झापाका अवैध क्रसर उद्योग तत्काल बन्द गरिने
भद्रपुर । झापाका अधिकांश क्रसर उद्योग अवैध रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ । त्यस्ता उद्योगलाई तत्काल बन्द गराउने पहल शुरुआत समेत गरिएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित जिल्ला अनुगमन तथा समन्वय समितिले जिल्लामा रहेका २७ क्रसर तथा बालुवा प्रशोधन कारखानाको अनुगमन गरेको थियो । अवैध रुपमा ती उद्योग सञ्चालन भइरहेको ठहर समितिले गरेको छ । समितिले बुधबार चन्द्रगढीमा पत्रकार सम्मेलन आयोजना गरी २०७२ सालदेखि कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योगको दर्ता नवीकरण नभएको र उद्योगले कारोवारको विवरण नराखेको जानकारी दिएको छ । ती उद्योगले राज्यलाई बुझाउनुपर्ने कर समेत छलिरहेको हुँदा यस विषयमा प्रदेश र सङ्घीय सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने अनुगमन समितिका संयोजक पोर्तेलले बताए । समितिले अनुगमनका क्रममा विगतमा अनुमति लिएर सात उद्योग सञ्चालनमा रहेका, विगतमा अनुमति लिए पनि पाँच हाल बन्द रहेको, तीन बालुवा प्रशोधनको अनुमति लिएर ढुङ्गा गिट्टीको उत्पादन गर्ने क्रसर उद्योग चलाइरहेको पाइएको जनाएको छ । बुद्धशान्ति गाउँपालिका–१ मा विर्ता मूलपैनी सिँचाइ आयोजनाको ठेकेदारको अनुरोधमा गाउँपालिकाले कुमार आशिष जेभी नामक निर्माण व्यवसायी कम्पनीलाई बालुवा धुने कार्यका लागि गत जेठमा बालुवा प्रशोधन उद्योग सञ्चालनको अनुमति दिएको उनले जानकारी दिए । निर्माण व्यवसायीले बालुवा धुने अनुमति गाउँपालिकाबाट लिएर ढुङ्गागिट्टीको क्रसर उद्योग नै चलाइरहेको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ । बुद्धशान्तिमा वातावरण प्रभाव मूल्याङ्कन नगरी क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको हुँदा सो कार्य तत्काल रोक्न समितिले निर्देशन दिएकोे छ । समितिले मेचीनगर–१ तिरिङमा तस्करले अवैधरुपमा सङ्कलन गरी घाटगद्दी गरेर राखेको करोड मूल्यको ढुङ्गागिट्टीलाई १५ दिनभित्र लिलाम बिक्री गरिसक्न निर्देशन दिएको छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरण गर्दा प्रदेशको ऐन र नियम लागू हुने भएको हुँदा गाउँपालिका र नगरपालिकाले जथाभावी क्रसर उद्योगको अनुमति दिन नपाउने जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली बताउँछिन् । रासस
वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी पूर्वाधार निर्माण भइरहेकाे छ: मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले विमानस्थलाई प्राथमिकताका साथ हरेर पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं,अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ,’ उनले भने । अबको पाँच वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो लगानी गर्दैछौँ। मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकासका लागि जग्गाअधिग्रहणमा ५ अर्ब र पूर्वधार निर्माणमा २ खर्ब ५० अर्ब खर्च गर्ने योजना रहेको बताए । भट्टराईले आन्तरिक विमानस्थललाई मजबुत बनाउन पनि ठूलो लगानी गरिने जानकारी दिए। आन्तरिक विमानस्थल स्तरोन्नति र विस्तारका लागि ४६ अर्ब रुपैयाँ खर्च गर्ने योजना रहेको उनले सुनाए यसका लागि जग्गा अधिग्रहणमा सरकारले ३४ अर्ब ६० करोड खर्च गर्ने तयारी गरेको छ। मन्त्री भट्टराईले तराईका सबै विमानस्थलको धावनमार्गमा एटीआर ७२ विमान अवतरण गराउने गरी पूर्वाधार विस्तार गरिने जानकारी दिए। पाँच वर्षमा निजगढ मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्ने बताए । निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना होु, उनले भने । निजगढमा धेरैले मुआब्जाको पैसा लिइ सकेकाे उनकाे भनाइ छ। मुआब्जा दिन बाँकीकाे पनि प्रक्रिया भइरहेकाे उनले बताए । देशभरका ५४ विमानस्थल रहेको जानकारी दिँदै उनले पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति हुने बताए ।
कोरोना भाइरसको कारण देखाउँदै चीनले बन्द गरायाे ओलाङचुङगोला नाका
ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताएका छन् । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको र हाल आवतजावत पनि नभएको अध्यक्ष शेर्पाले बताए । नाका बन्द हुँदा एक/दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि बर्खाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । बर्खाको समयमा याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् । बर्खामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन् । अहिले सीमाक्षेत्रमा हिउँ परेकाले रिउ बजारमा ओहोरदोहोर पनि हुँदैन तर बर्खामा भने बाढीपहिरोका कारण सदरमुकामलगायत नजिकका नेपाली बजारमा आउन जान नसकिने हुनाले सो समयमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानका लागि रिउ बजारकै भर पर्नुपर्ने शेर्पाले बताएका छन् । उनका अनुसार विशेषगरी याङ्मा र थुदामका बासिन्दा बर्खाभर चिनियाँबजारकै भरमा रहने गरेका छन् । सीमावर्ती क्षेत्रका बासिन्दाले रिउ बजारबाट याक र चौँरीलाई बोकाएर सामान ढुवानी गर्ने गर्छन् । आफूले उत्पादन गरेका गलैँचालगायतका सामग्रीको मुख्य बजार रिउ नै रहेकाले र ढुवानीका हिसाबले पनि सहज हुने भएकाले रिउलाई मुख्य बजारका रूपमा लिने गरिएको बताइएको छ । सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला पुग्न झण्डै दुई दिनको समय लाग्छ । यता याङ्मा, थुदाममा पुग्न भने त्यो भन्दा बढी समय लाग्छ । रासस