काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न खाद्य व्यवसायमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा बालुवाटारस्थित आकाश फुड्समा म्याद गुज्रिएको लड्डु र गन्हाएको आलु भेटिएको छ ।
विभागका अनुसार आकाश फुड्सको अनुगमनका क्रममा म्याद नाघेका आठ प्याकेट लड्डु भेटिएका थिए । ती लड्डुमा उत्पादन मिति २७ अगस्ट २०२५ र ‘बेस्ट बिफोर’ १५ दिन उल्लेख गरिएको थियो । त्यस्तै, पानीपुरीमा प्रयोग हुने आलुको स्टफिङमा अस्वाभाविक गन्ध आएको पाइएको थियो । फ्राइङ तेलको समेत टीपिएम भ्याल्यु २३ पाइएको विभागले जनाएको छ ।
अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरेको छ । गन्हाएको करिब १०० ग्राम आलु तथा म्याद सकिएका आठ प्याकेट लड्डु नष्ट गरिएको छ । खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई निर्देशनसमेत दिइएको छ ।
यसैगरी, चन्द्रागिरी ३ स्थित सुजल डेरी प्रालिको अनुगमन गर्दा सरसफाइ सामान्य, दूध प्रशोधन भइरहेको तथा प्रयोगशाला र कर्मचारीको व्यक्तिगत सरसफाइ सन्तोषजनक पाइएको छ । थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइएको छ ।
बाफलस्थित बाजेको डेरी पसलमा भने सरसफाइ सन्तोषजनक नरहेको, खुला दही तथा दूध बिक्री भइरहेको र घ्यू उत्पादन गर्ने गरेको पाइएको छ । फ्रिजमा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थसमेत भेटिएका छन् ।