विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ ।  मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । 'पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ', प्राधिकरणका कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्यले भने । प्राधिकरणका अनुसार यस कम्पनीले इन्टरनेट सेवा प्रदायकलाई ‘प्लग–एण्ड–प्ले’ ढाँचामा पूर्वाधार उपलब्ध गराउनेछ ।  प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकको पुँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको पनि प्राधिकरणले जनाएको छ । कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’का रूपमा भाडामा उपलब्ध गराउनेछ ।  काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको अव्यवस्थित तार हटाउन यस कम्पनीले प्राथमिकताका साथ काम गर्नेछ । 'भूमिगत पाइपको साझा प्रयोगले सहरी सौन्दर्य फर्काउनुका साथै विद्युत् र टेलिफोनका तारहरू आपसमा अल्झिँदा हुने आगलागी र दुर्घटनाको जोखिमलाई समेत न्यून गर्ने अपेक्षा हामीले गरेका छौँ', कार्यकारी निर्देशक शाक्यले भने, 'हरेक कम्पनीले छुट्टाछुट्टै सडक खन्ने झन्झट पनि योसँगै अन्त्य हुनेछ ।' नेपालका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्याउने सरकारको लक्ष्य हासिल गर्न उक्त कम्पनीले सहयोग पुर्याउने विश्वास गरिएको छ । 'सरकारको उक्त लक्ष्यलाई पूर्वाधार कम्पनीले नयाँ गति दिने अपेक्षा गरेका छौँ', उनले भने, 'ग्रामीण क्षेत्रमा आफ्नै पूर्वाधार निर्माण गर्न निजी कम्पनीहरूलाई अत्यन्तै महँगो पर्ने हुनाले प्राधिकरणको विद्यमान प्रसारण लाइन प्रयोग गर्दा सेवा लागत घट्ने र सर्वसाधारणले सस्तोमा इन्टरनेट पाउने वातावरण बन्नेछ ।'

लागूऔषधसहित १८ जना पक्राउ, डिजिटल तराजुसमेत बरामद

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगानबाट खैरो हेरोइनसहित ५ जना, फिदिम नगरपालिका-१ शनिबारेबाट २ जना, सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट ३ जना, धरान उपमहानगरपालिका-११ बाट १ जना र मध्यपुरथिमी नगरपालिका-१ मनोहराबाट २ जनलाई पक्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागूऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ । यसैगरी, कोहलपुर नगरपालिका-१० चडिण्डका टोलबाट १ जना, पोखरा महानगरपालिका-२५ याम्दीबाट १ जना र सिम्रौनगढ नगरपालिका-३ भट्टीवैरियाबाट २ जना, नेपालगन्ज उपमहानगरपालिका-१३ लालापुरबाट १ जनालाई पक्राउ गरेको हो । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

स्थानीय र विदेशमा रहेका नेपालीलाई माउन्ट एभरेष्टको आईपीओ बिक्री खुला

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ८६ लाख रुपैयाँको ८ लाख ८६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय र ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिएको हो ।  साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ १८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।