नारायणगढ-मुग्लिन सडकको ७४ प्रतिशत काम सम्पन्न, अझै तीन महिना मिति थप्ने
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । फागुन पहिलो साता पछिल्लो पटक थपिएको समय सकिँदैछ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षात्को समय, चाडपर्वको समय र थपिएको कामका कारण मिति थप्न लागिएको खनालले बताए । ठेकेदार कम्पनीले भूकम्पको समयमा तत्कालीन सरकारले एक वर्षसम्म मिति थप्न सकिने जनाएको भन्दै एक हजार चार दिनसम्म मिति थप मागेको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । उनले भने, “ठेकेदारले त अस्वाभाविक समय मागेका छन् तर रोकिएको दिनको परिपूर्ति हुने गरी मिति थपिन्छ ।” आउँदो साताभित्रमा मिति थप्ने तयारी आयोजनाले गरेको छ । दिउँसो यातायात रोकेर गरिएको काम प्रभावकारी पछिल्लो समय माघ १३ गतेदेखि दिउँसोको समयमा यातायात रोकेर काम गरिँदै आएको छ । त्यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको थियो । दिउँसोमा काम गर्दा प्रभावकारी भएको इञ्जिनियर खनालले बताए। उनले भने, “अहिले दिनको समयमा सडक रोकेर काम थालिएसँगै कामले पनि गति लिएको छ ।” भित्तो काट्ने र कालोपत्र गर्ने काम सँगसँगै भइरहेको छ । खनालका अनुसार फेब्रुअरी ४ तारिखका दिन एकै दिन करिब एक प्रतिशत काम भएको थियो । एक प्रतिशत भन्नाले करिब रु तीन करोडको काम हुन आउँछ । हालसम्म तीनवटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । थप सात किलोमिटरको कालोपत्र गर्ने अन्तिम तयारी भएको छ । सडकलाई तीनखण्ड गरेर ठेक्का दिइएको छ । पहिलोखण्ड आँपटारीदेखि १० दशमलव ४ किलोमिटर मुग्नितर्फ छ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले ठेक्का लिएको छ । दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल तथा लामा निर्माण कम्पनीले १० दशमलव ७ किलोमिटरमध्ये हालसम्म ७ दशमलव ७ किलोमिटर सडक कालोपत्र गरेको छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीले १२ दशमलव १ किलोमिटरमध्ये ४ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त सडकखण्ड ३३ दशमलव २ किलोमिटर रहेको छ । जसमध्ये ५५ प्रतिशत भाग कालोपत्र गरिएको हो । तीनखण्डमध्ये सबैभन्दा बढी बीचको सडकखण्डको काम प्रभावकारी देखिएको छ । खनालका अनुसार यही गतिमा काम भएमा सो खण्ड भने आउँदो एक महिनामा सम्पन्न हुनेछ । अन्य दुई खण्ड पनि चैतसम्ममा भित्तो काट्नु पर्नेबाहेक अधिकांश भाग कालोपत्र भइसक्ने उनले बताए । सो सडकको १६ किलोमिटरमा ३०० मिटर पहाड काट्नु पर्नेमध्ये १२० मिटर काटिसकिएको छ भने १८० मिटर काट्न बाँकी छ । त्यसको पनि माथिल्लो भाग काटिएको छ । घुमाउनेमा २०० मिटर भित्तो काट्नु पर्नेमा १०० मिटरमात्रै बाँकी छ । सोको पनि माथिल्लो भाग निकै तल झरेर आठ मिटर उचाइमा आइपुगेको छ । सो क्षेत्रमा ४४ मिटर अग्लो पहाड थियो । उता तेस्रो सडकखण्डको भने चेपाङ डाँडामा २०० मिटर पहाड काट्नु पर्ने छ । सोको भने निकै कममात्रै प्रगति भएको देखिन्छ । सो पहाड काट्न भने निकै कठिन भइरहेको खनालले बताए । नारायणगढ र गोरखा जोड्न सन् १९८२ मा चीन सरकारको सहयोगमा सो सडक बनेको थियो । नेपाल-भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत एशियाली विकास बैंकको ऋण सहयोगमा यो सडकको स्तर उकास्ने काम शुरु गरिएको हो । रासस
चाँगुनारायणका २३ डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम
काठमाडौं । चाँगुनारायण नगरपालिकाका २३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । इकोको सहयोगमा डीसीए, भिएसओ, एफएससिएन र एनडिआरएसीको आयोजना तथा चाँगुनारायण नगरपालिकाको समन्वयमा तालिम प्रदान गरिएको हो । सहरी बिकास तथा भवन निर्माण बिभागको पाठ्यक्रम अनुसार एक हप्ता तालिम सञ्चालन गरिएको थियो । खरिपाटी स्थीत कृष्ण माध्यमिक विद्यालयमा चाँगुनारायण नगरका सबै वडाका पहिलेदेखि डकर्मी काम गर्ने तर भूकम्प प्रतिरोधी भवन बनाउने तालिम हासिल नगरेका २३ डकर्मी सहभागी थिए । तालिमको समापन समारोहमाबोल्दै तालिममा सहभागी नवराज लामिछानेले भूकम्पले पहिला बनाएको घर भत्किदा आफुले अपराध गरेको महसुस भएको तर अब त्यस्तो गल्ती नदोर्याउने र तालिममा सिकेका कुराहरु पूर्णरुपमा लागु गर्ने बताए । अर्का सहभागी तुलसी माया सुवालले आफुले नजान्दा ठेकेदारले आफ्नै घरमा पनि कमजोरी गरेको तर अहिले तालिम पाएपछी मात्र बुझेको बताउँदै अब घरको काम आफै गर्न सक्ने बताइन् । समापन समारोहमा चांगुनारायण नगर प्रमुख सोम मिश्र, सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय भक्तपुरका प्रमुख मिलन आचार्य लगायतले भूकम्प प्रतिरोधी भवन निर्माणबारे आफ्नो धारणा राखेका थिए । त्यस्तै, एफएससिएनका कार्यकारी अध्यक्ष सूर्यबहादुर थापा , प्रगति परियोजना अर्वान डीआरआर. सल्लाहकार चन्द्रा हाडा र प्रगति परियोजना संयोजक शक्ति गुरुङ र प्रशिक्षक नरेश सिंह धामीले तालिमबाट दक्ष डकर्मी तयार भएको बताएका थिए ।
दुई लाखभन्दा बढी भूकम्प पीडित दोस्रो किस्ताका लागि प्रमाणीकरण
काठमाडौं । भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्या दुई लाख नाघेको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको मंगलबार दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको सङ्ख्या दुई लाख चार हजार ९९३ पुगेको हो । विसं २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा गत पुस मसान्तसम्म तोकिएको थियो । यस अवधिमा दोस्रो किस्ताका लागि योग्य लाभग्राहीको सङ्ख्या उल्लेखनीय रुपमा बढेको हो । यो तथ्यांकले पछिल्लो समय निजी आवास पुनःनिर्माण तीव्र रुपमा भइरहेको देखाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिएका छन् । ‘‘भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा इन्जिनियर, प्राविधिक खटिएका तथा दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण पनि निजी आवास पुनःनिर्माणले गति लिएको हो’’, उनले भने । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३८८ लाभग्राही छन् । सबैभन्दा कम भक्तपुरका एक हजार ९२१ लाभग्राही रहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार घरको जग राखेपछि पुनःनिर्माणका लागि प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिश गर्छन् । भूकम्प कम प्रभावित १७ जिल्लाका दोस्रो किस्ताका लागि लाभग्राहीको लगत संकलन पनि भइरहेको छ । मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका अनुसार अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण सम्पन्न भएका र निर्माणाधीन घरको सङ्ख्या तीन लाख ६० हजार ४७८ पुगेको छ । तथ्यांकअनुसार निर्माण सम्पन्न भएका घरको सङ्ख्या ९० हजार २६२ छ भने निर्माणाधीन घरको सङ्ख्या दुई लाख ७० हजार २१६ छ । प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार धादिङमा सबैभन्दा धेरै १८ हजार ९४० घर पुनःनिर्माण भएका छन् । सबैभन्दा कम भक्तपुरमा ३६२ भूकम्पले भत्किएका घर बनाइएको प्रवक्ता भुसालले बताए । भूकम्प पीडित भई लाभग्राही सूचीमा परेका पीडितले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी रु तीन लाख अनुदान पाउँछन् । रासस