सेनाद्धारा कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण, डिपिआर र बोलपत्र एकैसाथ

राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको कालिगण्डकी करिडोर बागलुङखण्डको रुद्रवेनी–अर्वेनी २० कलिोमिटर र मालढुङ्गा–वलेवा विमानस्थल १० किलोमिटर सडकखण्ड सडक विभागलाई हस्तान्तरण गर्ने कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली । बलेवा । छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड साेमबार नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाको निर्माण कार्यदलले सो करिडोरको माल्ढुङ्गा-बलेवा (बाग्लुङ) को १० किमी र रुद्रवेणी-अर्वेनी (गुल्मी) को २० किमी सडकखण्ड आज बलेवामा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । उक्त सडकमा अब विभागले स्तरोन्नति र कालोपत्रको कार्य अघि बढाउने छ । सो करिडोरले भारतको सुनौलीदेखि चीनको कोरला नाका जोड्ने छ । कोरला नाका सञ्चालनका लागि नेपाल र चीन सरकारबीच उच्चस्तरमा सहमति भइसकेको छ आव २०६९/०७० देखि सो करिडोरअन्तर्गत गुल्मीको पाँहदी-अर्वेनी को १२ किमी सडकखण्डका लागि पाएको जिम्मेवारीअनुसार सेनाको विकास निर्देशनालयले ‘कालीगण्डकी करिडोर निर्माण कार्यदल’ गठन गरी काम प्रारम्भ गरेको थियो । सेनाले गुल्मीको हर्मिचौरमा आधारशिविर खडा गरी २०७० पुस २० गतेदेखि निर्माण गरेकामा पछि गुल्मीको रिडी-पालुङखोला हुँदै बाग्लुङको मालढुङ्गासम्म ८० किमीका लागि साधारण मार्ग खोल्ने थप जिम्मेवारी पाएको थियो । सेनाले सो करिडोरमा स्तरोन्नतिको काम पनि गरिरहेको छ । मन्त्री ज्ञवालीले जोखिमपूर्ण विकासनिर्माणमा सेनाले जिम्मेवारी दिएको उल्लेख गर्दै निर्माण व्यवसायीलाई सबै आयोजना गुणस्तरीयरुपमा समयमै पूरा गरी समृद्ध नेपालको अभियानमा सघाउन आग्रह गरे । “कानूनले गल्ती गर्ने कसैलाई सानो ठूलो चिन्न छोडेको छ”, गुल्मीबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री ज्ञवालीले भने “यदि कसैले कानूनको मर्मविपरीतका कार्य गर्छ भने सामान्य नागरिक र माननीय वा सम्माननीय भनेर विभेद हुँदैन । त्यस्तालाई कानूनी छहारी हुँदैन ।” आर्थिक विकासका लागि सरकारले बनाएका योजनामा सुशासनको महत्ववपूर्ण भूमिका रहने छ भन्दै मन्त्री ज्ञवालीले त्यसका लागि कानूनको सदुपयोग अत्यावश्यक रहेकामा जोड दिए । कालीगण्डकी करिडोर बागलुङ र गुल्मीसँग मात्रै सम्बन्धित नभएकाले यसले छिमेकी भारत र चीनबीचको व्यापार सम्बन्धमा अर्थ राख्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले राष्ट्रिय गौरवका आयोजनामा बजेटको अभाव नरहेको बताए । कालीगण्डकी करिडोरलाई अपुग रकम अन्य बजेट बढी भएका आयोजनाबाट रकमान्तर गरेर पनि विनियोजन गराइने उनले जनाए । देशका सबै कुनाकुनालाई सडक सञ्जालले जोड्नका लागि पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडकको निर्माणलाई सरकारले प्राथमिकताका साथ राखेको र अबको एक दशक विकास निर्माणको महाभियान सञ्चालन हुने उद्घोष गरेका छन् । हाल पूर्वपश्चिम जोड्ने चाार र उत्तरदक्षिण जोड्ने छ करिडोर निर्माण भइरहेको बताउँदै मन्त्री ज्ञवालीले भने “देशको समग्र मुहार नै परिवर्तन हुने गरी काम भइरहेको छ, हामीलाई जनताले विकास निर्माण र स्थिरताका लागि दिएको कार्यादेश हामी पूरा गर्नेछौँ ।” उनले पहिला पहिला जस्तो ‘दुई ढुङ्गाबीचको तरुल’ को हीनताबोधमा नरही नेपाल अब विश्वकै उदीयमान अर्थतन्त्र भएका दुई देशको बीचमा भएकाले त्यसबाट लाभ लिन पूर्वाधार विकास गर्नाको विकल्प नभएको बताए । “छिमेकीको घर ठूलो छ भनेर मेरो पनि त्यस्तै चाहियो भनेर मात्रै हुँदैन”, मन्त्री ज्ञवालीले भने “उसको जस्तो घर बनाउन हामीले प्रयत्न गर्न जरुरी छ ।” डिपिआर र बोलपत्र एकसाथ मन्त्री ज्ञवालीले ठूला आयोजनाको निर्माणमा हुने ढिलाइका लागि आगामी दिनमा वातावरणीय अध्ययन प्रतिवेदन र विस्तृत परियोजना प्रतिवेदन तयारीसँगै निर्माणका लागि बोलपत्र पनि आह्वान गर्न सकिने गरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए । बोलपत्र छनोट गर्ने समयसम्म वातावरणीय प्रतिवेदन आइसक्नुपर्ने गरी निर्णय भएकाले आयोजनामा अब ढिलाइ नहुने उनले बताए । कार्यक्रममा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्माले सेनाले हस्तान्तरण गरेको सडक खण्डमा सडक विभागले समयमै काम गरी यस क्षेत्रका जनताको लामो समयदेखिको सपना पूरा गर्नुपर्ने अपेक्षा व्यक्त गरे । प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले करिडोर निर्माण दल, जग्गादाता र सरोकार पक्ष सबैलाई धन्यवाद दिए । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले पाएको जिम्मेवारी समयमा नै पूरा गर्नेछ भन्दै करिडोरको बाँकी खण्डको काम आगामी असार मसान्तसम्म सकिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले करिडोरको बाँकी काममा बजेटको अभाव हुन नदिई तीव्रता दिइने बताए । बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले करिडोर समयमा बनेमा स्थानीय जनताले लाभ प्राप्त गर्ने जनाए । करिडोर निर्माणका लागि अभियान सञ्चालनकर्ता टीकाराम ढकालले विसं २०६४ मा गुल्मीको हर्मिचौरबाट आसपासका जिल्लाका गाउँका बासिन्दाको सहभागितामा आवाज उठाइएको स्मरण गरेका छन् । करिडोरअन्र्तगत केही सडकखण्ड यसअघि नै हस्तान्तरण भइसकेको छ ।

पुनर्निर्माणका लागि पाँच सय ९६ लाभग्राही थप

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि जिल्लामा ५९६ लाभग्राही थप भएका छन् । जिल्लामा ५९६ भूकम्प प्रभावित थपिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यही मङ्सिर १५ गते गरेको निर्णयानुसार नयाँ लाभग्राही थप गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुरका अनुसार पुनर्निर्माणतर्फ ३०७ र आंशिक क्षतितर्फ २८९ नयाँ लाभग्राही थपिएका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो । कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार सो समयसम्म नौ हजार ५६९ को गुनासो केन्द्रमा पठाइएको थियो । त्यसमध्येबाट नै प्राधिकरणले लाभग्राही थप गरेको हो । उनका अनुसार थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ । यस्तै कार्यालयले जिल्लाको पुनर्निर्माणको ६८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । सात हजार ४६० लाभग्राहीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् । त्यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ५४० ले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ८५९ रहेको छ । मङ्सिर १५ गतेको निर्णयले लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७६७ पुगेको छ । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत एक लाख ५० हजार र तेस्रो किस्ताबापत एक लाख रूपैयाँ प्राप्त गर्ने छन् । यस्तै आंशिक एक हजार ४६ मध्ये ६५४ को रकम निकासा भइसकेको छ । आंशिकतर्फ एक हजार ३३५ पुगेको इञ्जिनीयर नेपालले जानकारी दिए । रासस

वृज सिमेन्टद्वारा “एक्सपर्ट मेशन क्लब” सम्पन्न,पाँच लाखकाे दुर्घटना बिमा निःशुल्क

वृज सिमेन्ट प्रालिले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आबद्ध गरेर उनीहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । उक्त कार्यक्रमलाई सफल बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक वितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सक्नेछन् । कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिले सम्म कम्पनीले २५ सय बढी निर्माणक्रमी साथीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथीहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट उनीहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ । आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट ‘एक्सपर्ट च्वाइस’ सहित बजार प्रर्वधन शुरु गरिएको हो। ‘एक्सपर्ट च्वाइस’ बजार प्रर्वधनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन्। उनले भर्खरै सम्पन्न मिस बर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड र ‘ब्युटी विथ पर्पोज’ अवाडर्स जितेकी छन्। कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट (पीपीसी) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्याण्ड स्लयाग सिमेन्ट (पीएससी) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ।