के धरानवासीको हर्ष बन्लान् त हर्क ?

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका छन् । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे । यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)की मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । सामाजिक अभियन्ताका रुपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उहनी प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए । एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका हुन् । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गरेका थिए । को हुन हर्क साम्पाङ ? हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा सङ्घर्षरत व्यक्ति हुन् । विसं २०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफ्गानिस्तान र इराकमा छ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लागे । अहिले उपमहानगर प्रमखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो । धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट उनले सुरुआत गरे । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो । सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलो पटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए । यस विषयमा विस्तारै अन्यले पनि साथ दिँदै गए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै गए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे । ‘सतिसाल’झँ’ नागरिकका सानातिना समस्यामा उनी आवाज उठाइरहँदा आज अरुको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् । जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनी बताउँछन् । ‘यो चुनावमा न मेरो कुनै सङ्गठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गरे । उनीहरुप्रति धेरै कृतज्ञ छु’, नवनिर्वाचित साम्पाङले भने । विसं २०७४ को स्थानीय तहको चुनावमा उहाँ केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उहाँ तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बनेका थिए । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ । उनी धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताउँछन् । ‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जीत हुन्छ’, उनले भने । अभियन्ता साम्पाङ धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, व्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् । उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । साम्पाङ पनि त्यसमा जोडिनु भई सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ । ‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि सङ्घर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद विषय हो’, मेहन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् । धरानमा विसं २०७६ पछि एमाले पछि प¥र्यो वामपन्थी गढका रुपमा चिनिएको धरान उपमहानगरमा नेकपा (एमाले)का लागि ठूलो प्रतिष्ठाको विषय थियो । विसं २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ । स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काए । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् । ठूलो सङ्घर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहनुभएको थियो, हर्क साम्पाङले जीत हासिल गरे । धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा विसं २०१७ मा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो । विसं २०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा विसं २०४८ र २०५४ मा भएका निर्वाचानमा समेत एमालेले विजयी हासिल गर्दै आएका थिए । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जीत हासिल गरेका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे । विसं २०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७०९ मत प्राप्त गर्नुभयो भने प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गरेका छन् । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् ।

२६ पालिकाको परिणाम आउन बाँकी

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ । कूल ७५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो । आयोगले यही जेठ १० गतेभित्र सबै स्थानको मतपरिणाम आउने विश्वास व्यक्त गरेको थियो । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे राजनीतिक विवाद उत्पन्न भएकाले आयोगको निर्णयपछि मतगणना वा पुनः मतदान हुनेछ ।

भरतपुरमा दाहालको दश हजार बढीको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छिन् । उनले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेकी छिन् । महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।