ओखलढुंगामा कांग्रेस कार्यकर्ताले च्याते मतपत्र
ओखलढुङ्गा । चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन्। वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि मतपत्र च्यातेको प्रहरीले जनाएको छ । कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न स कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चिसंखुगढीमा माओवादी-कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । अहिले मतगणना रोकिएको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
तनहुँ । घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए । उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी निर्वाचित भएकी छन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाल दुई हजार ७४७ मत प्राप्त गरे । घिरिङ गाउँपालिकाको पाँचवटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।
भक्तपुर नगरपालिकाका सबै पदमा नेमकिपा विजयी
भादगाउँ । भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विजय हासिल गरेको छ । नगरको १० वटै वडामा अध्यक्ष तथा सदस्य पदमासमेत नेमकिपाले दोस्रो पटक विजय हासिल गरेको हो । नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत प्राप्त गरे । प्रमुखका अर्का उम्मेदवार नेकपा (एमाले)का रविन्द्र लाछिमस्यूले २ हजार ८३७ मत प्राप्त गरेका थिए । त्यस्तै प्रमुखकै उम्मेदवार सत्यराम त्वायनाले २ हजार ३४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा (माओवादी केन्द्र)का तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गरिन् । त्यस्तै वडा नं. १ अध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे, ६ मा हरिराम सुवाल, ७ मा उकेश कवाँ, ८ मा कृष्णप्रसाद कोजू, ९ मा रविन्द्र ज्याख्व र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा विजयी भएका छन् ।