‘दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना’ निर्माण हुँदै, ६ बैंकले अधिकतम ७०% लगानी गर्ने

काठमाडौं । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग स्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तीनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्नेछन् । उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक १५ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।

चार सय वर्ष पुरानो गोरखा दरबार भत्काइयो, आगामी तीन वर्षभित्र पुनःनिर्माण गरीसक्ने

गोरखा । भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार जगैदेखि भत्काइएको यो दरबार पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गरिनेछ । पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा दरबार भत्काइएको हो । “पुराना सामग्री हटाउने कार्य भइरहेको छ । काम लाग्ने सामग्री पुनः प्रयोग गर्ने र काम नलाग्ने सामग्री हटाउँछौँ” भुसालले भने, “जग राख्न काम भइरहेको छ ।” पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । रु चार करोड ३७ लाख लगानीमा दरबार पुनःनिर्माण हुनेछ । भूकम्पका बेला क्षति पुगेको गोरखनाथ मन्दिरलगायत संरचना भने पुनःनिर्माण गरिसकिएको छ । दरबारमा रहेका राजा पृथ्वीनारायण शाहका गद्दीलगायत महत्वपूर्ण सामग्री भने सुरक्षित ठाउँमा भण्डारण गरिएका छन् । दरबार भत्काउँदा विसं १८६३ का बेलाका इँट्टा पनि फेला परेका छन् । आगामी तीन वर्षभित्र दरबार पुनःनिर्माण सकिने बताइएको छ । रासस

२० दिनमा मेलम्ची सुरुङमा ब्रेक थ्रु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७।५ किलोमिटर रहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने जानकारी दिए । सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारका रुपमा संविधानमा रहेको चर्चा गर्दै यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिनुपर्ने बताए । सो अवसरमा लिमिटेडमा कार्यरत उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो । लिमिटेडका महाप्रबन्धक डा महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए । रासस