नुवाकोटका चार पालिकामा कांग्रेस र एकमा एमाले विजयी

नुवाकोट । नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् । नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याएका छन् । आशा तामाङ अध्यक्षमा पुनः दोहोरिएकी छिन् । यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता तामाङले तीन हजार ७३१ मत ल्याएर निर्वाचित भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गामाया तामाङ दुई हजार ४२ मत ल्याएकी छिन् । त्यस्तै सोही गाउँपालिकको वडा नं १ मा कांग्रेसका जीमाबहादुर तामाङ, वडा नं २ मा नेकपा एमालेका सन्तवीर तामाङ, वडा नं ३ मा कांग्रेसका हरिबहादुर तामाङ, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ र वडा नं ५ मा नेपाली कांग्रेसका जीतबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसका मन्जु बुढाथोकीले तीन हजार २०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गा आचार्यले दुई हजार ९३२ मत ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित तामाङ र बुढाथोकी दुवैले दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । सूर्यगढीको वडा नं १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, वडा नं २ मा कांग्रेसका दीपक अधिकारी, वडा नं ३ मा एमालेका पिङ्गलबहादुर थापामगर, वडा नं ४ मा नेपाली कांग्रेसका रामशरण राई र वडा नं ५ मा नेपाली कांग्रेसकै अच्युतराज ढकाल अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तामाङले तीन हजार २४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार ५१८ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी भएकी छिन् । उनले तीन हजार तीन सय ९७ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याएका हुन् । यसैगरी सो गाउँपालिकाको वडा नं १ मा कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् । यस्तै, तारकेश्वर गाउँपालिकामा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले तीन हजार ३४१ मत ल्याएका छन् । वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए । यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमालले चार चार ६५८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोपिता भट्टले तीन हजार ३९२ मत ल्याएकी छिन् । यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा एसबीच गठबन्धन भएको थियो । वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका चक्रबहादुर तामाङ, वडा नं २ मा एमालेका शिव पनेरु, वडा नं ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, वडा नं ४ मा एमालेका हरिबहादुर पौडेल, वडा नं ५ मा कांग्रेसका अशोक तामाङ र वडा नं ६ एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए । यसैगरी किस्पाङको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी भएका छन् । उनले तीन हजार ६३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निटकतम प्रतिद्वन्द्वी कांग्रेसका छत्रबहादुर लामाले तीन हजार ४५२ मत ल्याएका छन् । लामा यसअघि किस्पाङको अध्यक्ष थिए । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपानेले तीन हजार ७१२ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीलकुमारी मोक्तानले तीन हजार १७७ मत ल्याएका छन् । किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । किस्पाङको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका पशुपति घले, वडा नं १ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, वडा नं ३ मा माओवादी केन्द्रका सुरेन्द्र तामाङ, वडा नं ४ कांग्रेसका विनोद तामाङ र वडा नं ५ मा कांग्रेसकै प्रकाश तामाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा मत गणना भइरहेको छ । रासस

विजयभन्दा रेनु २२० मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । रेनु २२० मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छिन् । रेनुले ६ हजार ६७२ मत प्राप्त गर्दा विजयले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।

एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

महोत्तरी । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई÷तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, ‘ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो चिह्न बढ्यो । अब दुई मतमात्र गन्न बाँकी छ’, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, ‘ल जेब्राको एक।’ वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ । ब्यग्रता बढ्दैछ, सम्बन्धित उम्मेदवार र उमेद्वारका गणना प्रतिनिधिको । ‘ल, यो पनि वडाध्यक्षमा जेब्राको’ कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो। हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी भए । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पु¥यायो । हमाल ५०७ मै अडे । एकै मतले विजयी ! जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतोजस्तै अन्य दुई पनि छन् । बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पारे । कोइरीले ७२६ र यादवले ७२७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो । यसैगरी गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी हुन् । उनी ३६६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य हुनप¥यो । त्यहाँ पनि एकै मतले विजयी ! एकै मतले विजयी भएका तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु’, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भने । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाएका छन् । निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उहाँ आउनुभएको भए त…’ भन्ने पनि भेटिएका छन् । सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । ‘जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि !’ बर्दिबास–७ की मतदाता मुना खत्रीले भने, ‘एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।’ जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ । मतगणना जारी रहेका स्थानीयतहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । ‘अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्’, बर्दिवास–१४ का मतदाता सुकन महतोले भने, ‘जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि ! मलाईचैँ अझै एकमतले रन्काइरहेको छ ।’