सुनसरी, मोरङ र झापामा प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण लाइन बनाउने
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएकाे हाे । यस अन्तर्गत विद्युत खपत बृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने जनाएकाे छ । साथै, भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गर्ने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिइसकेकाे छ । टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए । ‘दीर्घकालीन रुपमा भारत र बंगलादेशतर्फ विद्युत निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज विन्दुहरु नजिक पर्ने देखिएको छ, त्यसैले ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु पर्ने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो लाइन अत्यावश्यक छ, यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्ने छ भने भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने छ ।’ घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढी स्थिति ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै हुने
रसुवा । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ । भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ । जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ । साथै, चालू आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन् । भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थियो । चिलिमेको निर्मातामध्येका एक सदस्य एवं रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो । रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण २०७९ सालभित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिइ प्राविधिक समूहले काम गरिरहेको हो । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकलका वरिष्ठ महाशाखा प्रमुख ई महेन्द्रप्रसाद यादवले बताए। भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरूङ सर्चटैक, पेनस्टक, टेलरेस सुरूङ, भोटेकोसीबाट पानीसँगै सुरूङमा पस्ने बालुवालाई थिग्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको रसुवागढी जलविद्युत् कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए। आयोजनाका कार्यकारी निर्देशक छवि गैरेले भने, ‘सबै प्रकारका अवरोध पार गरी पछिल्लो समय एकाग्ररूपमा द्रुतगतिले भएको उपकरण जडानकार्यबाट उल्लेखनीय प्रगति हासिल भइरहेका कारण आगामी चैतदेखि परीक्षणतर्फ केन्द्रित हुने लक्ष्य लिइएका छौं ।’ सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको थियो । आयोजना निर्माणको समयावधि लम्बिएका कारण निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् । विसं २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेरजानेमा प्राविधिकमाझ चिन्ता व्यक्त गरेका छन् । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउनका लागि टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको विद्युत् हवमा लैजानका लागि १० किमी लामो अन्तरिक प्रसारणलाइनको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको वातावरण विज्ञ तेज साउथले बताताएका छन् । रसुवागढी तथा साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राजधानी पु¥याउनका लागि राष्ट्रिय प्रसारण लाइन निर्माणको काम हाल जारी छ । नयाँ निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनमा रसुवागढी, साङ्जेन, लाङ्टाङ खोला, लाङ्टाङ भोटेकोसी, अपर त्रिशूली(वानसमेतका आयोजनाबाट उत्पादन हुने विद्युत् जडान हुनेछ ।
चार वर्षमा पनि बनेन नारायणगढको ३ किलोमिटर सडक
भरतपुर । नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ । सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए । उनले भने, ‘नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ, एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ ।’ जेभीले नेपाल सरकारबाट विसं २०७९ चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ छ । उनका अनुसार अब चार सय ८० मिटर सडक बनाउन बाँकी छ । करिब ३.१ किलोमिटर रहेको सडक निर्माणका लागि सम्झौता विसं २०७५ वैशाख २६ गते भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिवशक्ति जेभीसँग यसको सम्झौता गरेको थियो । सम्झौताअनुसार विसं २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने थियो । दश मिटर चौडाइको यस बाटो निमार्णका लागि सडकको दुवैतर्फ छदेखि सात फिट गहिरो ढल खनिएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्र सडक तथा ढल निर्माणकार्य प्याकेज नं २ अन्तर्गतको सात योजनामध्ये यो एक योजना हो । जसका लागि ६८ करोड २३ लाख १५ हजार आठ सय २४ मा सम्झौता भएको थियो । सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक र कचपचेचोकसम्मको बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार पाँच सय ७४ रहेको सहरी विकास कार्यालयका इञ्जीनियर पुजन न्यौपानेले बताए । कार्यालयले अब २१ करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।