असोजभित्रमा मेलम्चीको पानी काठमाडौंमा- खानेपानी मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। रिपोटर्स क्लब नेपालद्धारा यहाँ बुधबार आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताएकी छिन् । “केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैँसम्ममा काठमाडौंमा मेलम्चीको पानी आउँछ”-मन्त्री मगरले भने । मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौंसँगै तराई– मधेश, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ । मन्त्री मगरले आगामी एक/दुई वर्षमा वाग्मती र विष्णुमतिलाई सफा गरी पर्यटकीय क्षेत्र बनाउने बताएकी छिन् । रासस
माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न, चार अर्ब रुपैयाँको लगानी
चौतारा । निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्धारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताएका छन् । चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत तीन अर्ब रुपैयाँ रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट रु १८ करोडले झण्डै चार अर्ब रुपैयाँ पुगेको छ । विसं २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पुर्याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ । साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्धारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत्गृहमा पानी खसालिनेछ । आयोजनास्थलदेखि लामोसाँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्धारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । उक्त कम्पनीले जिल्लाको अपर बलेफी आयोजनाको निर्माण कार्यलाईसमेत तीव्रता दिएको छ । ६ अर्ब रुपैयाँको लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए । रासस
बजेट अभावका कारण राष्ट्रिय आयोजनाहरु अलपत्र, सम्पन्न गर्न ६ अर्ब लाग्ने
नवलपरासी । रकम अभावका कारण नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजना अलपत्र परेका छन् । डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा नवलपरासी र रुपन्देहीमा सञ्चालित पुल, सडकलगायतका राष्ट्रिय आयोजना अलपत्र परेका हुन् । अहिले नवलपरासी र रुपन्देहीमा गरी कूल ६२ वटा पक्की पुल र केही सडकको स्तरोन्नतिका आयोजना सञ्चालनमा रहेका छन् । रकम अभावकै कारण अधिकांश आयोजनाको काम बीचैमा बन्द हुन पुगेको डिभिजन सडक कार्यालयका लेखा अधिकृत विष्णुबहादुर रायमाझीले जानकारी दिए । हालसम्म कूल रु १२ करोडको अख्तियार मात्र प्राप्त भएको छ । रु एक अर्ब बराबरको काम सम्पन्न भइसकेको छ । लेखा अधिकृत रायमाझीले भने “रकम दिन नसकेपछि अधिकांश काम बन्द भई आयोजना अलपत्र परेको हो ।” कार्यालयका अनुसार ती सबै आयोजना सम्पन्न गर्न करिब रु छ अर्ब लाग्ने देखिन्छ । रु एक अर्ब बराबरको काम भइसकेको छ । हालसम्म १२ करोड रुपैयाँ बराबरको मात्र अख्तियारी आएको छ । यस्तो अवस्थामा ठेकेदारले काम गर्न छाडेका छन् । नियमानुसार समयमै रकम नआउँदा आयोजनाका काम बीचैमा अलपत्र परेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । राष्ट्रिय आयोजनाअन्तर्गत नवलपरासी र रुपन्देहीमा गरी कूल ६२ वटा पक्की पुल रहेका छन् भने सडक पूर्वाधारतर्फ सिद्धबाबाको वैकल्पिक बाटोको रुपमा बुटवल बेलवासदेखि नुवाकोट हुँदै झुम्सा (पाल्पा) जोड्ने सडक विस्तार राष्ट्रिय आयोजना रहेका छन् । यसैगरी सडकस्तर वृद्धि रुपन्देही बेलवासदेखि बेथरी चार लेन सडक रहेको छन् भने नवलपरासीमा समेत पुल र सडकका आयोजना अलपत्र परेका छन् । रासस