साढे १३ कराेड लागतमा निर्माणधीन गिदेरी पुलकाे काम ६ वर्षमा २० प्रतिशत

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित गिदेरी खोलामा निर्माण हुँदै गरेको पुलको खम्बा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै बेलका नगरपालिकाले तत्काल सो पुल निर्माणमा रोक लगाएको छ । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले आफूले पुलको अनुगमन गर्ने क्रममा बीचको खम्बा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाएपछि तत्काल रोक लगाइएको बताए । पुलको नक्साअनुसारको नापको पनि खम्बा नभएको र  सामान्य गुणस्तरहीन सामग्री प्रयोग भएको कारण निर्माण कम्पनी पप्पु सञ्जीवनी कन्ट्रक्सनलाई यस्तो कृतिम कार्य नगर्नको लागि नगरपालिकाले रोक लगाएको प्रमुख थापाले बताएका छन् । दुई सय ७८ मिटरको लम्बाइको उक्त गिदेरी खोलाको पुल पप्पु सञ्जीवनी निर्माण कम्पनीले २०७० सालमा निर्माण शुरु गरेको २०७३ मा नै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने भए तापनि अहिलेसम्म २० प्रतिशत काम पनि सम्पन्न नभएको नगरपालिकाले जनाएको छ । तत्कालीन समयमा उक्त पुल निर्माणका लागि सडक डिभिजन कार्यालय सिरहा लाहानले हेर्ने गरी पुल निर्माण कार्यको सम्झौता भई निर्माण कार्य शुरु भएको थियो । करीब रु १३ करोड ४७ लाख सात हजारको बजेटमा निर्माण भइरहेको उक्त पुल समयमा निर्माण हुन नसकेको र खम्बा निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण सम्बन्धित पुल निर्माण कम्पनी र प्राविधिकलाई समेत यस्तो कार्य बन्द गर्न निर्देशन दिएर तत्काल बन्द गर्न नगरपालिकाले जानकारी गराएको हो । –––

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-३ः बलम्बुमा फ्लाइओभर, सिस्नेखोलामा रिफ्रेसमेन्ट सेन्टर

काठमाडौं । गत कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सिस्नेखोला सुरुङमार्गको शिल्यान्यास गरे । जापान सरकारको सहुलियतपूर्ण ऋणमा बन्न लागेको नेपालकै पहिलो सुरुङमार्ग कस्तो बन्दैछ त भन्ने आम चासो छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको उक्त सुरुङमार्ग सवारीसाधन आवतजावतको लागि प्रयोग गरिने यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ । २ हजार ६ सय ८८ मिटर लम्बाईको बन्ने सो सुरुङमार्ग चन्द्रागिरी नगरपालिका वडा नं. १ को टोटीपाखाबाट निर्माण शुरु भई धादिङको सिस्नेखोलामा पुगेर टुगिन्छ । परियोजना विवरण ईम्प्लायर– सडक विभाग भौतिक निमार्ण तथा यातायात मन्त्रालय ईन्जिनियर– निपोन कोई, ऐट–जापान ईन्जिनियरिङ कल्सल्टेन्टस्, निपोन सिभिक कन्सल्टेन्टस ईन्जिनियरर्स, जिईओसिई कल्सलटेन्टस र आईटिईसिओ नेपाल ठेकेदार– हाज्मा एण्ड कर्पोरेशन परियोजनास्थल– त्रिभुवन राजमार्गको मुख्य राजमार्ग क्षेत्र परियोजना अवधी– ४२ महिना (नोभेम्बर २९ देखि अप्रिल २०२३) दुईवटा सुरुङ बन्ने नागढुंगा सिस्नेखोला सुरुङमार्गमा दुई वटा सुरुङ निर्माण हुनेछन् । ठूलो सुरुङ सामान्य अवस्थामा सवारी साधनको आवातजावतमा प्रयोग गरिनेछ भने सानो सुरुङ आपत्तकालिन अवस्थामा प्रयोग हुनेछ । सानो सुरुङ जैविक तथा भैपरी आउने समस्या र आकस्मिक दुर्घटनालाई ध्यानमा राखेर विकल्पको रुपमा निर्माण गर्न लागिएको हो । ३ लेनको ठूलो सुरुङ ८.२ मिटर उचाई तथा ११.५ मिटर चौडाइ र सानो सुरुङ ४ मिटर उचाई तथा ५.१ मिटर चौडाइको बन्नेछ । दुई सुरुङबीच ३ सय मिटरको फरकमा क्रसप्यासेज रहनेछ । ठूलो सुरुङ संचालन हुँदा उक्त क्रसप्यासेजको ढोका बन्द हुने र उक्त प्यासेजका ढोका आपत्तकालिन अवस्थामा मात्र खोलिनेछ । सुरुङको दुईतर्फ शुल्क संकलन स्टेशन पैसा तिरेर मात्र सुरुङमार्ग प्रयोग गर्न पाइनेछ । यसैकारण सुरुङको दुईतर्फ (पूर्वतर्फ टोटीपाखामा र पश्चिमतर्फ सिस्नेखोलामा) शुल्क संकलन स्टेशन हुनेछन् । पश्चिमतर्फ रिफ्रेशमेन्ट सेन्टर सुरुङको पश्चिमतर्फ रिफ्रेशमेन्टको लागि रेष्टुरेन्ट, पार्किङ्ग र आराम गर्ने स्थान बन्नेछ । सुरुङमार्ग छिर्नु अगाडी केही समय आराम गर्नका लागि यो सेन्टर बनाउन लागिएको हो । सुरुङभित्र २४ सै घण्टा विजुली, मातातिर्थबाट ल्याइयो ११ केबीको प्रशारण लाईन सुरुङका लागि २४ घण्टा नै बत्ती आवश्यक पर्छ । कुनै बेला पनि विजुली नजाने व्यवस्था गरेर सुरुङ बनाउनु पर्छ । यसैको लागि नेपाल विद्युत प्राधिकरणको मातातिर्थ सव स्टेशनबाट ११ केवी लाइनको विद्युत अन्डरग्राउड हुँदै सुरुङमार्गको पूर्वी उद्गमस्थलसम्म जोडिनेछ । यो पनि सुरुङको एउटा ठूलै परियोजनामध्येमा पर्छ । यद्यपि सुरुङभित्र जेनेरेटरहरु पनि हुनेछन् । दुईतर्फ सुरुङलाई व्यवस्थापन संचालन तथा मर्मत गर्ने उपकरण तथा जनशक्ति राख्ने भवन निर्माण हुनेछ । यी उपकरण र जनशक्तिले सुरुङभित्र भएका हरेक समस्याको सामाधान गर्नेछ । बलम्बुमा फ्लाईओभर सुरुङमार्गलाई जोड्न दुई पहुँच मार्ग हुनेछन् । त्यसमा बक्स कल्भर्ट, फ्लाईओभर, अण्डरपास रोड तथा ओभरपास रहनेछन् । चन्द्रागिरी नगरपालिकाको बलम्बुमा बन्न लागेको फ्लाईओभर नेपालकै पहिलो फ्लाईओभर हुनेछ । त्रिभुवन राजपथ भएर आउने सवारी आवतजावतका लागि उक्त फ्लाईओभर निर्माण गर्न लागिएको हो । अहिले सो फ्लाइओभरको डिजाइन बनाउने कार्य भइरहेको छ । मुहान सुके ट्याङ्कीको पानी सुरुङ निर्माणको समयमा पानीका मुहानहरु सुक्ने सम्भावना रहेकोले त्यसको विकल्प पनि खोजिएको छ । परियोजनाले पूर्वीक्षेत्रमा (चन्द्रागिरी नगरपालिकामा) ४ सय ५० क्यूबिक मिटरको ४ वटा ट्याङ्की निर्माण गरिरहेको छ । त्यस्तै पश्चिमतर्फ पछि ट्याङ्की बनाउने विषयमा अध्ययन भइरहेको छ । ३२ महिनामा सुरुङ, अरु काम १० महिनामा काम सुरु भएको ३२ महिनामा सुरुङ बनिसक्ने र सुरुङभित्र सामाग्रीहरु जडान गर्नको लागि थप १० महिना लाग्ने परियोजनाका प्रमुख ईन्जिनियर मृगेन्द्र काफ्लेले जानकारी दिए । १० महिनाको समयमा सुरुङलाई आवश्यक पर्ने सीसीटीभी जडान, पानीको आपूर्ति तथा व्यवस्थापन, आगो नियन्त्रण गर्ने उपकरण जडान, ट्राफिक लाईट, विद्युतीयकरण लगायतका कामहरु गरिनेछन् । सुरुङ खन्न अष्ट्रेलियन विधि, ब्लास्टिङ तथा बुमरको प्रयोग सुरुङमार्गमा निर्माण हुने सडक एनएटीएम (न्यु  अष्ट्रेलियन टनल मेथड) विधिको प्रयोगमा गरिनेछ । यो विधि नेपालमा पहिलो पटक प्रयोग हुन लागेको हो । यो विधिमा ब्लास्टिङ तथा बुमरको प्रयोग हुन्छ । बुमर डिलिङ्ग मेसिन हो । सरकारको मापदण्डमा रहेर ब्लास्टिङ गरिनेछ । ब्लाष्टिङले छेउछाउमा चर्काे आवाज आउने, घरहरु हल्लाउने तथा चर्किने जस्ता समस्या हन्छ भन्ने शंकामा ब्याष्टिङपूर्व साइरन बनाइनेछ । ब्लास्टिङको आवाज सानो गर्नको लागि जापानबाट ल्याएर आवाज नआउने ढोका राखिनेछ । यस्तो ढोका राखेपछि बाहिर ठूलो आवाज नआउने र अन्य खतरा उत्पन्न नहुने परियोजनाको अनुमान छ । तर, पनि आवश्यक सतर्कता भने अपनाइएको छ । सुरुङ खन्दा निस्किएका सामाग्रीको व्यवस्थापन सुरुङमै सुरुङबाट निस्किएको सामानहरु सोही परियोजनाको निर्माणको लागि प्रयोग गरिनेछ । पश्चिमतर्फ फिलिङ्ग गर्नु पर्ने धेरै भएकाले अधिकतम सामान सो ठाँउमा प्रयोग गरिनेछ भने काम नलाग्ने सामान डिस्पोजर क्षेत्रमा राखिनेछ । विष्फोटक सामाग्री बोक्ने गाडी छिर्न नपाउने सुरुङभित्र कुनै पनि प्रकारको विष्फोटक सामाग्री छिर्न पाउने छैनन् । यस्तै सुरुङको साईजभन्दा ठुलो गाडीहरुलाई प्रवेश निषेध गरिनेछ । यस्तो नियमको कारण ग्यास, पेट्रोलियम पदार्थ जस्ता विस्फोटक र प्रज्ज्वलनशील सामाग्री बोकेका सवारी साधनले यो सडक प्रयोग गर्न पाउने छैनन् । सम्बन्धित सामग्री नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-२ः काठमाडौंतिरको साइड क्लियर, ४ महिनापछि सुरुङ बनाउन थालिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-१ः तीन वर्षअघि ४ लाख पर्ने जग्गाको मूल्य अहिले २२ लाख

कारवाहीमा पर्ने डरले चार लाभग्राहीले फिर्ता गरे घर बनाउन लिएकाे किस्ता

काठमाडाैं । पुनःनिर्माणको लाभग्राहीमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । घर बनाउन पहिलो, दोस्रो र तेस्रो किस्ता लिएका ती लाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । पहिलो किस्ता लिने तीन र तीनवटै किस्ता लिने एक जना लाभग्राहीले सम्झौताबापतको किस्ता रकम फिर्ता गरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता लिनेबाट एक लाख ५० हजार रूपैयाँ र तीनवटै किस्ता लिनेबाट तीन लाख गरी चार लाख ५० हजार रूपैयाँ फिर्ता भएको छ । भानु नगरपालिकाका दुई र म्याग्दे र ऋषिङ गाउँपालिकाका एक/एक लाभग्राहीले रकम फिर्ता गरेका हुन् । “घर पुनःनिर्माणका लागि सम्झौता गरी रकम लिएका लाभग्राहीको अन्यत्र पनि घर भएको हुनसक्छ, एक भन्दा बढी घर भएको व्यक्तिले भूकम्पको किस्ता लिन पाउँदैन,” उनले भने, “उक्त कुरापछि जानकारीमा आएर कारवाहीमा पर्ने डरले रकम फिर्ता गरेको हुनसक्छ ।” उनका अनुसार एक लाभग्राहीले अर्कैको घर देखाएर पहिलो किस्ता लिएका थिए । पछि प्राविधिकको अनुगमनपछि ती लाभग्राहीले किस्ता फिर्ता गरेको प्रमुख गुप्ताले जानकारी दिए । जिल्लामा ४२ प्रतिशत निजी आवास निर्माण सकिएको छ । यहाँ पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ गरी कूल १५ हजार १३१ लाभग्राही रहेको थियो । गत पुस ११ गतेसम्म ६ हजार ४६९ निजी आवास पुनःनिर्माण सकिएको एकाइले जनाएको छ । ब्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राही रहेकामा एक हजार ५३, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राही रहेकामा दुई हजार १९१, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राही रहेकामा ४८६, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राही रहेकामा ४५५, देवघाट गाउँपालिकामा ६४८ लाभग्राही रहेकामा २२६, घिरिङ गाउँपालिकामा तीन सय ६ लाभग्राही रहेकामा १२२, भिमाद नगरपालिकामा एक हजार २९६ लाभग्राही रहेकामा ३६२, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राही रहेकामा ६०७, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राही रहेकामा ७३७ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राही रहेकामा २३० निजी आवास निर्माण सम्पन्न भएको छ । जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएकोमा ८४४ लाभग्राही थपिएका थिए । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोका आधारमा जिल्लामा गत वैशाख १९ गतेदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको थियो । रासस