काठमाडौंमा शुरु भयाे नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो

काठमाडौं । ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ शुक्रबारदेखि शुरु भएकाे छ । कार्यक्रमकाे उद्घाटन उद्याेग मन्त्री लेखराज भट्टले गरेका हुन् । माघ १७ गते शुक्रबारबाट काठमाडौंको भृकुटी मण्डपमा शुरू भएकाे एक्स्पाे माघ १९ गतेसम्म चल्नेछ ।  मिडिया स्पेस सोलुसन्स प्रा‍लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा छैठौं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गरेका हुन् । प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएकाे छ। अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिएका  छन् । तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।  

चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल बन्दै

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ । फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ । निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ । पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका हुन् । प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र शहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताए । पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । प्रमुख शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भने, “पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।” त्यसैगरी कामपाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नयाँ पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।रासस

एमसीसी पास हुन्छ,कसैले राेकेर राेकिन्न: गोकुल बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन  एमसीसी अब छिट्टै पास हुने बताएका छन् । मन्त्री परिषद्काे बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले साे कुरा बताएका हुन् । “एमसीसीमा सैन्य छ, छ, छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ,”  उनले भने । बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्‍याए । उनले एमसीसीमा कुनै सैन्य गठबन्धन नजोडिएको पनि बताए ।  सैन्य गठबन्धन जोडिएको छ भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको उनकाे भनाइ छ ।