चितवनमा सिटिहल बनाउन सरकारले दियाे डेढ अर्ब

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा हल निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिएकी छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले हलको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ हल निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो । दुई वर्षभित्रमा काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान गरिँदै छ । हलमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३०० अट्ने दुईवटा, २०० अट्ने एउटा र १०० अट्ने तीन वटा हल हुने बताइएको छ । उनले सिटिहलमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैंचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने बताइन्  । हलको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा भएका प्रमुख कुमार घिमिरेका अनुसार हल नेपालकै अत्याधुनिक र ठूलो हुनेछ । काम सम्पन्न गर्न रु २ अर्बभन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको उनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र महानगर प्रमुख रेनु दाहालको काम अघि बढेको जनाइएको छ । रासस

कोटेश्वर–जडीबुटी जाम हटाउन सडक विस्तार गरिँदै

काठमाडाैं । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल सो सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुईतीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए। उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । उनले भने, ‘मन्त्रालयसँगको समन्वयमा नागरिक उड्डयन प्राधिकरणको जग्गामा दुईतीन लेन थप्न सकिनेछ ।’ उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् । उक्त घर तीनकुने– सूर्यविनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ । उनले भने, ‘त्यसलाई अधिग्रहण गरेपछि नै उत्तरतर्फ एक लेन थप गर्न सकिनेछ ।’ जडीबुटीबाट लोकन्थलीतर्फ जाने मात्रै होइन, पेप्सीकोलातर्फ जाने सवारीसाधनसमेत जाममा पर्ने गरेका छन् । त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारीसाधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् । उत्तरतर्फ विस्तार हुने एक लेनले पेप्सीकोलातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ जाने सवारीसाधन निर्वाधरुपमा जान सक्ने प्रवक्ता सापकोटाले जानकारी दिए । विमानस्थलको ‘लाइटिङ सिस्टम’ का कारण बारभन्दाभित्रको क्षेत्र सडकले तत्काल पाउन नसक्ने देखिएको छ । दक्षिणतर्फ सडकको क्षेत्रबाट विमानस्थलको जग्गा लिएर थप गर्न सकिने देखिएको छ । उनले भने, ‘त्यसका लागि केही संरचना नै भत्काउनुपर्ने हुनसक्छ ।’ आगामी वैशाख जेठ महिनामा ट्र्याक खोलेर सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने विभागले जनाएको छ । दुवैतर्फ एकएक लेन मात्रै थप्दा पनि त्यसले यहाँको जामलाई थोरै भए पनि राहत दिनसक्ने प्रवक्ता सापकोटाले बताए । उनले भने, ‘विमानस्थललाई असर नपर्ने गरी कति लेनसम्म थप्न सकिन्छ भन्ने अहिले छलफल भइरहेको छ ।’ जाइकाले यसअघि नै कोटेश्वर–जडीबुटी सडकमा पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । विस्तार तत्काल समाधान मात्रै हुने जनाइएको छ । प्रवक्ता सापकोटाले भने, ‘यहाँको दीर्घकालीन समाधान भनेको ‘अण्डरपास’ हो ।’ जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माण गर्न सकिने पाइएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । उनले भने, ‘विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको छ, मुख्य सडकमा निर्माण नगर्दा निर्माण अवधिमा समेत सवारीसाधन आवतजावतमा समस्या हुँदैन ।’रासस

मध्यपहाडी पुष्पलाल लोकमार्ग एक हप्ताका लागि बन्द

दैलेख । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर (भिर) कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इञ्जिनीयर नारायणप्रसाद न्युउरेले बताएका छन् । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि हाललाई एक लाइन नै बनाउने उनले जानकारी दिए । “एकै चरणमा यो काम सक्नुपर्ने भएकाले एक हप्ताका लागि सडक बन्द गराएर निर्माण कार्य सञ्चालन गर्न लागेका हौँ”, उनले भने । आयोजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले दिनरात काम गरेर पनि सात दिनमा काम सक्ने दाबी गरे । लोकमार्ग बन्द हुँदा जाजरकोटका केही स्थान र भगवतीमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावतसमेत केही दिन प्रभावित हुने भएको छ ।रासस