कलङ्की–कोटेश्वर सर्भिस ट्रयाक अझै सम्पन्न भएन
काठमाडाैं । कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक’ निर्माण सम्पन्न हुन सकेको छैन । सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्रयाकले गति लिन नसकेको हो । चीन सरकारले मुख्य र सहायक गरी आठ लेन सडक निर्माण गरिदिएको थियो । नेपाल सरकारले सडकको दुबैतर्फ एक–एक लेन निर्माण गर्ने गरी सम्झौता भएको थियो । सो खण्डको मर्मत दुई वर्ष पहिले शुरु भएपनि अझैसम्म सम्पन्न हुन नसकेको बताइएको छ । कतिपय स्थानमा जग्गा कारण मार्ग निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । कोटेश्वर, एकान्तकुना, बल्खुलगायतका विभिन्न स्थानमा सो समस्या रहेको योजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । कोटेश्वर सूर्यकोट मार्गबाट बालकुमारी पुलसम्म तीन वटा घर सडकको अधिकार क्षेत्रमा रहेका कारण मार्ग निर्माण अघि बढ्न सकिरहेको छैन । त्यस्तै, एकान्त कुनामा रहेको तिब्बती शरणार्थी क्याम्प पनि सडकको अधिकार क्षेत्रमा परेको छ । उनले भन ,’यी संरचना हटाउन नसक्दासम्म हामीले चाहेर पनि सडक निर्माण गर्न सकिँदैन ।’सडकको लम्बाइ झण्डै १० किमी रहेको छ । चीन सरकारको सहयोगमा विसं २०७२ मा सो सडकको निर्माण शुरु भइ गतवर्ष सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको सो सडकमा पर्ने तीन आकाशे पुल चीन सरकारले नै निर्माण गरिदिएको थियो । खसी बजारदेखि कलङ्कीसम्मको ‘अण्डर पास’ नेपालको पहिलो हो । चीन सरकारकै सहयोगमा कलङ्कीबाट धोबीखोलासम्मको सडक पनि आठ लेनमै विस्तार हुने जनाइएको छ । सो सडक खण्डमा पनि ‘सर्भिस ट्र्याक’ निर्माण गर्ने सहमति भएको सडक विभागले जनाएको छ ।रासस
अब कुनै आयोजना शून्यमा रहन सक्दैन: मन्त्री नेम्बाङ्ग
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत सम्ंभार सम्बन्धी वार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुन सक्छ, हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ, सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ,’ उनले भने । राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनको भनाइ छ । रणनीतिक सडकहरुको मर्मत सम्ंभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उनले बताए । मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे । उनले सडक मर्मत सम्ंभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गरे । उनले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नु पर्ने बताउँदै उनले यसको आत्मसमिक्षा गर्न जरुरी रहेको बताए ।
पूर्वाधार विकास कम्पनी कोमामा, प्रदेश सरकारसँग लफडा, पीडितको पैसा फिर्ता दिएको दाबी
काठमाडौं । ३५ अर्ब रुपैयाँभन्दा बढीको सडक पूर्वाधान हेटौंडा– काठमाडौं सुरुङमार्ग बनाउने लक्ष्यसहित स्थापना कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी खारेजीको संघारमा पुगेको छ । कम्पनीले समयमै उचित ढंगले काम गर्न नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सो आयोजना प्रदेश सरकारले बनाउन लागेको बताए । प्रदेशको मात्रै नभएर देशकै महत्वपूर्ण विकास आयोजना भएको र सो आयोजना ओघटेको कम्पनीले बनाउन नसक्ने अवस्था देखिएपछि प्रदेश सरकार अग्रसर भएको उनको भनाइ छ । यता कम्पनी भने प्रदेश सरकारले आफूहरुलाई कामै गर्न नदिएको आरोप लगाउन थालेको छ । संघीय सरकारले दिएको आयोजना प्रदेश सरकारले बनाउन नदिएर त्यसै थन्किएको भन्दै प्रदेश सरकार विरुद्ध कानुनी उपचारमा जाने संकेत कम्पनीले गरेको छ । तर, कम्पनीले ९ वर्ष अगाडी हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने भनेर सर्वसाधारणसगँ उठाएको पैंसा फिर्ता गर्न थालेको छ । हेटौंडा –काठमाडौं सुरुङमार्गका परियोजना निर्देशक नुगल आनन्द वैद्य मानवीय संकटमा परेका सर्वसाधारणको रकम कम्पीले फिर्ता दिन लागेको बताउँछन् । केही लगानीकर्तालाई कम्पनीले रकम फिर्ता गरिसकेको उनको भनाइ छ । ‘जथाभावी सेयर रकम उठाउने नीति हाम्रो कम्पनीको थिएन, केही व्यक्तिहरुले सुरुमा नै मनलाग्दी रकम उठाए, त्यसले पनि समस्या भइरहेको छ, पैसा फिर्ता चाहियो भनेर माग गर्ने र अति आवश्यकता परेको देखिएका केहीको रकम फिर्ता गरिसकेका छौं,’निर्देशक बैद्यले भने । बैंकमा पैसा राखेर व्याज खादै कम्पनीले सर्वसाधारणसँग उठाएको केही रकम कम्पनीले बैंकको मुद्दति निक्षेपमा राखेर व्याज खादै कम्पनी चलाएको छ । यस्तो व्याजबाट आर्जित रकमबाटै कम्पनीले संचालन खर्च चुटाएको छ । ‘कम्पनीले सर्वसाधारण लगानीकर्ताको सेयर सुरक्षित गराउन निक्षेप बढाउदै जान्छ, मुद्दती निक्षेपबाट आएको व्याजलाई पनि फेरि मुदतीमा जम्मा गरेर लगानी सुरक्षित गर्दै जाने योजना बनाएका छौं,’ निर्देशक बैद्यले भने । लगानी गर्न अझै सर्वसाधारण आउँदै पैसा उठाएको ९ वर्षसम्म केही नगरी बसेको कम्पनीले सुरुङमार्ग बनाउला भन्ने आश सर्वसाधारणमा अझै मरेको छैन । त्यसैकारण केही सर्वसाधारण लगानी गर्न अझै कम्पनीमा आउने गरेका छन्, जुन कम्पनी आफै करिब मृत अवस्थामा पुगेको छ । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी २०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपति र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यसअनुसार कम्पनीले सर्वसाधारणबाट ३१ करोड ७६ लाख रुपैयाँ रकम उठाइसकेको थियो । कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं–हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न गम्भीर बनेको छ । सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् । सम्बन्धित सामग्री सुरुङमार्गः देखायो विकासको आश, बनायो स्थानीयको बिल्लीबाठ निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र