मेचीनगरको तीन ठूला गौरवकै परियोजनाको बजेट फ्रिज, कारण के हो ?

काठमाडौं । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा बहुमतले व्यापारिक भवन निर्माणमा विनियोजित शत्प्रतिशत रकम फ्रिज भएको हो । मेचीनगर–६ काँकडभिट्टास्थित पशु बधस्थलमा निर्माण गर्ने भनिएको बहुमतले व्यापारिक भवनका लागि आव २०७५/७६ को बजेटमा छुट्याइएको रु ५० लाख रकम फ्रिज भएको छ । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका २२ परिवारलाई व्यवस्थापन गर्न ढिलाइ भएका कारण व्यापारिक भवनको काम चालू आर्थिक वर्षभित्र शुरु गर्न नसकिएको वडाध्यक्ष ललित तामाङले बताएका छन् । यसैगरी, मेचीनगर–१० धुलाबारीमा साइन्स सिटी निर्माणका लागि छुट्याइएको रु ६५ लाख बजेट खर्च नभई फ्रिज भएको छ । विज्ञानसम्बन्धी उद्यान बनाउने यो योजना नगरपालिकाको गौरवको योजना मानिएको थियो । वडाध्यक्ष सुदय पनेरुले साइन्स सिटीका लागि निर्धारित स्थानमा अब फुटबल एकेडेमी निर्माणको पहल थालिएको जानकारी दिए । साइन्स सिटीको परियोजना अर्को वडामा लैजाने तयारी भइरहेको समेत उनले बताएका छन् । मेचीनगरलाई खेलकूदको हब बनाउने उद्घोषका साथ आव २०७५/७६ मा मेचीनगर–७ मा क्रिक्रेट रङ्गशाला निर्माण गर्न रु २५ लाख विनियोजन गरिएको थियो । यो बजेटको रकम काम शुरु नभई फ्रिज भएको छ । सो वडाका अध्यक्ष चन्दन मेचेले क्रिक्रेट रङ्गशाला निर्माणका लागि वडाका तर्फबाट भरमग्दुर प्रयत्न गर्दा पनि जग्गादातासँग नगरपालिकाले सम्झौता गर्न नसक्दा काम शुरु नै नभएको बताए । चालू आर्थिक वर्ष २०७५/७६ मा मेचीनगर नगरपालिकाले रु एक अर्ब १५ करोडको बजेट निर्माण गरेको थियो । आगामी आव २०७६/७७ का लागि मेचीनगर नगरपालिकाले रु एक अर्ब ३४ करोडको वार्षिक बजेट सार्वजनिक गरिसकेको छ । नगरका तीन प्रमुख शहरका तीन ठूला गौरवका परियोजनाकै बजेट फ्रिज हुँदा नगरको खर्च गर्न सक्ने क्षमतामाथि प्रश्न उठेको छ । सामाजिक विश्लेषक गोविन्द न्यौपानेले ठूला परियोजनाकै बजेट शत्प्रतिशत फ्रिज हुनुले जनप्रतिनिधिको कार्य क्षमतामाथि प्रश्न उठेको बताउँछ । परियोजनाको छनोट सही ढङ्गले गर्न नसकेको र जनप्रतिनिधि विकास निर्माणप्रति प्रतिबद्ध नभएको परिणाम नै विकासका बजेट खर्च हुन नसकेको उनले बताए । रासस

कुलेखानी तेस्रोबाट एक महिनापछि १४ मेगावाट विद्युत् उत्पादन

हेटौँडा । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ । भैंसेस्थित कुलेखानी दोस्रोबाट निस्किएको पानीलाई करीब चार किलोमिटर सुरुङ मार्गबाट ल्याई विद्युत्गृहमा परीक्षण उत्पादन गरिसकिएकोे सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोड रकम लगानीमा कुलेखानी तेस्रो विद्युत् आयोजनाको निर्माण गरिएको थियो । चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र कुलेखानी तेस्रोको निर्माणाधीन विद्युत्गृहको बाँकी कामको अनुगमन गरी थप उपकरणहरुका साथै तारहरुको जडान गर्ने र छिट्टै विद्युत्को उत्पादन भई काठमाडौँस्थित केन्द्रीय प्रसारणमा जोड्ने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुभाषबाबु मिश्रले जानकारी दिए । अहिले कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उतपादन हुँदै आएको छ ।

सोलुखुम्बुमा पुनर्निर्मित सडक हस्तान्तरण

काठमाडौँ । भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । असार १३ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले १ नम्बर प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय ओखलढुंगा डिभिजन कार्यालयलाई हस्तान्तरण गरे । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ जोरबुद्धबाट सुरु हुने २२ किलोमिटर लामो सडक थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलसम्म पुग्छ । सडक ३४ करोड २ लाख ६९ हजारमा पुनर्निर्माण भएको हो । सडकको पुनर्निर्माणबाट महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका भूकम्पीडित लाभग्राहीलाई घर पुननिर्माणका लागि निर्माण सामग्री लैजान सजिलो भएको छ । आयोजना हेर्ने बरिष्ठ इञ्जिनियर बुद्धिनारायण श्रेष्ठका अनुसार यी गाउँपालिकाका ३,९८८ क्षतिग्रस्त घरमध्ये २,९०७ वटाको पुनर्निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न यो सडकले ठूलो मद्दत गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई सडक निर्माणपछि अन्य स्थानीय पूर्वाधार निर्माण गर्न सहज भएको, किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान सजिलो भएको तथा अन्य शाखा सडक निर्माण गर्न सकिएको बताउँछन् । हस्तान्तरण कार्यक्रममा आफ्नो धारणा राख्दै केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक अमृत श्रेष्ठले सडक ठूलो बजेटमा पुनर्निर्माण भएको, बारम्बार पुनर्निर्माणको अवसर नआउने भएकोले सडकको हेरविचार गर्न सम्बन्धित कार्यालय र स्थानीय तहका पदाधिकारी एवं उपभोक्तालाई आग्रह गरे । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सोलुखुम्बुका निमित्त आयोजना प्रमुख विष्णु लामिछानेले ठूलो संख्याका भूकम्प प्रभावित लाभग्राही लाभान्वित हुने सडक पुनर्निर्माणमा योगदान गर्न पाउँदा खुशी लागेको बताए । सडक निर्माण गरेको स्वछन्द–रौतहा जेभीले हस्तान्तरणको एक बर्षसम्म सडकमा निर्माणसम्बन्धी कुनै खराबी आएमा मर्मतसंभार गर्नेछ ।