विश्व स्मार्ट सहर सङ्गठनको सदस्यमा धुलिखेल निर्वाचित, के गरे नगर प्रमुख ब्याञ्जूले ?

काभ्रेपलाञ्चोक । ‘खाद्य हरियाली सहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो । विश्वका १३६ देशका सहर सदस्य रहेको सङ्गठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ । विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जूले महासभालाई सोमबार सम्बोधन गरेका थिए । “संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय हो”, उनले भने । धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलस्समेत सूचीकृत छन् । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको ब्याञ्जूले बताए । धुलिखेल संसारका ठूला र सफा सहरको सूचीकृत हुनु गौरवको विषय मानिएको छ । यसअघि नगरले जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको थियो । नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउँदा दिनमा समेत नगरद्वारा जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ । यसैबीच, सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका बीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ । उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगोरुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको ब्याञ्जूले बताए । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ ।” यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएकोे छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ । रासस

पाँचखाललाई सुनको कचौंरा बनाउने नगर प्रमुखको योजना, ४० उद्योग खुल्दै

काभ्रेपलाञ्चोक । लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ । पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेलले बताए । “पाँचखाल सुनको कचौरा हो, यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दैछौँ ।” उनले भने, “उद्योग स्थापनाले स्थानीयस्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नाका साथै करिब चार हजार स्थानीयवासीले रोजगारी पनि पाउनेछन् ।’’  उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकता दिने नगरको योजना छ । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहे पनि साझेदारीका लागि वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख खरेलले बताए । “उद्योग स्थापना पछि स्थानीयवासीलाई प्राथमिकता दिइन्छ, सरल कर्जाका लागि वित्तीय संस्थासँग समन्वय भइरहेको छ” उनले भने । चालू आर्थिक वर्षदेखि एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको र उद्यमशीलताको विकास एवं प्रबद्र्धनका लागि वित्तीय संस्थासँग सम्झौतालाई प्राथमिकता दिइरहेको बताइएको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि नविल बैंकसँग सम्झौता गरिएको बताइएको छ । सम्झौतामा उद्यम गर्न चाहनेलाई अभिमुखीकरण तालिम दिएर आकर्षण गर्ने उद्देश्य रहेकोे छ । नगर प्रमुख खरेलले भने, “नगर विकास, उद्यमशीलता र रोजगारीमा बैंकसँग हातेमालो गर्दै जानेछौँ । सामाजिक रुपान्तरणमा यस अभियानले सार्थकता पाउँदै जाने विश्वास गरिएको छ ।” बैंकले सरकारको दीगो विकासका लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यामशीलताका लागि दीगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ । नगरपालिकाले नगरलाई ‘स्मार्ट सिटी’ बनाउन गत भदौमा काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेडसँग सात शर्त राखेर सम्झौता गरेको थियो । पूर्वाधारलगायत निजी–साझेदारीको माध्यमबाट नगरलाई स्मार्ट बनाउन सो सम्झौता गरिएको हो । नगर प्रमुख खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । उनले भने, “लगानी सम्मेलनको अझै आशा त मरेको छैन, उपयुक्त वातावरण भए अझै यसै सालभित्र गर्ने योजनामै छौँ ।” आर्थिक वर्ष २०७६/७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यतिबेला कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो । गत आर्थिक वर्षमा सम्मेलन गर्ने कार्यतालिका बनाइए पनि पुनः कोरोना भाइरसको सङ्क्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । यसका लागि गत आर्थिक वर्षमै बजेटसमेत विनियोजन गरिएको थियो । यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेकामा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । पाँचखाल पनि तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगर बनिसक्थ्यो । पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न विगतका दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको थियो । पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ । विशेषगरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण गराउने योजना बनाइएको थियो । लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका पाँचखालका स्थानमा सडक पुर्याइएको र पुर्याउने काम भइरहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा तथा प्रविधि विस्तार, पर्यटकीयस्तरका ठूला होटल निर्माण र उद्योग स्थापनाका लागि सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ ।पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय साँस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य सुरु गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया अघि बढाइएको बृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’का साथै एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक भएको छ । विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर यसलाई अझ वृहत बनाइएको छ । तेह्र वडामा विभाजित यस नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर छ भने ३७ हजार ७९७ जनसङ्ख्या छ । ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरपालिकाले पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउनका साथै खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको छ । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापनाकोे योजना नगरको योजना छ । रासस

व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ्रे गाउँपालिका’   

पाेखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ ।  विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैँसी तथा बाख्रापाल्न सुरु गरेपछि व्यावसायिकता विकास भएको हो । गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायतका कार्यक्रम ल्याएपछि कृषकहरु उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । सङ्घ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ । यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । यसैगरी प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई÷तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ । नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्याङ्क गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरेपनि ठूला कृषकहरुले आफैँ बजार खोज्ने गरेका छन् । गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा बिक्री भएको बताइन्छ । पशु शाखा प्रमुख पौडेलले भने, “हाम्रो गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषकहरु बढी छन्” नौ वटा वडा रहेको गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।   लाहाचोकबाट मात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे« र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक रु सात लाख ३५ हजार तथा मासिक रु दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेको जनाइएको छ । सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मुल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताए । भने,“गाई भैँसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्षेनी मुल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।” लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म सुरु गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा सुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० भैँसी छन् । विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए। उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैँसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ ।  रासस