सुरुङ युगको सुरुवात
काठमाडौं । नेपालको पहाडी भूगोल, त्यसमाथि राजधानी छिर्ने मुख्य नाका नागढुंगाको त्यो सास्तीपूर्ण जाम र घुम्तीहरू । वर्षौंदेखि यात्रु र चालकहरूका लागि यो एउटा बिर्सन नसकिने सास्ती थियो । तर, २०८३ साउन ११ गतेबाट नेपालको यातायात इतिहासमा एउटा नयाँ अध्याय थपिएको छ । नेपालकै पहिलो आधुनिक र प्रविधिमैत्री नागढुंगा–सिस्नेखोला सुरुङमार्ग विधिवत रूपमा सञ्चालनमा आएपछि अब ती सास्तीहरू इतिहास बन्ने भएका छन् । सडक विभागले करिब २० अर्ब रुपैयाँ लागतमा बनेको सुरुङमार्गलाई केवल एउटा सडक आयोजना नभई नेपालको भविष्यको सुरुङ पूर्वाधार विकासको आधारका रूपमा प्रस्तुत गरेको छ । सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग नेपालका लागि केवल एउटा बाटो मात्र नभएर आधुनिक इन्जिनियरिङको एउटा नमुना हो । ‘यो सुरुङमार्ग समग्र देशकै लागि आशाको किरण हो,’ उनी भन्छन् । अब सुरुङमार्ग निर्माणको अनुभव र आत्मविश्वास बढेकाले आगामी दिनमा सिद्धबाबा, दाउन्ने, खुर्कोट–चियाबारी (बीपी राजमार्ग) लगायत अन्य आवश्यक स्थानमा पनि सुरुङमार्ग निर्माणलाई अघि बढाइने उनको भनाइ छ । उनका अनुसार विश्वभरको अभ्यासअनुसार सुरुङमार्गभित्र विस्फोटक पदार्थ बोकेका सवारी, इन्धन ट्यांकर, साइकल र मोटरसाइकल सञ्चालन गर्न दिइँदैन । यीबाहेकका अन्य सवारी साधन भने सुरक्षाका मापदण्ड पूरा गरेर निर्बाध रूपमा सञ्चालन गर्न सक्नेछन् । सुरुङमार्ग प्रयोगबापतको शुल्क यसअघि नै सार्वजनिक गरिएको छ । पश्चिम (वेस्ट पोर्टल) तर्फ उकालो चढ्ने सवारीका लागि केही बढी र ओरालो झर्ने सवारीका लागि केही कम शुल्क निर्धारण गरिएको छ । विभागका अनुसार इन्धन र समय बचतबाट हुने लाभको करिब ४० देखि ५० प्रतिशत बराबर मात्रै शुल्क लिने गरी दर तय गरिएको हो । सुरुङमार्गमा तत्काल अत्यावश्यक र आपत्कालीन सवारीसाधन सञ्चालन हुन पाउने छन् । केही समयपछि अन्य सवारीलाई पनि खुल्ला गरिनेछ । यसमा ४ वटा वर्ग छुट्याइएको छ । जसमा पहिलो वर्गमा कार, भ्यान, पिकअप, ट्राक्टर, माइक्रो बस र अन्य हलुका सवारीलाई राखिएको छ । यी सवारीहरुले सुरुङमार्ग उपभोग दस्तुर प्रतिसवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, वर्ग २ मा मिनी बस, मिनी ट्रिपर र ट्रकलाई राखिएको छ । उनीहरुले प्रवेशमा ११५ रुपैयाँ र प्रस्थानमा ८० रुपैयाँ तिर्नुपर्नेछ । वर्ग ३ मा बस, ट्रक (सिंगल रियर एक्सल)का सवारी छन् । उनीहरुले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २ सय रुपैयाँ तिर्नुपर्नेछ । त्यसपछि वर्ग ४ मा मल्टी एक्सल ट्रक÷सवारीसाधन, भारी उपकरणहरु छन् । यी सवारीले आउँदा ६ सय र जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ । सुरुङमार्गको सञ्चालन भने निर्माणजत्तिकै चुनौतीपूर्ण रहेको जैसीको भनाइ छ । त्यसैले सुरुवाती चरणमा आर्थिक गतिविधि बढाउने तथा उत्पादनमूलक यातायातलाई प्राथमिकता दिने नीति अपनाइएको छ । सञ्चालन र व्यवस्थापन ५ वर्षसम्म सेवा प्रदायक कम्पनीले गर्ने भए पनि सम्पूर्ण नियन्त्रण र निगरानी सडक विभागकै हातमा रहनेछ । सेवा प्रदायकले सञ्चालन गरेबापतको सेवा शुल्क मात्रै प्राप्त गर्नेछ भने सञ्चालनको गुणस्तर, सुरक्षा र व्यवस्थापनको प्रत्यक्ष अनुगमन विभागले गर्नेछ । सुरुङमार्ग प्रवेशद्वारमा स्वचालित (स्टिकर÷ट्याग) र म्यानुअल दुवै प्रकारका टोल प्रणाली रहनेछन् । शुल्क तिरेपछि सवारी स्वतः प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ । सुरुङभित्र रहेका सबै गतिविधिको २४सै घण्टा नियन्त्रण कक्षबाट निगरानी हुनेछ । जाम, सवारी बिग्रिएमा, दुर्घटना भएमा वा सुरुङभित्रका फ्यान, विद्युतीय तथा अन्य उपकरणमा समस्या आएमा सेवा प्रदायकको टोली तत्काल परिचालन हुनेछ । सडक विभागका अनुसार सुरुङमार्गको संरचनागत आयु करिब १०० वर्ष रहेको छ । नियमित मर्मत–सम्भार र प्राविधिक मापदण्डअनुसार सञ्चालन गर्न सके यो सुरुङ एक शताब्दीसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिनेछ । सामान्यतया यस्ता इन्जिनियरिङ संरचनाको आयु ७५ देखि १०० वर्षसम्म हुने विभागको भनाइ छ । सरकारले यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरेको हो । विभागका अनुसार यो कुनै विदेशी देशको परियोजना नभई नेपाल सरकारकै आयोजना हो । ऋण नेपालले नै तिर्ने भएकाले यो नेपाली जनताको आफ्नै पूर्वाधार भएको विभागको जोड छ । करिब २० अर्बको लागतमा निर्माण भएको यो आयोजनाले १०० वर्षको आयु बोकेको छ । सुरुङभित्र २४सै घण्टा मनिटरिङ, भेन्टिलेसन (फ्यान), र आपतकालीन उद्धारका लागि छुट्टै इमर्जेन्सी टनेलको व्यवस्था गरिएको छ । सुरक्षाका दृष्टिकोणले विस्फोटक पदार्थ बोकेका सवारी, पेट्रोलियम ट्याङ्कर र दुई पाङ्ग्रे सवारीलाई यहाँ निषेध गरिएको छ । यो सुरुङमार्गबाट सञ्चालनको जिम्मेवारी पाएको चिनियाँ र नेपाली संयुक्त टोली युसिन एआरटी जेभीले १० हजार गाडी गुड्ने जनाएको छ । समय र इन्धनको बचत यातायात व्यवसायीहरू यो सुरुङमार्गलाई विकासको छलाङ मान्छन् । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनलाई नेपालको पूर्वाधार विकासमा ‘ऐतिहासिक छलाङको संज्ञा दिए । वर्षौंदेखिको नेपालीको प्रतीक्षा अन्त्य भएको भन्दै उनले यो आयोजना देशका लागि नयाँ इतिहास बनेको बताए । उनले ७/८ वर्षको निर्माण यात्रापछि सुरुङमार्ग सञ्चालनमा आउनु सुखद भएको उल्लेख गर्दै यसका लागि विभिन्न समयमा काम अघि बढाउने सबै सरकारलाई धन्यवाद दिए । ‘राम्रो कामलाई राम्रो भन्नुपर्छ । यो नेपालले पूर्वाधार विकासमा इतिहास बनाएको क्षण हो,’ उनले भने । सिटौलाका अनुसार सुरुङमार्ग सञ्चालनसँगै सार्वजनिक तथा मालवाहक यातायात क्षेत्रले प्रत्यक्ष लाभ पाउनेछ । सुरुङमार्गबाट यात्रा गर्दा करिब ६ देखि ७ मिनेटमै गन्तव्य पार गर्न सकिने हुँदा विगतमा नागढुंगा क्षेत्रमा ३० मिनेटदेखि कतिपय अवस्थामा दुई घण्टासम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास उनले व्यक्त गरे । अध्यक्ष सिटौला भन्छन्, ‘विगतमा ३० मिनेटदेखि २ घण्टासम्म जाममा फस्ने गाडीहरू अब ६ देखि ७ मिनेटमा वारपार गर्नेछन् ।’ उनले विशेषगरी मालवाहक सवारी लामो समयसम्म जाममा फस्ने समस्या समाधान हुने, इन्धनको बचत हुने र ढुवानी प्रणाली थप सहज बन्ने बताए । समय र सञ्चालन लागत दुवै घट्ने भएकाले यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । यद्यपि सिटौलाले सुरुङमार्गको टोल शुल्कमा भने सरकारले पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सार्वजनिक यातायात र मालवाहक सवारीलाई विशेष सहुलियत दिन सरकारसँग आग्रह गर्दै अन्ततः त्यस्तो खर्च यात्रु भाडा र ढुवानी शुल्कमै जोडिने भएकाले यसको प्रभाव सर्वसाधारणमै पर्ने बताए । उनले सम्माननीय प्रधानमन्त्री, पूर्वाधार विकासमन्त्री तथा सम्बन्धित निकायलाई सार्वजनिक सवारीका लागि शुल्क संरचना थप व्यावहारिक बनाउन अनुरोध गरे । ‘सार्वजनिक र मालवाहक सवारीलाई केही न केही सहुलियत दिन सकियो भने त्यसको प्रत्यक्ष लाभ यात्रु र उपभोक्ताले पाउनेछन्,’ उनले भने । सिटौलाले नेपालमा यति लामो आधुनिक सडक सुरुङ पहिलो पटक सञ्चालनमा आएको उल्लेख गर्दै यसको दीर्घकालीन प्रभाव आगामी वर्षहरूमा अझ स्पष्ट हुने बताए । उनले सुरुङमार्ग सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा सञ्चालन हुन सके यसले देशमा थप सुरुङमार्ग निर्माणका लागि पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । सुरुङमार्गको प्रयोग गरे बापत सरकारले एउटा निश्चित शुल्क तोकेको बारे व्यवसायीहरूले समय र इन्धन बचतको तुलनामा सस्तो मानेका छन् । नेपालमै विदेशको अनुभव सुरुङमार्ग उद्घाटनको दिन पहिलो पटक यात्रा गर्ने यात्रुहरूको उत्साह हेर्न लायक थियो । बाहिरको चर्को गर्मी र धूलोमैलोबाट सुरुङभित्र पस्ने बित्तिकै यात्रुहरूले छुट्टै शीतलता महसुस गरे । धादिङका विष्णु गोपाल श्रेष्ठ र सुरेन्द्र कुमार श्रेष्ठले सुरुङभित्रको अनुभवलाई स्वर्गको अनुभूतिसँग तुलना गरे । ‘बाहिर प्रचण्ड गर्मी छ, तर भित्र एसी जस्तै प्राकृतिक शीतलता छ । नेपालमै बसेर विदेशको सुरुङमा हिँडेको जस्तो अनुभव भइरहेको छ,’ उनीहरूले खुसी हुँदै विकासन्युजसँग भने । कतिपय स्थानीय वृद्धवृद्धाहरूले त यसलाई पातालको यात्रा जस्तो अनौठो र रोमाञ्चक मानेका छन् । बागलुङका रघुनाथ गौतमले प्रधानमन्त्री र सरकारको कामप्रति गर्व गर्दै भने, ‘नेपालको इतिहासमा यो पहिलो पटक हो, हामी धेरै खुसी छौं ।’ विकासका साथै कतिपय स्थानीय व्यवसायीहरूमा भने केही चिन्ता पनि देखिएको छ । नागढुंगा क्षेत्रमा पसल गरिरहेका सुभद्रा खतिवडा जस्ता स्थानीयले सुरुङमार्ग खुलेपछि रोडका पसलहरूको व्यापार घट्ने हो कि भन्ने डर व्यक्त गरे । ‘विकास भएकोमा खुसी त छ । तर हाम्रा पसलहरू अब कसरी चल्छन् भन्ने पीर पनि छ,’ उनी भन्छिन् । यद्यपि, समग्रमा देशको हित हुने कुरामा स्थानीयको पनि समर्थन देखिन्छ । नागढुंगा सुरुङमार्गको सफलताले नेपालमा अब सुरुङमार्ग युगको सुरुवात गरेको छ । यसपछि सिद्धबाबा, बीपी राजमार्गको खुर्कोट-चियाबारी र काठमाडौंको कोटेश्वरमा पनि सुरुङमार्ग बनाउने योजनाहरू अगाडि बढेका छन् । महानिर्देशक जैसी भन्छन्, ‘अब हामीसँग कन्फिडेन्स बढेको छ । बिस्तारै हामी देशभरिका मुख्य नाकाहरूमा सुरुङमार्ग निर्माण गर्दै जानेछौं ।’ जाइकाको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गरेको यो आयोजनाले नेपाली जनताको आफ्नै पसिना र लगानीको प्रतिफल बोकेको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग केवल एउटा सुरुङ मात्र होइन, यो बदलिँदो नेपालको आत्मविश्वास र समृद्धिको प्रतीक पनि हो । अबका दिनमा नेपाली यात्रुहरूले घुम्ती र जामको सास्ती होइन, छिटो र सुरक्षित यात्राको आनन्द लिन पाउनेछन् ।
अर्घाखाँची सिमेन्टको वार्षिक सेल्स मिट २०२६ सम्पन्न
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडको वार्षिक सेल्स मिट २०२६ सम्पन्न भएको छ । देशभरका विभिन्न क्षेत्रबाट सहभागी भएका ३० भन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो । साथै बिक्री तथा बजार विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक छलफल समेत सम्पन्न भएको थियो । सम्मेलनका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो । यस अवसरमा कम्पनीका नेतृत्वले कर्मचारीहरूको समर्पण, मेहनत तथा व्यवसाय विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सबैलाई प्रेरित गराएको थियो । अनुभव आदानप्रदान, अन्तरक्रियात्मक छलफल तथा नयाँ नीतिप्रति साझा बुझाइ विकास गर्दै सम्पन्न भएको यस सम्मेलनले कम्पनी र बिक्री टोलीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुका साथै आगामी लक्ष्यहरू हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ ।
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उनले भने, 'पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।' उनका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए । एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरुले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउँछन् । सामान्य अवस्थामा जति आवश्यक पथ्र्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ । हाल बजारमा एक करोड ५० लाख थान सिलिण्डर छन् । जसमध्ये ५० लाख सिलिण्डर ग्यास डिपोसँग छन् । सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् ।