नमोबुद्ध नगरपालिकामा ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने, ‘आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।” उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए । नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो । नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।’ नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ । रासस
गल्याङ नगरपालिकद्वारा किसानलाई १९ लाख अनुदान वितरण
स्याङ्जा । गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई १९ लाख ५७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको । नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ । ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर १५ का दरले ११ लाख ८६ हजार ५७५ वितरण गरिएको छ भने गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना किसानलाई जनही ७२ हजारका दरले सात लाख १४ हजार वितरण गरिएको छ । नगरप्रमुख भुपराज अधिकारीले नगरभित्रका किसान आत्मनिर्भर बन्दै गएको बताए । नगप्रमुख अधिकारीले भने, ‘नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेशाप्रति आकर्षित गरेको छ ।’ यसबाट किसान आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ । नगरप्रमुख अधिकारीले अनुदानको व्यवस्थाले किसान धेरै उत्साहित भएकोले पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत् राख्ने समेत बताए । कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्धन गर्ने कार्यमा किसान उत्साहित भएर लागेकोले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । किसान टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले जानकारी दिए । अर्यालका अनुसार रानाले प्रतिलिटर १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ पाएका छन् । यसैगरी रानाले गाई पकेटलागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरेबापत ४२ हजार अनुदान समेत प्राप्त गरेका छन् । नगरपालिकाको यो कार्यक्रमले कृषिमा लाग्ने किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुगेको छ । रासस
फिदिम नगरपालिकाको वित्तीय प्रगति ७७ प्रतिशत
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको समीक्षात्मक प्रतिवेदनअनुसार पुँजीगत खर्च अपेक्षित हुन नसक्दा वित्तीय प्रगति ७७ प्रतिशतमा सीमित भएको हो । गत आवमा नगरपालिकामा चालू र पुँजीगततर्फ गरी कूल ९६७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ९०५ वटा सम्पन्न भएका हुन् । स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि ९६ करोड ७३ लाख ११ हजार ५०९ बजेट विनियोजन भएकामा ७४ करोड ८७ लाख ७३ हजार ५८४ खर्च भएको हो । नगरपालिकामा चालूतर्फ ३४३ योजना तथा कार्यक्रममा १६ करोड ५३ लाख ६० हजार बजेट स्वीकृत भएको थियो । जसमा ३३० योजना तथा कार्यक्रम पूरा हुँदा ११ करोड ७५ लाख ४० हजार खर्च भएको छ । चालूतर्फका योजना र कार्यक्रममा ९६ प्रतिशत भौतिक प्रगति र ७१ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगर प्रमुख ओनाहाङ नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जारी गरेकाे प्रतिवेदनमा उल्लेख छ । यस्तै पुँजीगततर्फ ६२४ योजना तथा कार्यक्रममा ८० करोड १९ लाख ५१ हजार बजेट स्वीकृत भएको थियो । जसमा ५७५ योजना तथा कार्यक्रम सम्पन्न हुँदा ६३ करोड १२ लाख २२ हजार खर्च भएको छ । पुँजीगततर्फका योजना र कार्यक्रममा ९२ प्रतिशत भौतिक प्रगति र ७९ प्रतिशत वित्तीय प्रगति भएको प्रतिवेदनमा जनाइएको छ । गत आवमा फिदिम नगरपालिकामा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रका ३६८ योजना तथा कार्यक्रम स्वीकृत भएकामा ३४७ सम्पन्न भएका छन् । सामाजिक क्षेत्रका योजना तथा कार्यक्रममा भौतिक र वित्तीय प्रगति समान ९० प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फका २३४ योजना तथा कार्यक्रम स्वीकृत भएकामा २२६ वटा सम्पन्न भएका छन् । भौतिक पूर्वाधार विकासतर्फ फिदिम नगरपालिकाले ९७ प्रतिशत भौतिक प्रगति गरे तापनि वित्तीय प्रगति ५८ प्रतिशतमा सीमित भएको छ । कोभिड–१९ को महामारीका कारण धेरै योजनाको काम शुरु भए पनि सम्पन्न नहुँदा वित्तीय प्रगति निकै कमजोर देखिएको हो । यस्तै आर्थिक विकासतर्फ २१५ योजना तथा कार्यक्रम स्वीकृत भएकामा १९६ वटा सम्पन्न भएका छन् । जसमा भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत हासिल भएको प्रतिवेदनमा जनाइएको छ । सदरमुकामसमेत रहेको जिल्लाको एकमात्रै नगरपालिकाले समेत पूर्वाधार विकासमा यथेष्ट प्रगति हासिल गर्न नसकेको हो । विगत लामो समय तत्कालीन जिल्ला विकास समितिमा काम गर्नुभएका फिदिम नगरपालिकाका इञ्जिनीयर प्रेम काफ्लेका अनुसार पूर्वाधार योजना पूरा गर्न नीतिगत, संरचनागत तथा प्राविधिक जटिलता धेरै हुने गरेका छन् । ‘फिदिम नगरपालिकासँगै भनेजति प्राविधिक जनशक्ति छैनन्’, काफ्लेले भने, ‘आर्थिक वर्षको बीचमा योजना थप गर्ने कार्यले पूर्वाधारका योजना सञ्चालनमा झनै समस्या आउने गरेको छ ।’ प्राविधिकलाई जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ताबाट उचित सहयोग प्राप्त नहुने, स्रोतसाधनको अभाव हुनेजस्ता समस्या समेत देखिने गरेका छन् । विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाइ यथेष्ट भौतिक तथा वित्तीय प्रगति हाँसिल गर्न गाउँ/नगरसभाबाट पारित भएका योजनालाई जस्ताको तस्तै कार्यान्वयन गर्न इञ्जिनीयर काफ्लेको सुझाव छ । ‘असार २४ गते पनि योजना सम्झौता भई कार्यान्वयन भयो’, काफ्लेले भने, ‘आफैँ योजनाको छनोट गर्ने, आफैले कार्यान्वयन गर्ने र आफैँले अनुगमन गर्ने स्थानीय तहमा त यो हालत छ भने अन्यत्र कस्तो अवस्था होला ?’ फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले गत आवमा योजना तथा कार्यक्रम सञ्चालनमा कोभिड–१९ सङ्क्रमणको धेरै प्रभाव परेको भन्दै आगामी दिनमा विगतबाट पाठ सिकेर प्रभावकारी योजना सञ्चालन र यथेष्ट प्रगति हासिल गर्नेतर्फ नगरपालिका अगाडि बढ्ने बताए ।