जुम्ला : ८ स्थानीय तहमध्ये ५ मा काग्रेसको जित
जुम्ला । जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई स्थानीय तहमा नेकपा माओवादी केद्रले जितेको छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत विजयी भएका हुन् । कठायतले दुई हजार ४०३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदम बहादुर शाहीले दुई हजार ३४१ मत ल्याए । कांग्रेसले तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले एक उपप्रमुख जितेको छ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्याशी एकीकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एकीकृत समाजवादीकी शान्तिकुमारी मल्ल भण्डारी विजयी भएकी छन् । उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् । उनका प्रत्याशी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी छन् । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् । रोकाया कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उपाध्यायले एक हजार ९ सय १५ मत मात्र प्राप्त गरे । त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनले २ हजार ४ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुष्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन् । त्यस्तै जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन् । उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन् । त्यस्तै उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजयी भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् । त्यस्तै सिजागाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले नेपाली कांग्रेसका नन्दराम बुढा १ सय १८ मतअन्तरले पछि पार्दै विजय हासिल गरेका हुन । उनी १ हजार ९सय ४९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९ सय ५६ मतले विजयी भएकी हुन् । भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत ल्याएर पराजित भएकी हुन् । त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । अध्यक्ष बोहराले दुई हजार सात सय ६८ मत प्राप्त गरेका छन् । अध्यक्षमा प्रत्याशी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् । उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त ल्याएकी हुन् । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चार सय ६३ मत ल्याएर पराजित भएकी हुन् । त्यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा विजयी भएकी हुन् ।अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष बुढाले दुई हजार तीन सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्याशी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँच सय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौ सय ४५ मत प्राप्त गरेकी छन् । २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो । कांग्रेसले ५ अध्यक्ष दुई उपाध्यक्ष जितेको थियो । त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् । लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मरराज शाहीले एक हजार ४ सय २३ मत ल्याएर पराजित भएका हुन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी हुन् ।
गोलाप्रथाबाट वडाध्यक्ष बने समसेर
महोत्तरी । बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई उम्मेदवारले बराबरी मत ल्याएपछि गोला प्रथाबाट अध्यक्ष छनौट गरिएको छ । गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा भइसकेका थिए । र उनले विजय उत्सव समेत मनाइसकेका थिए । तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए । बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंहले बाजी मारेका हुन् ।
दुई पालिकाको नेतृत्वमा महिला
बागलुङ । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् । बागलुङको एक पालिकाको नेतृत्व यसपटक महिलाले गर्ने भए पनि स्थानीयतहको निर्वाचन २०७४ को तुलनामा महिला जनप्रतिनिधि वडा सदस्यमा मात्रै सीमित भएको पाइएको छ । बागलुङका चार नगरपालिका र ६ गाउँपालिकामध्ये २०७४ सालको निर्वाचनमा छ पालिकाका उपप्रमखु तथा उपाध्यक्षमा महिला थिए । अहिलेको निर्वाचनमा जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमानखोला गाउँपालिकाको उपाध्यक्षमा हीराकुमारी छन्त्याल मात्रै निर्वाचित भएका हुन् । अन्य पालिकामा पुरुषले मात्रै नेतृत्व गर्ने भएका छन् । बागलुङमा एमालेले बागलुङ नगरपालिका बाहेक अन्य नौ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाए पनि जित्न सकेनन् । पाँच दलीय गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका गाउँपालिकाले समेत यस पटक महिला नेतृत्व गुमाउन परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाको गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन नसकेको हो । पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका ८५ वडा रहेको बागलुङमा वडाध्यक्षमा महिला नेतृत्व शून्य रहेको छ ।