३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रो पावर लिलामीको प्रक्रियामा
काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको ३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावरलाई बैंकहरुले लिलामी गर्ने भएका छन् । हाइड्रोपावरलले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि लिलामीको प्रक्रिया अघि बढाएको हो । हाइड्रो पावरलाई ३५ दिनभित्र ऋण तिर्न भनि सूचना जारी गरेपनि हाल सम्म हाइड्रो पावरले ऋण नतिरेपछि लिलामीको प्रक्रिया अघि बढाएको जनाइएको छ । लगानी बैंकहरुले अबको १५ भित्र आयोजना लिलामी हुने उल्लेख गरिएको छ । सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआइसिएशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन । पटक पटक सूचना जारी गर्दा पनि ऋण नतिरे पछि सललामी गर्नु परेको बैंकहरुले जनाएका छन् । आयोजनाले ऋण नतिर्नुको कारण आयोजना सञ्चालकहरुको आन्तरिक कारण भएको बुझिएको छ ।
परियोजना बैंकको तीव्र कार्यान्वयनमा जुट्यो योजना आयोग
काठमाडौं । राष्ट्रिय योजाना आयोग परियोजना (प्रोजेक्ट) बैंकको तीव्र कार्यान्वयनमा जुटेको छ । आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले देशको दीर्घकालीन विकासको खाका तयार पार्नको लागि परियोजना बैंक आावश्यक भएको भन्दै यसको तीव्र कार्यान्वयनमा जुटेको बताएका छन् । देशको विकास र समृद्धिका लागि के कस्ता परियोजना निर्माण गर्न सकिन्छ र कस्ता परियाजनाहरुलाई कत्तिको प्राथमिकता दिने भन्ने आधार पत्र निर्माण गरी त्यसको अध्धयन अनुसन्धान मार्फत परियोजना बैंकको स्थापना हुने उनले बताए । उपाध्यक्ष कँडेलले चालु आर्थिक वर्षभित्रै परियोजना बैंकको काम सक्ने बताएका छन् । आयोजना तर्जुमा तथा व्यवस्थापनमा सुशासन अभिवृद्धि गरी सन्तुलित र मुलुकको दिगो विकास गर्ने सोचसहित राष्ट्रिय परियोजना बैंक अवधारणा ल्याइएको उनको भनाइ छ । बैंकको सिद्धान्त र मान्यता अनुरुप प्रादेशिक सरकार र स्थानीय तहमा समेत त्यस्तो प्रणालीको स्थापना गर्न सहजीकरण गर्ने कँडेलले बताए । ‘प्रोजेक्ट बैंंकको काम पनि हामी द्रुत रुपमा हामी अगाडि बढाइ रहेका छौं, प्रक्रियाको हिसाबले यो गेमचेञ्जरको प्रोजेक्ट हो, यसले आयोजनाको पहिचान र छनोट प्रक्रियालाई चेन्ज गरिदिन्छ,’ उनले भने । यसको मापदण्डबाहेक कसैले पनि केही गर्न नसक्ने उनको भनाइ छ । परियोजनाको नियमावली निर्माणमा मन्त्रालय लागि रहेको उनले बताए । आयोगको तर्फबाट हुने सबै काम तीव्र रुपमा भइरहेको उनले बताए । प्रोजेक्ट बैंकको जागरुकता प्रदेशहरुमा राम्रो भएको बताउँदै उनले यसको कार्यान्वयन स्थानिय तहमा भने अलि समस्या हुने बताए । परियोजना बैंकमा केही पुराना र केही नयाँ परियोजनाहरुलाई पनि जोड्न सकिने उनको भनाइ छ । परियोजन बैंकको स्थापना पछि अहिले पुँजीगत खर्च हुन नसकेको समस्या हट्ने उनको दाबी छ । परियोजना निर्माण लागत र समयावधि पनि यसमा समेटिनेछ। अहिले राष्ट्रिय आयोजनाबाट निर्धारित समयसीमाभित्र कार्य सम्पादन नहुँदा यसको सीधा असर पुँजीगत खर्चमा परेको गुनासो छ। साथै उनले चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन भएको बताए । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक भएको स्विकार्दै उनले यो हिसावले चालु आर्थिक वर्षमा ५२ प्रतिशत सम्म पुँजीगत खर्च हुने बताए । चालु आर्थिक वर्षको हालसम्म चालुगत तर्फ ४०.३३ प्रतिशत, पुँजीगततर्फ १९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ २५ प्रतिशत खर्च भएको छ । साथै, उनले १५ औं आवधिक आयोजना निर्माणको अन्तिम चरणमा भएको बताए । आयोगले सबै मन्त्रालयहरुसँग आयोजना माग गरेको उनकाे भनाइ छ ।
माथिल्लो दोर्दीमा चैत्रभित्र विजुली बल्ने, ३७ करोड ५० लाखको सेयर छिट्टै
काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरेहको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना को ९६ प्रतिशत काम सकिएको छ । २५ मेगावाट क्षमताको यो आयोजनाको बाँकी काम आगामी चैत मसान्तसम्म सक्ने लक्ष्य रहेको सञ्चालक राम पाण्डेले बताए । जलविद्युत योजनाको पावर हाउस बनाउने, पाइप राख्ने, सुरुङ बनाउने, बाँध बनाउने लगायत भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका लागि आवश्यक सबै मेसिनरी सामान परियोजनास्थलमा लगेर धमाधम फिटिङको काम भईरहेको छ । परियोजनाको पावर हाउससँग नेपाल विद्युत प्राधिकरणले सवस्टेशन बनाईरहेकोले विद्युत उत्पादन लगत्तै १३२ केभी प्रसारणलाईनमा जोडिने छ । ‘चैत ३० सम्म हामी विजुली उत्पादन थाल्छौं । त्यतिबेलासम्म विद्युत प्राधिकरणले पनि विद्युत् प्रसारण लाइन निर्माण कार्य सक्ने देखिन्छ’ पाण्डेले भने । आयोजना निर्माणको कुल लागत ४ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ पुग्ने भएको छ । शुरुमा यस आयोजनाको लागत ४ अर्ब रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको थियो । आयोजनाको लागत प्रति मेगावाट १८ करोड ५४ लाख रुपैयाँ पुग्ने भएको छ । ‘शुरुमा लागत प्रति मेगावट करिव १६ करोड हुने अनुमान गरिएको थियो । भूकम्प र नाकाबन्दीको असर परियोजनालाई पर्यो । श्रमिकको ज्याला, निर्माण सामाग्रीको उच्च मूल्यवृद्धिले लागत बढायो । गत साउनमा आएको बाढीले पनि परियोनामा क्षति पुगेकोले खर्च बढ्यो’ पाण्डेले परियोजनास्थलमा पत्रकारहरुलाई जानकारी दिए । परियोजनाले वार्षिक १३ करोड ६७ लाख ८४ हजार किलोवाट विद्युत उत्पादन गर्छ । वर्षात यामको ८ महिनामा प्रति किलोवाट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाको दरले विद्यतु खरिद बिक्री सम्झौता पीपीए भएको छ । व्यवसायिक उत्पादन शुरु भएको मितिले पहिलो ५ वर्षसम्म प्रत्येक वर्ष ३ प्रतिशतका दरले महसुल वृद्धि हुने छ । उत्पादन शुरु भएको ६१ औं महिनामा प्रति किलो वाट सुख्खायाममा ९ रुपैयाँ ६६ पैसा र वर्षायाममा ५ रुपैयाँ ५२ पैसामा खरिद बिक्री हुनेछ । ३७ करोड ५० लाखको साधारण सेयर कम्पनीको जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रर्वद्धकको तर्फबाट ७५ प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ चुक्ता भएको कम्पनीले जनाएको छ । यस कम्पनीमा ५५६ जना प्रवद्र्धक रहेका छन् । कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत अर्थात १५ लाख कित्ता स्थानीय वासीलाई दिनेछ भने १५ प्रतिशत सेयर सर्बसाधारणमा बिक्री गरिने छ । स्थानीय र सर्ब साधारणको लागि सेयर निष्काशनको प्रक्रिया शुरु भएको सञ्चालक पाण्डेले बताए । आयोजनाको कुल लागत ४ अर्ब ६३ करोड ६१ लाख रुपैयाँ हुने लिबर्टीले जनाएको छ । यस परियोजनाको लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा प्रभु लगायतका बैंकले कर्जा लगानी गरेका छन् । उर्जा उत्पादन शुरु भएको ८ वर्ष ३ महिनामा लगानीकर्ताले आफ्नो लगानी उठाउने कम्पनीको विश्लेषण छ । उर्जा मन्त्रालयले २०७१ सालमा उक्त परियोजना निर्माणको लागि अनुमति दिएको थियो । विद्युत उत्पादनको लागि २१०६ बैशाख १४ गतेसम्मको लागि सरकारबाट अनुमति पाएको छ ।