बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

एशियन कंक्रिटोले ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले असोज २१ गते दिउँसो साढे १२ बजे नवलपरासीको रामग्राम नगरपालिका–१६ स्थित कम्पनीको कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सञ्चालक समितिबाट गरिएको सञ्चालक नियुक्तिलाई अनुमोदन गरी नयाँ सञ्चालक लगत तयार पारेर अभिलेखका लागि पेस गर्ने, कम्पनी सचिव नियुक्त गर्ने तथा सञ्चालक समितिका पदाधिकारीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । गत आर्थिक वर्ष २०८२/८३ को सीमाभन्दा बढी गरिएको चन्दा खर्च अनुमोदन गर्ने प्रस्तावसमेत सभामा रहेको छ । त्यसैगरी, चुक्ता पुँजी तथा सञ्चित मुनाफाको कुल रकमभन्दा बढी ऋण लिएको विषय अनुमोदन गर्ने तथा कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम सञ्चालक समितिको संरचना परिवर्तन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । 

बाढी आएको १६औं दिन पनि खोजी तीव्र, माथिल्लो त्रिशूली-१ मा थप एक शव फेला

काठमाडौं । भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका तथा विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र हेडवक्र्समा फसेकाहरूको खोजी कार्य १६औं दिन पनि निरन्तर जारी छ ।  नेपाली सुरक्षाकर्मीका साथै भारत, चीन र दक्षिण कोरियासहितका देशबाट आएका विज्ञ टोलीहरू उद्धार तथा खोजीमा सक्रिय छन् । बाढीका कारण प्रभावित ११ वटा जलविद्युत् आयोजनाहरूबाट हालसम्म कुल ९१६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन् । यसैक्रममा बिहीबार कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रको हाकुबेसीस्थित फूलबारी त्रिशूलीको बायाँ किनारमा थप एक जनाको शव फेला परेको छ । आयोजना स्थलमा कार्यरत १,४३३ जनामध्ये हालसम्म ८७८ जना सम्पर्कमा आएका छन् भने ९ कोरियाली, ३४ चिनियाँ र ५० भारतीयसहित ५४५ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको क्षतिग्रस्त अडिट र हेडवक्र्स क्षेत्रमा मिनी एक्स्काभेटर लैजान सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको छ भने कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवारलाई तत्काल राहत वितरणको काम सुरु गरिसकेको छ । उता चिलिमे जलविद्युत् केन्द्रको पहुँच सुरुङको ११० मिटर सफाइ भइसकेको छ । सुरुङभित्र ग्याप देखिनुका साथै आवाज दिँदा प्रतिध्वनि (इको) सुनिएकाले भित्र फसेकाहरू जीवितै हुनसक्ने आसमा नेपाली र भारतीय सेनाको टोलीले खोजी कार्य थप तीव्र बनाएको छ ।  यस्तै, १७८ जना सम्पर्कविहीन रहेको ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ आयोजनामा भवनका जगहरू नै बगाएकाले उत्खनन जारी राखिएको छ भने लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना अझै बेपत्ता रहेका छन् ।