टोखामा बन्ने भयाे पाँच उद्यान, दुई निर्माण हुँदै
टाेखा । काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले चालु आवमा दुई पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म पाँचवटा पार्क निर्माण गर्न लागेको हो । टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि रु एक/एक करोड वितरण गरेपछि टोखा नगरपालिकाले पनि पार्क निर्माण कार्यलाई प्राथमिता दिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका–१ बौडेश्वरमा रु तीन करोड ३२ लाख लगानीमा ‘चिल्ड्रेन पार्क’ निर्माण गर्न लागेको बताउँछन् । “बालबालिकालाई खेल्नदेखि आराम गर्न मिल्ने गरी निर्माण गर्न लागिएको पार्क २०७७ असार मसान्तमा सक्ने लक्ष्य राखेका छौँ”, उनी भन्छन् । यस्तै टोखा नगरपालिका–५ मा रु एक करोड ५६ लाख लागतमा कल्की मन्दिर पार्क निर्माण गर्न लागेको छ । उक्त पार्क निर्माणको शिलान्यास कार्य सम्पन्न भइसकेको नगरपालिका प्रमुख अधिकारीले बताए । उक्त पार्क पनि २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्छ । टोखा नगरपालिकाले तीनवटा पार्क निर्माणका लागि भने डिपिआर गरेर बोलपत्र आह्वान गर्ने क्रममा छ । टोखा–३ झुडोलमा निर्माण हुने झुडोल पार्क, टोखा–८ मा बन्न लागेको जालपा पार्क र टोखा–१० मा निर्माण हुन लागेको महिन्द्रेश्वर पार्कका लागि बोलपत्र आह्वान गर्ने काम हुँदैछ । नगरपालिकाले झुडोल पार्क निर्माणका लागि रु १० लाख, जालपा पार्क निर्माणका लागि रु ५० लाख र महिन्द्रेश्वर पार्क निर्माणका लागि रु १५ लाख वजेट विनियोजन गरिसकेको छ । रासस
पाँच अर्ब लागतमा सङ्घीय संसद् भवन निर्माण कार्य अघि बढ्यो
काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरु भएको सङ्घीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ । शुरु भएको चार महिनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने देखिन थालेको हो । तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण शुरु भएकामा अहिलेसम्म भौतिक प्रगति झण्डै पाँच प्रतिशत र वित्तीय प्रगति २२ दशमलव ३५ प्रतिशत रहेको छ । छ महिनामा पाँच प्रतिशतको लक्ष्य लिइएकामा दुई महिना बाँकी रहँदा नै लक्ष्यमा पुगिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । चालु आवमा २० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । एक सय ७३ रोपनी आठ आनामा फैलिने सो भवन निर्माणका लागि भ्याटबाहेक रु पाँच अर्ब तीन करोडमा कबोल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोजमा सो भवनको शिलान्यास गरेका थिए । संसद् भवन निर्माण प्रधानमन्त्री ओलीको पहिलो निर्णय भएकाले आफूले विशेष महत्वका साथ निर्माणलाई हेरिरहेको र आवश्यक स्थानमा सहजीकरण गर्दै आएको प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले बताए । सो स्थानमा नेपाली सेनाको चण्डीदल गण रहेको थियो । त्यससँगै परिसरमा रहेका अन्य कार्यालय त्यहाँबाट स्थानान्तरणलगायतका काममा आवश्यक सहजीकरण गरिरहेको उनको भनाइ छ । उनले भने, “ठूलो योजना र समय कम भएकाले एक दिन पनि काम नअड्किओस् भन्नेमा सजग छौँ ।” निर्माण कार्य समयमै वा समयभन्दा अघि नै सम्पन्न होस् भनेर सरकारले निर्माण व्यवसायीलाई लाभांश वा जरिवाना दुवै व्यवस्था गरेको छ । एक दिनमात्रै चाँडो हुँदा रु २५ लाखसम्म लाभांश र एक दिन ढिला हुँदा त्यति नै रकम जरिवाना हुने विज्ञ थपलियाले जानकारी दिएका छन् । अहिले निर्माण व्यवसायीले साइटमा गरिरहेको काम हेर्दा ढिलाइ हुने देखिएको छैन । उनले भने, “केही महिना पहिले नै सम्पन्न गरेर बोनस लिनहोस् भन्ने हाम्रो इच्छा हो ।” भवन निर्माणस्थलमा आठ मुख्य र चार सहायक गरी १२ भवन बन्दैछ । यहाँ निर्माण हुने भवन परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सबै भवनको डिजाइन काठमाडौँको स्थानीय वस्तुकला झल्कने खालको हुने विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर प्रकीर्ण तुलाधरले बताए । भवन अत्याधुनिक हुने भए पनि भवनको बाहिरी देखिनेस्वरुप नेपालको आफ्नो मौलिकता झल्कने खालको हुने उनको भनाइ छ । उनले भने, “हाम्रो आफ्नै कलाको प्रयोग गर्दै आधुनिक भवन निर्माण गर्न लागिएको हो ।” यसको डिजाइनमा खुला स्थानलाई समेत जोड दिइएको छ । भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर तुलाधरले बताउनुभयो । परिसरको ६० प्रतिशत क्षेत्रमा खुला हरियाली चौर, बगैँचा, पानीको फोहरालगायत रहनेछ भने बाँकी स्थानमा विभिन्न पूर्वाधारको निर्माण हुनेछ । खुला स्थानमा हरियाली चौर, पानीको फोहरा, सार्वजनिक खुला चौरलगायतलाई प्रत्येक भवनको वरिपरि निर्माण गरिने उनले बताए । त्यस्तै, डिजाइनमा आपत्कालीन अवस्थाको समेत ध्यान दिइएको छ । उनले भने, “भूकम्प, आगलागीजस्ता विपद्का समयलाई समेत यसमा ध्यान दिएर निर्माण भइरहेको छ ।” नयाँ बन्ने संसद् भवनमा अतिआधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकिने बताइएको छ । यस परिसरको गुरुयोजनामा सुरक्षा निकायलाई विशेष ध्यान दिइएको छ । परिसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने संसद्को प्रवेशका लागि उत्तरतर्फ नयाँ गेट रहने र दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि गेट रहने गरी डिजाइन भएको उनले बताए । संसदीय दलको भवन र कार्यालय भवन पाँचपाँच तलाको हुने विभागले जनाएको छ । तीबाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने र भवनमा आवश्यकतानुसार भूमिगत वा अर्धभूमिगत कक्ष पनि निर्माण हुन सक्ने तुलाधारले बताए । भवन भूकम्प, आगलागीलगायतका विशेष अवस्थालाई ध्यानमा राखी निर्माण गरिने परिसरमा कुन भवन कहाँ ? मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रियसभाको बैठक बस्ने हल बन्ने बताइएको छ । प्रतिनिधिसभा भवनमा ४०० अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहने वरिष्ठ डिभिजनल इञ्जिनीयर ताम्राकारले बताए । सो भवनमा ३०० पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र २०० अट्ने अर्काे हल हुनेछ । राष्ट्रियसभा भवनमा झण्डै १०० अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभा अध्यक्षको कक्ष रहनेछ । साथै, सो भवनमा २०० अट्ने बाल्कोनी र ३०० अट्ने अर्काे हल रहने बताइएको छ । राष्ट्रियसभा भवनको उत्तरतर्फ अतिविशिष्ट व्यक्तिको कार्यालय भवन निर्माणका लागि डिजाइन बनेको छ । सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्षलगायतको कार्यकक्ष रहने उनले बताए । प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तक अध्ययन कक्ष, इ–पुस्तकालय, सङ्ग्रहालय, प्रशासनिक कक्षसहितको चार तले पुस्तकालयको भवन निर्माण हुने उनले जानकारी दिए । मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने बताइएको छ । मुख्य भवनको उत्तरतर्फ पाँच तले पार्टी कार्यालय भवन हुनेछ । सो भवनमा बैठक कक्ष, शिशु स्याहार कक्षलगायतका लागि छुट्टाछुट्टै कक्ष रहने उनले जानकारी दिए ।रासस
सिसडोल ल्यान्डफिल्ड साइटकाे प्रभाव प्रतिवेदन बुझायो नास्टले, आसपासका १० स्थान अति प्रभावित
काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हुँदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यसैगरी ककनीका आठ वटा र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुई वटा ठाउँ छन् । ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् । वैज्ञानिक डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ । “स्थलगत रूपमा गरिएको नमूना सङ्कलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो”, डा. पन्तको भनाइ छ । अध्ययन गएको असोज र कात्तिक महिनामा गरिएको हो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पुर्याएको असर, ल्यान्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता विषय समेटिएका थिए । यसका लागि लिचेड निष्कासन हुने एक ठाउँबाट लिचेडको, कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना सङ्कलन गरिएको थियो । त्यस्तै ल्यान्डफिल्ड साइटको तीन ठाउँबाट माटो, सिसडोलको दुई वटा ठाउँबाट ग्यास, ककनी गाउँपालिका वडा १ र २ का एकएक ठाउँबाट घुलनशील धुलोका कणका नमूना सङ्कलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो । अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । नास्टकै वरिष्ठ वैज्ञानिक अधिकृत डा. पन्त सदस्य–सचिव रहनुभएको समितिको सदस्यमा नाष्टका वैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति थिए भने वातावरणविज्ञ इञ्जिनीयर सूर्यमान शाक्य र महानगरका इञ्जिनीयर सरकारदीप श्रेष्ठ सदस्य रहेका थिए ।