चैत २५ देखि घर जग्गा मेला, होम लोन कटौती नगर्न आग्रह

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ गतेदेखि २८ गतेसम्म छैठौं घर जग्गा मेला आयोजना गर्ने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर राजधानीको भृकुटीमण्डपमा आयोजना हुने घरजग्गा मेलामा १२० वटा स्टल रहने जानकारी दिएको हो । मेलामा रियल स्टेट क्षेत्रका पछिल्ला अपार्टमेन्ट, आवास तथा जग्गा विकास आयोजनाका बारेमा जानकारी उपलब्ध गराउने मेलाका संयोजक विपिन चित्रकारले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष इच्छाराज तामाङले होम लोनमा कटौती नगर्न राष्ट्र बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।‘हामीलाई प्रोजेक्ट फाइनान्सिङ नगर्नुस तर जनतालाई घर बनाउन होम लोन दिनुस, जनतालाई एउटा कार वा मोटरसाइकल किन्न ऋण दिनुस’, अध्यक्ष तामाङले भने । उनले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक देख्ने नेपाली दृष्टिमै दोष रहेको धारणा पनि राखे । उनले भारतमै पनि रियल स्टेट क्षेत्रको कर्जा लगानीलाई अनुत्पादक भन्ने व्यवस्था नरहेको जानकारी पनि दिएका थिए । अध्यक्ष तामाङले रियलस्टेट क्षेत्रका कारण वर्तमान तरलताको अवस्था नआएको दावी पनि गरे । अधिकतम २५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको र हालसम्म जम्मा १५ दशमबल ६७ प्रतिशत मात्रै ऋण प्रवाह भएको पनि उनले जानकारी दिए । बैंक तथा वित्तिय संस्थाहरुले एकै पटक ठुलो मात्रामा पूँजी वृद्धि गर्नु परेकाले पनि तरलताको अवस्था आएको उनको भनाई थियो ।

चीनको ३३ प्रतिशत इन्धन लत्याउँदै भारतसँग पेट्रोलियम पाइपलाइन

काठमाडौं । चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्झौतालाई लत्याउँदै सरकारले भारतसँगको पेट्रोलियम पाइपलाईन विस्तार सम्झौताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको छ । नयाँ संबिधानको बिरोधमा भारतले नाका बन्दी लगाउँदा नेपालले चीनसँग आफ्नो कुल मागको ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । तर यतिबेला चीनसँगको त्यो सम्झौतालाई लत्याउँदै सरकारले रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन विस्तार सम्बन्धी कामलाई तिब्रता दिएको छ । जबकी सो पेट्रोलियम पाइप लाइन निर्माणको कार्य आरम्भ भएपछि नेपालले आगामी १५ बर्षसम्म चीनसँग इन्धन खरिदको प्रक्रिया अघि बढाउनै सक्दैन् । नेपाल आयल निगम र इण्डियन आयल कर्पाेरेशनबिच हुने पाइप लाइन निर्माणको अन्तिम सम्झौतामा नेपालले आगामी १५ बर्षसम्म भारतसँग मात्रै इन्धन किन्न पाउने व्यवस्था त्यसमा समावेश गर्न लागिएको छ । इन्धन खरिदको प्रारम्भिक सम्झौता भएपछि चीनका लागि नेपाली राजदुताबासले जारी गरेको विज्ञप्ति चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौता कार्यान्वयन कहाँ पुग्यो भन्ने विकासन्युजको प्रश्नमा आपुर्ति मन्त्रालयका सचिव प्रेम राईले भने–‘बाटो साटो छैन, हावाका भरमा चीनबाट इन्धन आउँछ कहीँ ? चीनसँग ३३ प्रतिशत इन्धन खरिद गर्ने सम्झौताको केहि पनि काम भएको छैन’, सचिव राईले भने । उनले तत्काल चीनसँग इन्धन खरिद गर्न नसकिने र त्यस्तो सम्झौताका लागि मन्त्रालयले कुनै प्रक्रिया पनि अघि नबढाएको स्पष्ट पारे । उनले असहज सडक पुर्वाधार र महंगो पर्ने भएकाले चीनबाट ल्याउने इन्धन नसकिने दावी पनि गरे । नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काले २०७२ साल कात्तिक १० गते चीनसँग आफ्नो मागको ३३ प्रतिशत इन्धन खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । २०७२ चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा भएको द्धिपक्षिय सम्झौतामा पनि इन्धन कारोबारलाई समावेश गरिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा जारी भएको नेपाल-चीन सयुक्त वक्तव्यको अंश उता, नेपाल र भारतबीच २०७२ भदौ ७ गते पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ३९ किलोमिटर पाइपलाइन नेपाल भूभागमा निर्माण गरिनेछ भने दुई किलोमिटर भारतीय भूमिमा पर्नेछ । निर्माण आरम्भ भएको ३० महिनामा पाइपलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कुल ४ अर्ब ४० करोड नेपाली रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका लागि नेपालले एक अर्ब २० करोड र भारतले ३ अर्ब २० करोड लगानी गर्नेछन् । पाइपलाइनले पेट्रोल र डिजेलमध्ये ८० प्रतिशत आयात गर्नेछ भने हवाई इन्धन र मट्टितेलको ९५ प्रतिशत आयात गर्नेछ । तर नेपालले आगामी १५ वर्षसम्म आइओसीसँगै इन्धन खरिद गर्नुपर्नेछ । आपुर्ति मन्त्रालय श्रोतका अनुसार चीनले इन्धन खरिद सम्झौताका लागि नेपाललाई पटक पटक आग्रह गरेको छ तर नेपालले कुनै प्रतिक्रिया जनाएको छैन् । ‘चीनले हामीले इन्धन दिन्छौं र पुर्वाधार निर्माणमा पनि सघाउन तयार छौं भनेको छ तर नेपालले खासै चासो दिएका छैन’, आपुर्ति मन्त्रालयका एक अधिकारीले विकासन्युजसँग भने । उनले चीनसँगको ३३ प्रतिशत इन्धन खरिद सम्झौतालाई लत्याउँदै भारतसँग आगाम १५ बर्षसम्म इन्धन खरिद गर्ने सम्झौतामा हस्ताक्षर गर्न नेपाल आतुर देखिएको आरोप पनि लगाए ।

कोटवाडामा उत्रियो हवाईजहाज, विमास्थल निर्माण सुरु भएकको ३१ वर्षपछि जहाज अवतरण

कालिकोट । शिलान्यास भएको तीन दशकपछि कालिकोटको कोटवाडा सुनथराली विमानस्थलमा शनिबार पहिलोपटक विमान उत्रिएको छ । तारा एयरको सिक्स एन ए बी एम ट्विनअटर विमानले शनिबार परीक्षण उडान गरेको हो । अवतरित विमानलाई स्थानीयले पञ्चेबाजा र फूलमालाले स्वागत गरेका छन् । तारा एयरका वरिष्ठ चालक सन्तोष शाहको टोलीले विमान अवतरण गराएका हुन् । अवतरणपछिको कोणसभामा उनले उडानका लागि भौगोलिक बनावट उपयुक्त भएको बताए । नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीलगायत पनि परीक्षण उडानमा थिए । उनले अब चाँडै विमानस्थल उद्घाटन गरी नियमित उडान गरिने बताए । कोटवाडामा ०४२ सालमा विमानस्थल बनाउन सुरु गरिएको थियो । निर्माण कार्य अन्तिम चरणमा पुगेका वेला माओवादी द्वन्द्वका कारण निर्माण रोकिएको थियो । माओवादीको आरोपमा विमानस्थल निर्माणमा संलग्न धादिङ जोगिमाराका १७ मजदुरलाई तत्कालीन शाही सेनाले मारेको थियो । त्यसयता निर्माण ठप्प भएको थियो । पहिलोपटक अवतरण भएको जहाज हेर्न लालु, माल्कोट, रुप्सा, कुमालगाउँ, कोटवाडा, रकु, मान्मलगायतका गाविसबाट हजारौंको संख्यामा स्थानीय जम्मा भएका थिए।  नयाँ पत्रिका दैनिकबाट ।