राजनीति क्षेत्रमा नै काम गर्दै आएका थिए । वडा नं. १३ का वडा अध्यक्ष हुन् ध्रुव नारायण मानन्धर । वडा अध्यक्ष मानन्धर नेकपा एमाले पार्टीका हुन् । उनी पनि लामो समयमाबाट राजनीति क्षेत्रबाट अग्रसर भई वडा अध्यक्षको रूपमा निर्वाचित भएका हुन् । १४ नं. वडाका वडा अध्यक्ष शोभा सापकोटा हुन् । उनी पनि राजनैतिक क्षेत्रमा लामो समय देखि अग्रसर छिन् । अध्यक्ष सापकोटा नेकपा एमाले पार्टीकी हुन् । यस्तै, वडा नं. १५ का वडा अध्यक्ष हुन् ईंश्वरमान डंगोल । डंगोल महानगरका हालका प्रवक्त पनि हुन् । अध्यक्ष डंगोल निर्वाचित हुनुभन्दा अगाडि वडा अध्यक्ष नै थिए । उनी वडा अध्यक्ष एमाले पार्टीबाट भएका थिए । तर, पार्टी विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीतिर लागेका छन् । वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजाल हुन् । उनी पनि निर्वाचित हुनु भन्दा अगाडि राजनीति क्षेत्रमा नै अग्रसर थिए । उनी कांग्रेस पार्टीका हुन् । १७ नं. वडाका वडा अध्यक्ष हुन् नवीन मानन्धर । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । अध्यक्ष मानन्धर निर्वाचित हनुभन्दा अगाडि रेडक्रस काठमाडौं शाखाको मन्त्री थिए । अर्थात उनी सामाजिक सेवाको क्षेत्रमा सक्रिय थिए । वडा नं. १८ का वडा अध्यक्ष न्हुन्छेकाजी महर्जन हुन् । उनी निर्वाचित हुनुभन्दा अगाडि नेकपा एमालेका अध्यक्ष भएका थिए । अध्यक्ष महर्जन राजनीतिको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । वडा नं. १९ का वडा अध्यक्ष शशिलाल श्रेष्ठ थिए । उनको निधन भएको छ । उनको ठाउँमा मधुसुदन प्रधानले कार्यभार समालिरहेका छन् । प्रधानले वडा अध्यक्षको जिम्मा पाएको ४÷५ महिना भइसकेको छ । यस्तै, वडा नं. २० का वडा अध्यक्ष हुन् राजेन्द्र मानन्धर । अध्यक्ष मानन्धर नेपाली कांग्रेस पार्टीका हुन् । निर्वाचित हुनभन्दा अगाडि महानगरपालिका भित्र नै रहेर विकासका योजनामा सहयोग गर्ने र राजनैतिक क्षेत्रबाट अगाडि बढेका थिए । वडा नं. २१ का वडा अध्यक्ष हुन् उदय चुणामणि बज्राचार्य । उनी नेकपा एमाले पार्टीका हुन् । राजनैतिक क्षेत्रमा उनी लामो समयदेखि संक्रिय छन् । वडा नं. २२ का वडा अध्यक्ष हुन् चिनी काजी महर्जन । महर्जन नेकपा एमाले पार्टीका हुन् । निर्वाचित हुनुभन्दा अगाडि उनी पनि राजनीतिक तथा विकासका गतिविधिहरुमा संलग्न थिए । २३ नं. वडाका अध्यक्ष हुन् मचाराजा महर्जन । महर्जन नेकपा एमाले पार्टीका हुन् भने निर्वाचित हुनुभन्दा अगाडि उनी समाज सेवामा संलग्न थिए । २४ नं. वडा अध्यक्ष हुन् बालकृष्ण श्रेष्ठ, । उनी पनि निर्वाचित हुनु भन्दा अगाडि समाज सेवा गर्दै आएका थिए । उनी नेकपा एमाले पार्टीका हुन् । वडा नं. २५ का वडा अध्यक्ष हुन् निलकाजी शाक्य । उनी नेपाली कांग्रोस पार्टीबाट निर्वाचित भएका थिए । शाक्य गुर्जु पनि हुन् । उनी सेतो मछिन्द्रनाथको पुजारी पनि हुन् । अध्यक्ष शाक्य कलाकार पनि हुन् । २६ नं. वडाका अध्यक्ष हुन् ख्याम तिवारी । उनले विद्यार्थी राजनीतिबाट राजनैतिक यात्राको सुरु गरेका हुन् । अध्यक्ष तिवारी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । २७ का वडा अध्यक्ष हुन् चिनिया मान बज्राचार्य । बज्राचार्य नेकपा एमाले पार्टीका हुन् । निर्वाचित हुनुभन्दा अगाडि उनी राजनीतिक क्षेत्रमा नै संलग्न थिए । वडा नं. २८ का वडा अध्यक्ष हुन् भाइराम खड्गी । खड्गी नेपाली काँग्रेस पार्टीका हुन् । उनी निर्वाचित हुनुभन्दा अगाडि राजनीति तथा समाज सेवामा लागेका थिए । २९ नं. वडाका वडा अध्यक्ष हुन् कुश ढकाल । ढकाल नेपाली कांग्रोस पार्टीका हुन् । वडा अध्यक्ष हुनुभन्दा अगाडि उनी पनि सक्रिय रूपमा पनि राजनीतिमा लागेका थिए । ३० नं. का वडा अध्यक्ष हुन् दलबहादुर कार्की । कार्की निर्वाचित हुनभन्दा अगाडि पनि वडा अध्यक्ष नै थिए । कार्की नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनी विजयी भएका थिए । वडा नं. ३१ का वडा अध्यक्ष हुन् नारायण भण्डारी । यो वडा एक वडा एक प्रदेश निर्वाचन क्षेत्र भएको वडा पनि हो । अध्यक्ष भण्डारी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर विजयी भएका थिए । ३२ नं. का वडा अध्यक्ष हुन् नवराज पराजुली । पराजुली नेकपा एमाले पार्टीका हुन् । हालका उनी पार्टीको जिल्ला उपाध्यक्ष पनि हुन् । निर्वाचित हुनभन्दा अगाडि उनी समाज सेवामा संलग्न थिए ।

अनुगमन कार्यविधि बनाउन काठमाडौं महानगरले बनायाे ५ सदस्यीय समिति

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेकाे छ । अनुगमनको प्रक्रियालाई सरल, सहज, नतिजामुखी र व्यवस्थित गर्न कार्यविधि तयार गर्न उक्त समितिको गठन गरिएको महानगरले जनाएको छ । मंगलबार महानगरकी उपमेयर एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा निर्देशकहरु शिवराज अधिकारी (पीएचडी) बसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी रहेका छन् । बैठममा उपमेयर खड्गी श्रेष्ठले अनुगमनबाट पूर्वाधार, बजार, आर्थिक तथा सामाजिक क्षेत्रमा परिवर्तन देखिनु पर्ने बताइन् । यस्तै बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, अनुगमनको उद्देश्य स्पष्ट हुनु पर्ने बताउँदै मापन गर्न सकिने सूचक र अनुगमनपछिको मूल्याङ्कनबाट परेको प्रभाव हेर्न सकिने गरी काम गर्नुपर्ने बताए । पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी संघ संस्थाहरुले गर्ने कार्यक्रमहरु, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरको अनुगमन क्षेत्रमा पर्छन् । त्यस्तै जनजीवनलाई सहज बनाउन मुद्दा नपरी हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण, हस्तान्तरण, संरक्षण र उपयोग, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्था महानगरले गर्नुपर्ने अनुगमनका क्षेत्रहरु हुन् । यी क्षेत्रहरु हेर्न एउटै टोलीलाई सम्भव नभएकोले राजनीतिक र प्रशासनिक अनुगमन तथा विभागीय अनुगमनलाई व्यवस्थित गर्न कार्यविधि आवश्यक भएको महानगरले जनाएकाे छ । महानगरपालिकाले गत मंसिर १५ गते अनुगमनसँग सम्बन्धित विभागका प्रमुखहरुसँग छलफल गरेकाे थियो । महानगरले ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी गरिसकेको छ ।

कृषकलाई पेन्सन दिँदै बाँकेको नरैनापुर गाउँपालिका

राझाँ । व्यवसायिक भैँसीपालन गर्दै आएका नरैनापुर गाउँपालिका–५ मटेहिया निवासी बलियासार यादव गाउँपालिकाबाट कृषक पेन्सन पाउँदा दङ्ग भएका छ । ‘गाउँपालिकाले हामीलाई सम्झिएर भत्ता दिएकोमा धेरै खुसी लागेको छ’, ४९ भैँसी र पाँच गाईपालन गरी दूध बेचेर जिविकोपार्जन गर्दै आएका उनले भने,’अब कृषि तथा पशुपालन गर्न थप जाँगर आएको छ ।’ बाँकेको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न यादव सहित १२ कृषकलाई पेन्सन वितरण गरेको छ । कृषक पेन्सन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको छ महीनामा १२ जना कृषकलाई छनौट गरी जनही दुई हजारका दरले कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी प्रति किसान दुई हजारका दरले कृषक पेन्सन कार्यक्रम शुरु भएको हो । कृषक पेन्सन कार्यक्रमका लागि पहिलो वर्ष ६ जना व्यावसायिक पशुपालक कृषक र ६ तरकारी खेती गर्ने किसानलाई छनौट गरी कृषक पेन्सन कार्यक्रम वितरण गरिएको छ । कार्यक्रमले आगामी वर्ष नरैनापुरका किसानका बीचमा अझ प्रतिस्पर्धाको भावना उत्पन्न भई गाउँपालिकालाई नै कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । ‘गाउपालिकामा कृषि र पशुपालनको अपार सम्भावना छ’, उनले भने,’परम्परागत कृषि र पशुपालनमा विश्वास गर्दे आएका यहाँका किसानलाई आधुनिक कृषितर्फ आकर्षित गराउन पनि कृषक पेन्सन कार्यक्रम लागू गरिएको हो ।’ गाउँपालिकाको कृषि शाखाबाट छनौटमा पर्ने ६ जनामा सबै जना व्यावसायिक तरकारी खेती गर्दै आएका किसान परेका छन् । वडा नं. ५ मा १९ कठ्ठामा व्यावसायिक तकारी खेती गर्ने हस्मत अली साई, १४ कठ्ठामा तरकारी लाएका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नं ४ दौलतपुरका धनविर थारु, १० कठ्ठामा तरकारी खेती गर्ने वडा नं. २ निवासी रामसुरत मौर्य, सोही वडाकी आरती देवी मौर्य र ५ कठ्ठामा तरकारी खेती गर्दै आएकी वडा नं. १ की कमला तिवारीले कृषक पेन्सन प्राप्त गरेकी छिन् । यसैगरी पशुपालक किसानबाट दुई हजार कुखुरा पालन गर्दै आएका वडानं. ६ निवासी अमरलाल मौर्य, ५ गाई र ४९ वटा भैँसी पालेका वडा नं. ५ का वलियासार यादव र वडा नं. २ का जहाँ इफरान अहमद कृषक पेन्सनमा छनौटमा परेका छन् । वडा नं. ५ का हरिशङ्कर मुराउ, वडा नं. ४ का छोटेलाल राढ र वडा नं. ५ का रामसुमत यादवले पनि कृषक पेन्सन प्राप्त गरेका छन् । व्यावसायिक कृषि कर्म गर्ने तथा पशुपालनलाइ व्यवसाय बनाउनेलाई आधार बनाएर किसान छनौट गरी कृषक पेन्सन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । रासस