मेलम्ची नगरपालिकाकाे ३४ घर पहिराको जोखिममा

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूवर्गविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए । रासस

दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

दमक । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् । राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए । राप्रपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटकपटक बेवास्तासमेत गरिएको तर अहिले आएर फेरि उपमहानगरपालिका बनाउने प्रस्ताव कसरी आयो ?’ यसैगरी एमालेले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरीे उपमहानगरपालिका बनाउने प्रस्तावप्रति आपत्ति जनाएको छ । नगरपालिकाले सहअस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाईसमेत थाहै नदिइ गरेको निर्णयप्रति दुःख व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिवहरि ढकालले संयुक्त विज्ञप्ति जारी गरी भनिएको छ, ‘दीर्घकालीन महत्वका विषयमा निर्णय लिन जाँदा समान र सहअस्तित्वको नीतिअङिकार गर्न आग्रह गर्दछौ ।’ नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६आँै बैठकबाट उक्त गाउँपालिका र नगरपालिकालाई समावेश गरी उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो । त्यस निर्णयलाई थप कारवाहकीका लागि नगरपालिकाले सङ्घीय मन्त्रालयमा पत्रचारसमेत गरिसकेको जनाएको छ । रासस

बाँकेकाे ५ स्थानिय तह बालविवाह मुक्त घोषणा

बाँके । बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ गाउँपालिकाका एक÷एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ । पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाए । बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुनसकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरूको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए । रासस