कीर्तिपुर नगरपालिकामा उद्यमीहरूको लागि कोसेली घर स्थापना
काठमाडौं । कीर्तिपुर नगरपालिकाले कोसेली घर स्थापना गरेको छ । नगरपालिकाले कीर्तिपुर क्षेत्र भित्रका उद्यमीहरूको उत्पादन प्रवर्द्धन एवम् बजारीकरण गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख रमेश महर्जनले मङ्गलवार उक्त कोसेली घरको उद्घाटन गरेका थिए । वडा नं. १०, कीर्तिपुर कभर्ड हल नजिकै १२ वटा सटर निकाली बनाएको स्थानमा नगरपालिकाले प्रत्येक वडालाई एक/एक वटा सटर निःशुल्क जिम्मा दिएकाे छ । नगरपालिकाका प्रत्येक वडाले पनि त्यहाँ रहेका महिला समूहहरू उक्त सटर जिम्मा दिएका छन् । नगरपालिकाले विशेष गरी महिलाहरूलाई लक्षित गरी महिलाहरूलाई उद्यमी बनाउन विभिन्न तालिमहरू दिइरहेकोमा उक्त तालिमबाट प्राप्त सिपलाई कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न वस्तुहरू उत्पादन गरिरहेको छ । ती वस्तुहरूलाई नै बजारीकरण गर्नका लागि नगरपालिकाले उक्त स्थान उपलब्ध गराएको हो । नगरपालिकाले महिलाहरूद्वारा उत्पादित वस्तुहरूलाई उक्त कोसेली घरमा राखी विक्री वितरण गरेर आयआर्जन गर्ने बताएकाे छ ।
पालिकाका घरलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेका छौं – अध्यक्ष पाइजा
मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएको छ । संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । गण्डकी प्रदेश अन्तर्गतको बागलुङ जिल्लामा अवस्थित वडिगाड गाउँपालिका हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जसअनुसार स्थानीय तहहरू आफ्ना एकल अधिकारहरूको कार्यान्वयन गर्न आफैं कानुन बनाई स्थानीय साशन आफैं सञ्चालन गर्ने वातावरण निर्माण भएको छ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधीहरुवाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीता र रोजगारी प्रवर्द्धनमा पालिकाको नीति, पूर्वाधार विकासका लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : स्थानीय सरकार बनेपछि वडिगाड गाउँपालिकामा पूर्वाधारको क्षेत्रमा के–के काम भए ? पालिकामा हामीले पूर्वाधारको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं । पालिकामा १० ओटा वडा छन् । ती प्रत्येक वडामा सडकको ट्र्याक खुलाएर सडकको पहुँच पुर्याएका छौं । अझै यी सडकलाई व्यवस्थित बनाउनका लागि धेरै काम गर्नुपर्ने छ । पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजना निर्माणले तीव्रता पाएको छ । कतिपय योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य क्षेत्रको कुरा गर्दा पालिकामा हामीले प्रत्येक वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । स्वास्थ्य भवन निर्माणको काम पनि अगाडि बढाएका छौं । वडा नं. ७ र ८ मा स्वास्थ्य भवन बनाउनको लागि केन्द्र सरकारसँग बजेटको माग गरेका छौं । वडा नं. ३ र ९ को स्वास्थ्य भवन निर्माण टेन्डर प्रक्रियाबाट अगाडि बढाएका छौं । यी २ ओटा वडामा १ करोड ३५ लाख रुपैयाँ बराबरको बजेटमा भवन निर्माणको काम अगाडि बढाएका हौं । अन्य वडामा पनि स्वास्थ्य भवन निर्माणको काम अघि बढेको छ । १० ओटै वडा कार्यालय भवन निर्माणको काम गत वर्षदेखि सुचारु छ । केही वडा कार्यालयको भवन बन्दैछन् भने केही चाहिँ अन्तिम चरणमा पुगेका छन् । ६ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ भने भवन निर्माणको काम अन्तिम चरणमा पनि पुगेको छ । पर्यटन क्षेत्रमा पनि हामीले धेरै काम गरेका छौं । ‘एक पालिका एक खेल मैदान’ को अवधारणा अन्तर्गत हामीले जलजलामा खेल मैदान पनि निर्माण गरेका छौं । पालिकामा १ सय ५० जना अट्ने कभर्ड हलको पनि स्थापना गरेका छौं । पालिकामा ‘एक घर एक धारा’ को अभियान सञ्चालन गर्दै प्रत्येक घरमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हलसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न गाउँपालिकाकाले विशेष प्राथमिकताको साथ कृषि र पशुपालनको कार्यक्रमहरू अगाडि बढाएको छ ।कृषिको आधुनिकीकरण, विविधीकरण र व्यपारिकरणको कुरा पनि हामीले जोड दिएका छौं । कृषि क्षेत्रको रूपान्तरण गर्न गाउँपालिका लागेको छ । पालिकाले ‘एक घर १० बोट’ को कार्यक्रम पनि सञ्चालन गरेको छ । पशुपालन र कृषि फार्महरूलाई अनुदान दिने र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि रहेको छ । कृषिमा युवालाई परिचालन गर्ने र सरकारले दिने सेवा सुविधा पनि उनीहरूले स्थानीय तहबाटै पाउन भनेर काम गरिरहेका छौं । पालिकामा खेतीतर्फ धेरैको आकर्षण बढ्दै गएको छ भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । गाउँमा समूह, सहकारी तथा व्यक्तिगत लगानीमा कृषिको व्यवसायिकतामा यहाँको कृषकहरू पछिल्लो समय आकर्षित हुँदै आएका छन् । कृषि सहकारीको साझेदारीमा काम गरेका छौं भने स्थानीयस्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । पालिकामा कृषि समूहको गठनपनि भएको छ । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका छौं ।मलाई के लाग्छ भने व्यक्ति समाज वा देश समृद्ध बन्ने हो भने व्यपार नै हो र नेपालमा व्यापार बढाउने सबैभन्दा मुख्य र सम्भाव्य क्षेत्र भनेको कृषि नै हो । त्यसैले हामीले कृषि क्षेत्रमा पनि राम्रो नै काम गरेको अवस्था छ । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? मुलुक कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा हाम्रो पालिका पनि यस महामारीबाट अछुतो रहन सेकेन । कोभिड–१९ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हाम्रो गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौैं । कोरोना महामारीको सुरुवातसँगै क्वारेन्टिन र आइसोलेसन बनाउने कामलाई विशेष प्राथमिकता र जनचेतना जगाउने काम समेत गरेका छौं । यस महामीरको रोकथाम र नियन्त्रणको लागि जनप्रतिनिधिहरू, स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरू निकै महत्वर्पुण भूमिका छ । कोभिडबाट पालिकाका धेरै नागरिकहरूसंक्रमित भएका छन् । कोरोना संक्रमणको कारण पालिकामा हालसम्म १८ जनाको मृत्यु भएको छ । पालिकामा हामीले १२ बेडको आइसोलेसन पनि स्थापना गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आएको छ त ? लगानीको हिसाबले शैक्षिक क्षेत्रमा नै धेरै बजेट छुट्याएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । हाल कोभिडको कारणले पालिकाका शैक्षिक क्षेत्रहरू सबै बन्द भएका छन् । भौगोलिक बिकटता र दुर्गम भएको कारण हामीले शैक्षिक क्षेत्रमा सोचेको जस्तो काम गर्न सकेका छैनौं । विद्यालयमा विद्यार्थी संख्या १०, २० र ५० जना हुने गरेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । तर, शिक्षा क्षेत्रमा सोचे जस्तो नतिजा चाहिँ मिल्न सकेको छैन । सरकारी विद्यालयमा गुणस्तर शिक्षा नभएको भन्दै बसाइसराई गरेर पनि धेरै मानिसहरू गएका छन् । निजी विद्यालयमा विद्यार्थीको चाप बढि हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुने गरेको छ । सामुदाई विद्यालयका शिक्षकले पनि राम्रो काम गर्न नसकेर होल पालिकको शिक्षा क्षेत्रमा राम्रो प्रगति हुन नसकेको । पालिकाले शिक्षा क्षेत्रलाई गुणस्तर बनाउनु पर्छ भनेर हामी अगाडि बढेका छौं । कार्यकालको अन्तिम बजेट पनि ल्याइसक्नुभएको छ, यसपटक बजेटमा तपाईंहरुको प्राथमिकतामा के छ र के कस्ता नयाँ कार्यक्रमहरू समेट्नुभएको छ ? बजेटको प्राथमिकतामा कृषि विकास हो । पूर्वाधारको विकासमा हामीले ध्यान दिएका छौं । सडक कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्यमा जोड दिने हाम्रो योजना छ । १० वटै वडाको भवन निर्माण गर्ने योजना छ । यी वडाको भवन निर्माणको लागि निःशुल्क जग्गा प्राप्त भएको छ । गाउँपालिकाको भवन निर्माणको लागि १० रोपनी निःशुल्क जग्गा प्राप्त गरेका छौं । स्वास्थ्यचौकी बनाएर स्वास्थ्यको प्रत्याभूति दिलाउँदैछौं। प्रदेश र संघबाट आउने अनुदानलाई विभिन्न क्षेत्रमा विनियोजन गरेर हामीले अघि बढेका छौं । सडक निर्माणको कामलाई पनि अगाडि सारेका छौं । नयाँ कार्यक्रम अन्तर्गत पालिकाका घरलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेका छौं । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान सुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ पनि नहुने हुँदा जस्तापाताको छानो सुरक्षित हुने देखिएको छ । एक वर्ष भित्र खरको छाना मुक्त पालिका बनाउने अभियानमा २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।सबै भन्दा धेरै लालीगुराँस हाम्रो पालिकामा पाईन्छ । लालीगुराँसको संरक्षण गरी पर्यटनको विकास गर्ने पनि हाम्रो लक्ष्य छ । आधुनिक र व्यावसायिक कृषि, पर्यटन विकास, भौतिक पूर्वाधार विकास, रोजगारका अवसरहरूको सिर्जना र स्वास्थ्य क्षेत्रको विकासमा जोडदिने बजेट प्रस्तुत गरेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नु भएको छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । कृषि र पशुपालन क्षेत्रको विकास गर्ने हो । फलामको खानीको संरक्षण गरी उत्खनन गर्न सकियो भने पनि राम्रो हुन्छ । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ ।जसमध्ये हाम्रो गाउँपालिकाले खानेपानी, स्थानीय रोजगारीलाई प्राथमिकता, सडक मर्मत, उपभोक्ता सचेतना लगायत थुप्रै कामहरू गर्ने योजना छ ।शिक्षाको गुणस्तरलाई माथि उकास्ने पनि योजना छ । विकास निर्माणको कामलाई तीव्रता दिई बसाईंसरईं रोक्ने पनि योजना छ । विद्युतिय क्षेत्रको कामलाई पनि प्राथमिकता दिने हो । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । परम्परागत प्रविधिको अन्त्य गर्दै आधुनिक प्रविधिको विकास गर्नुपर्छ भन्न चान्छु । अनि, यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।
पालिकामा हामीले १५ बेडको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएका छौं – अध्यक्ष रानासँगको कुराकानी
बौदीकाली गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत नवलपरासी जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका भौगोलिक रूपमा दुर्गम भएपनि प्राकृतिक स्रोतसाधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यो गाउँपालिकाको पूर्वतर्फ बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका, पश्चिममा पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ । मुलुक संघीय संरचनामा गएसँगै जनताको नजिक रहने सघीय व्यवस्थाको मर्म अनुरूपका प्रदेश र स्थानीय तह छन् । अझ जनताको सुखःदुखसँग प्रत्यक्ष सम्बोधन गर्ने स्थानीय तहका ७ सय ५३ सरकार गठन भई करिब ४ वर्षदेखि सक्रिय छन् । यसैक्रममा, निर्वाचित जनप्रतिनिधीहरुवाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी । गाउँपालिकाको अध्यक्ष भएर आएपछि के–कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ? पालिकामा पहिलाको तुलनामा हाल धेरै परिवर्तन आएको छ । हाम्रो पालिका भौगोलिक रूपमा विकट र दुर्गम छ । हामी निर्वाचित भएर आएपछि पालिकामा धेरै विकास निर्माणको काम गरे जस्तो लाग्छ । विकास निर्माणको काम गरेर सकिँदो पनि रहेनछ । पालिकाको स्रोत र साधनले भ्याए जति विकास निर्माणको काम गरेका नै छौं । कृषिको विकास र सडक सबै वडामा पुर्याउने मेरो लक्ष्य थियो । त्यही अनुरूप काम पनि भएको छ तर, हिउँद भरी सडकको निर्माण गर्यो बर्खामा सबै भत्किन्छ । हाल पालिकामा पहिरोका कारण धेरै सडकहरू क्षतविक्षत भएका छन् । प्रदेश र केन्द्र सरकारले पनि भौगोलिक अवस्था हेरेर बजेट विनियोजन गर्नु पर्छ भन्ने मेरो भनाई हो । सडक सञ्जाल त प्रत्येक वडामा पुर्याएका छौं अहिले बाढिपहिरोका कारण कुनै पनि सडक सञ्चालन हुने अवस्था छैन । हामीले कार्यपालिकाको बैठक बसेर दशैंसम्म सबै सडकको मर्मत गर्ने भनेका छौं । हामीले भौतिक पूर्वाधार, सामाजिक विकास आदि सबै कामलाई सन्तुलित रूपमा लिएर अगाडि बढेका छौं । मानव विकास गर्ने, दक्ष जनशक्ति निर्माण गरी रोजगारी सिर्जना गर्ने र जीवनको गुणस्तर बढाउने भौतिक तथा मानवीय विकासका पूर्वाधारहरूका काम गरेका छौं । पालिकाले स्वास्थ्य र शैक्षिक क्षेत्रमा हालसम्म गरेका उपलब्धिबारे संक्षेपमा बताइदिनुस् न पालिकामा शैक्षिक र स्वास्थ्य क्षेत्रतर्फ पनि धेरै कामहरू भएको छ । शिक्षाको क्षेत्रमा हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड दिएका छौं । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण गरेका छौं । कोभिडको कारण शैक्षिक क्षेत्र पनि प्रभावित बन्दै गएको छ । हामीले अब व्यवसायिक शिक्षा विद्यार्थीलाई दिनुपर्छ भन्ने तर्फ जोड दिएका छौं । पालिकाका विद्यार्थीहरूको भविष्य सुनिश्चित छ भने शिक्षा विकासका लागि गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई छात्रवृत्ती प्रदान गर्ने गरेका छौं । स्वास्थ्य क्षेत्र तर्फ कुरा गर्दा पालिकाकामा हामीले १५ बेडको अस्पताल शिलान्यास पनि गरेका छौं । यस अस्पताललाई निर्माणको प्रत्रिया अगाडि बढाएका छौं । स्वास्थ्य क्षेत्रलाई पनि हामीले प्राथमिकतामा राखेका अगाडि बढेका छौं । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामीले विशेष जोड दिइरहेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौं । कर्मचारी र जनप्रतिनिधिहरू बिचको सम्बन्ध कस्तो छ नि ? कर्मचारी र जनप्रतिनिधि बिचको सम्बन्ध सुमधुर र गाडा नै छ । सम्बन्ध राम्रो भएको कारण विकास निर्माणको कामले पनि तीव्रता लिएको छ । पालिकाका कुनै पनि सेवा प्रवाहमा समस्या रहेको छैन । जनताको सेवाको लागि तत्पर रहनको लागि कर्मचारीहरूलाई आग्रह गरेको छु भने कर्मचारी पनि जनताको सेवाको लागि तत्पर हुनुहुन्छ । कर्मचारीको सहयोगमा नै विकास निर्माणको काम अगाडी बढाउने हो । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हुन्छ । अहिलेसम्म जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो नै छ । अनि नागरिकहरूबाट चाहिँ कस्ता खाले प्रतिकृयाहरु पाइरहनुभएको छ त ? जनप्रतिनिधिहरुले जति काम गरेपनि जस नपाउने रहेछ । विकास निर्माणको काममा र कतिपय कुरामा नागरिकको असन्तुष्ट छन् । जनताले हामीबाट धेरै कुराको अपेक्षा राखेका छन् । भौतिक पूर्वाधारसम्बन्धी पनि धेरै चाहना छन् । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । सामाजिक र समावेशी ढङ्गबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छांै । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर धेरै भन्दा धेरै मागलाई संबोधन गर्ने प्रयास गरिनै रहेका छौं । पालिकाले राम्रो काम गर्यो भने नागरिकबाट पनि राम्रै प्रतिकृया पाउने गरेका छौं । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा कस्तो काम गरेको छ बताईदिनुहोस् न हाम्रो पालिकाको समृद्धि अत्यन्त महत्वपूर्ण आधार कृषि क्षेत्रलाई लिन सकिन्छ । कृषिमा अनेक समस्या र चुनौती रहेको सन्दर्भमा ती चुनौतीको समाधान गरी कृषिको व्यवसायिकरण, सहकारीकरण र दिगो कृषि विकासको योजना बनाई पालिकाले कृषि विकासको रणनीति र कृषि क्रान्तिको कार्यक्रम अगाडि बढाएकाछौं । पालिकामा एभोकाडो खेतीको सुरुवात पनि हुन थालेको छ । पालिकामा फलफूलमध्येको सबैभन्दा धेरै सुन्तला खेती हुने गरेको छ । पहाडी पर्यावरण र भौगोलिक—वातावरणीय विविधताका कारण हामीलाई तुलनात्मक लाभका कृषि उत्पादन गर्न सक्ने वातावरण छ । किसानहरूले नै गोलभेँडा, च्याउ, तरकारी वा अन्य खेती लगाउँदै आएका छन् । किसानले यदि कृषिबाट आम्दानी, रोजगारी र समृद्धि चाहन्छन् भने उनीहरू व्यवसायिक रूपमा खेती गर्नुपर्छ आवश्यक छ । कृषिको व्यवसायिकरण, यान्त्रीकरण र औद्योगीकरणतर्फ काम गर्न अझै बाँकी नै छ । पालिकामा अदुवा खेती धेरै हुने गरेको छ । कृषिलाई दिगो, प्राङगारिक, किसानमैत्री बनाउने र परनिर्भरता हटाउनेतर्फ हामी लागेका छौं । पालिकामा कृषिका विभिन्न कार्यत्रलमहरु पनि सञ्चालन हुदै आएको छ । यहाँको आवश्यकता र हावापानी अनुसार कृषि विकासको कामहरू भएका छन् भने कृषिलाई आधुनिकिकरण गर्नमा विशेष जोड दिएका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नु भएको छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । यस वर्ष म लगायत गाउँपालिकाले देश र जनताको सेवामा निस्स्वार्थ भावले सकारात्मक सोचका साथ कार्यसम्पादन गर्ने लक्ष्य लिएका छौं । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरूबाट लाभ लिइरहन सकुन् भन्ने चाहना छ । हामीले पालिका स्तरको योजना तयार पारेका छौं । यो योजना पुरा गर्नमा हामीले विशेष जोड दिएका छौं । हामीले दीर्घकालीन योजनाहरूको सुरुवात गरेका छौं भने कतिपय योजनाको भने हामी अन्तिम चरणमा पुगिसकेका छौं । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं । सडक निर्माण भए पछि सबै कुराको विकास हुने रहेछ त्यसैले बाढिपहिरोले क्षतविक्षत गरेका सडकको मर्मत गर्ने पनि योजना छ । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट हाम्रो गाउँपालिकामा पनि अछुतो रहन सकेन । कोरोना महामारीको सुरुवातसँगै क्वारेन्टिन र आइसोलेसन बनाउने कामलाई विशेष प्राथमिकता र जनचेतना जगाउने काम समेत गरेका छौं । यस महामीरको रोकथाम र नियन्त्रणको लागि जनप्रतिनिधिहरू, स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरू निकै महत्वर्पुण भूमिका छ । बाहिरी जिल्ला वा विदेशबाट पालिकामा प्रवेश गर्नेहरूलाई परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि पालिकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । कोरोनाको संक्रमण बढ्दै जदाँ हामीले होम आइसोलेसनलाई प्राथमिकता दिएका थियौं । पालिकामा एम्बुलेन्स तयारी अवस्थामा राखी सिकिस्त बिरामीहरूलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाएका छौं ।अप्ठ्यारो भएको अवस्थामा त्यही एम्बुलेन्समार्फत अस्पताल पुर्याउने व्यवस्था गरिन्छ । लक्षण देखिएका तथा शङ्कास्पद सबैको परीक्षण निःशुल्क गर्दै आएका छौं । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । नागरिकको धेरै भन्दा धेरै अपेक्षा रहेको छ र त्यो अपेक्षा अनुसार हामी जनप्रतिनिधिले काम गर्ने प्रयत्न गरेका छौं । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । सडक निर्माणको कुरामा पनि हामीले जोड दिइरहेका छौं । गाउँपालिकालाई समृद्ध बनाउनको लागि नागरिकको पनि ठुलो भूमिका रहेको छ । अनि, यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।