२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन

काठमाडौं । ‘२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन गर्न पाइन्छ,’ यो भनाई हो राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनको । प्राधिकरणले आगामी २ बर्षभित्रै निर्माण सम्पन्न हुने धरहरा निर्माणका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर निकाल्न लागेको छ । करिब ४ अर्ब लागतमा निर्माण हुने धरहराको डिजाइन तयार भैसकेको छ । चार अर्ब भित्रै भ्याट र मूल्य वृद्धि समेत समेटिनेछ । ‘पुरानो ढाँचा, नयाँ निर्माण सामग्री र आधुनिक भवनसहितको धरहरा निर्माणका लागि एक साता भित्रै ग्लोबल टेण्डर निकाल्दैछौं, धरहरा सम्बन्धी सबै विवाद सकिएको छ’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख महर्जनले भने । ग्लोबल टेण्डर निकालेको २ महिना भित्र निर्माणकर्ता कम्पनी परिचालित हुनेछन् । जमिनमाथी ८१.२ मिटर अग्लो हुने धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । धरहरा निर्माणका लागि एक अर्ब रुपैंयाँ नेपाल टेलिकमले उपलब्ध गराउने र मै बनाउँछु धरहरा अभियानबाट २४ करोड रुपैंयाँ संकलन भैसकेको पनि मानन्धरले बताए । नयाँ धरहरामा पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनी समेटिनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा समेटिने छैन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ । २२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् । ढलेको धरहरा काँचको पर्दामा प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् ।

स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ: मन्त्री मगर

चितवन । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताए । तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँड नहुँदा काममा समस्या आउने गरेको उल्लेख गरेका छन् । नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको छ भन्दै उनले अहिले हरेक जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिएका छन्। चितवनमा पनि केही वर्षपछि पानीको समस्याहुने भएकाले यस्का लागि कर्मचारीहरुलाई दीर्घकालीन योजना बनाउन र फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्नका लागि पहल गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिएका थिए । मन्त्री मगरले आजै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । रासस

नारायणगढ-मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ, सडक फराकिलो हुने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उनले बताए । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ । सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताए । उनका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ । सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस