प्रधानमन्त्री ओलीद्वारा सडक र पुल उद्घाटन, निर्माण लागत ३४ कराेड

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन् । आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन् । छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार करोड १६ लाख २२ हजार १५६ रहेको छ । सो सडकको निर्माण श्री रोताहा आरके जेभीले गरेको हो । त्यस्तै, दमकलाई मोरङको मधुमल्लासँग जोड्ने पुलको लम्बाई २५० मिटर रहेको छ । रु ३० करोड २२ लाख ९१ हजार ७५० लागत रहेको पुल शर्मा लामा स्वच्छन्द जेभीले निर्माण गरेको हो । प्रधानमन्त्री ओलीले आज नै दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने बताइएको छ भने अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । रासस

१६ करोडको लगानीमा जीप लाइन सुरु गर्यो गढी भ्युले, ६० करोडमा थ्रीस्टार होटल पनि बनाउने

सांकेतिक तस्विर काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीप लाइनमा सञ्चालमा आएको छ । जीप लाइन सुरु गरेको होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले ६० करोडको लगानीमा होटल पनि खोल्ने भएको छ । १ किलोमिटर लामो दुरीको जीप लाइनमा एकल, संयुक्त र सुपरम्यान खेल्न सकिनेछ । जिप लाइन खेल्न फागुन भरी २० प्रतिशत छुटको अफर रहेको कम्पनीले जानकारी दिएको छ । जीप लाइन संचालनमा अाएसँगै मकवानपुरगढी सरर घुम्न पाइने भएको छ । गत शुक्रबारदेखि मकवानपुरगढीमा जीप लाइन सञ्चालनमा आएसँगै गढी क्षेत्र पर्यटक बढन थालेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै सीमाना जोडिएको मकवानपुरगढी–२ ताप्लाखर्कमा होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले जीप लाइन सञ्चालनमा ल्याएको हो । होटल गढी भ्यु एण्ड रिसोर्ट प्रालिका अध्यक्ष दिलिप घिमिरेले सुरुमा जीप लाइन सञ्चालन गरिएको र अब थ्रीस्टार होटल निर्माण हुने बताए । सुरुमा १० जनाले रोजगारी पाएका छन् । विस्तारै रोजगारीको सख्या पनि वृद्धि हुने छ । होटल गढी भ्यू एण्ड रिसोर्ट ३० कठ्ठामा निर्माण हुने छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि ऐतिहासिक स्थल मकवानपुरगढी दरबार नजिक जिल्लामा नै पहिलो पटक जीप लाइन सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष घिमिरेले जानकारी दिए । ‘मकवानपुरगढी पर्यटकीय क्षेत्र भएकोले पर्यटक आकर्षणलाई ध्यानमा राखेर जीपलाइन सञ्चालनमा ल्याएको हो’, घिमिरेले भने । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जीप लाइनले मकवानपुरगढी गाउँपालिकामा पर्यटक भित्र्यान सहयोग गर्ने बताए । हेटौंडा बजारबाट करिब १५ किलोमिटर दुरीमा रहेको जीप लाइन मकवानपुरको लागि नौलो हो । यो जीप लाइन मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहटसहित छिमेकी देश भारतका पर्यटकको लागि पनि आकर्षण केन्द्रबिन्दु हो । जिप लाइन खेल्न एकलको २ हजार, संयुक्तको ४ हजार ५ सय र सुपरम्यानको ३ हजार दर रहेको जनाइएको छ । निर्माणाधिन थ्रीस्टार होटल गढी भ्यू एण्ड रिसोर्टमा १९ वटा आवासीय सुविधासहित रेष्टुरेन्ट, कफिसप, स्वीमिङ पुल रिसोर्ट लगाएत निर्माण हुने घिमिरेले जानकारी दिए । काभ्रेको धुलिखेलमा जीप लाइन सञ्चालन गर्ने समूहले गढीमा जीप लाइल सञ्चालन गरेको हो ।

वर्तमान सरकार गठनपश्चात दैनिक ६ किमी बाटो कालोपत्र भएको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताए । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।” सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए । यस अवधिमा दुई खर्ब रुपैयाँको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको बताए । ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको जनाए । साथै ८८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको बताए । यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । यसले उत्पादित विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, “एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुङ्गा हुनेछ । अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ । आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने निश्चित छ ।” “मुलुकमा गरीबी छ, तर भोकमरीको अन्त्य गरिएको छ, यस वर्ष शीतलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । भर्खरै भएको राष्ट्रियसभाको निर्वाचनबाट पनि समग्रहमा मतको सङ्ख्यामा सरकारको पक्षमा जनमत कायमै भएको देखाएको छ । यो तथ्य पनि हो”, प्रधानमन्त्री ओलीले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको ४० वर्षपछि पुनःनिर्माण तोकिएको समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकका अन्य विभिन्न विमानस्थलको पुनःनिर्माण र स्तरोन्नति गरी रात्रिकालीन सेवासमेत शुरु गरिएको जानकारी गराए । मुलुकमा पेट्रोलियम पाइपलाइन तोकिएको समयमै निर्माण सम्पन्न भएको बताउँदै उनले सबै नेपालीको पुहँचमा टेलिफोन सेवा पुगेको, भूकम्पछिको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको तथा बारा र पर्सामा टोनार्डो पीडित जनतालाई तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिएको बताए । प्रधानमन्त्री ओलीले सदनमा भने, “यस अवधिमा विद्यार्थी भर्ना दर शतप्रतिशत नजिक पुगेको छ । विद्यार्थीले विद्यालय छोड्ने दर कम भएको छ । स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको छ । दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको छ । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि बन्चरेडाँडामा आगामी चैतभित्र सक्ने गरी ल्याण्डफिलसाइटको काम अघि बढेको छ । यी सबै उपलब्धि नै हुन् ।” ‘आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएको र सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराउँदै उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गरे । साथै प्रधानमन्त्री ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारवाहीपछि सुन तस्करी तहसनहस भएको छ भने । प्रधानमन्त्री ओलीले भने, “यो दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फार्महरुसहित ७९५ जनाविरुद्ध २६ अर्ब सात करोड ९९ लाख रुपैयाँमा बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ ।” मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करीब १७४ रोपनी जग्गामा भएको कानूनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले भने, “केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ । जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानबिन हुन्छ ।” रासस