कामपा–५ मा एमालेका प्रजापति विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका–५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन् । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन् । प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाएका थिए । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएकाे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।।
रेनु दाहाल १६८४ मतले अगाडि
चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ६८४ पुगेको छ । दाहाल नौ हजार ९२४ मतका साथ अग्रस्थानमा छिन् भने सुवेदी आठ हजार २४० मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार ४८८ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९२० र राप्रपाका हिमला गुरुङले छ हजार ७२२ मत प्राप्त गरेका छन् । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ ।
चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौं । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरिन् । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख थिइन् । त्यसैगरी उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुनुभयो भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरिन् । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गरे भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गरे । उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गरिन् । त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन् ।