बिहानैदेखि ३ मेसिन लगाएर तुइन खोलाको पहिरो पच्छ्याइँदै, अलपत्र यात्रुलाई निःशुल्क खाना
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसि रहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुइवटा उपकरण प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले दावी गर्नुभयो । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अलपत्र यात्रुलाई निःशुल्क खाना यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए । पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । मुग्लिन र नारायणगढ दुवै तर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो ।
चाडपर्वमा अवरुद्ध हुन नदिन बीपी राजमार्ग पुनः मर्मत गरिँदै
काठमाडौं । एक वर्ष अघिको बाढी पहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बीपी राजमार्ग चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्ने गरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले बाढी पहिरोपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको थियो । यसपटकको वर्षामा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै स्रोत साधन तयारी अवस्थामा राखेर खाल्डा खुल्डी पुरेर यात्रा सहज बनाइने कार्यालयले जनाएको छ । यसपालिको क्षति रोक्न काभ्रेपलाञ्चोक तर्फको चौकीडाँडा, कटुञ्जे बेँसी, मङ्गलटार र माम्तीमा ग्याबिन जालीसहित पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन् । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै तत्काल हटाउन सडक पुनः निर्माणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएका बताए । ‘दसैँ तिहारलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन सजगता अपनाइएको छ, एक/दुई दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर सडक सुधार गर्दै यात्रा सहज बनाउन लागिएको छ,’ उनले भने । उनका अनुसार सडकलाई ‘ग्रेडिङ’ गरेर ‘रोलिङ’ गर्न लागिएको हो । विसं २०८१ असोजको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत २९ किलोमिटर सडक खण्डलाई चार खण्डमा पुनः निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । बाढी पहिरोले ८ किलोमिटर सडक पूरै बगाएको थियो । क्षतिग्रस्त बीपी राजमार्ग पुनः निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । उक्त सडक खण्ड क्षतिग्रस्त भएपछि गत सालको दसैँमा त्यस मार्ग भएर पूर्वतर्फ घर जान चाहनेले वैकल्पिक मार्ग प्रयोग गरेका थिए । ‘यो मनसुनमा राजमार्ग अवरुद्ध हुन दिइएन, अब दशैँलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत थाल्दैछौँ, वैकल्पिक सडक गर्नुपर्ने बाध्यता हुन नदिनेगरी मर्मत गर्दैछौँ,’ योगेशले भने । उनका अनुसार बाढीपहिरो आए निर्माण व्यवसायीले नै खुलाउने सम्झौता भएको छ । यसका लागि ठेक्का लागेका व्यवसायी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगेशको भनाइ छ । उक्त राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । त्यसअघि राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म १२ घण्टा राजमार्गमा यात्रु बाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो । हाल दैनिक करिब ३ हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडपर्वका बखत तेबर सवारी साधन ओहोरदोहोर गर्छन् । उक्त राजमार्ग दुई वर्षमा पुनः निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको छ । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडक खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्ने छ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताए । बाँकी सिन्धुली तर्फको एक सडक खण्ड र काभ्रेपलाञ्चोक तर्फको दुई सडक खण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ । उक्त यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब २ लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको खुर्कोट सडक खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्ड खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ । आगोले जलेका संरचना र धुवाँले कालो बनेका मन्त्रालयका भित्तामा पानीले पखाली रङरोगन सुरु गरिएको छ । साथै सिंहदरबारभित्र जलेर झ्याल, ढोका र फर्निचर मर्मत पनि सँगसँगै चलेको छ । आगजनीमा परी क्षतिग्रस्त करिब एक हजार सवारीसाधन पन्छ्याउने र व्यवस्थापन पनि सोही गतिमा चलेको देखिन्छ । मर्मत र रङरोगनका लागि केही श्रमिक खट कस्दै गरेका छन् भने कोही रङ लगाउन व्यस्त छन् । तोडफोड भएका झ्यालढोका मर्मतसम्भार गर्ने, टेबुल, कुर्सी, सोफालगायतका फर्निचर जलेर खरानी भएकाले ती फोहर हटाउन श्रमिकहरु तल्लीन भएको दखिन्छ । जेनजी प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सिंहदरबारको मर्मतसम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाउने निर्णयबमोजिम सो कार्य अघि बढाइएको हो । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पदभार ग्रहणका क्रममा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाई भित्तामा रङरोगन गरिने बताएका थिए । 'सिंहदरबारका कालो लागेको भित्ता रङरोगन गर्छौं, हामी विनाशबाट चाँडै उठ्यौँ है भनेर सन्देश दिन जरुरी छ', उनले भने, 'तत्कालै मर्मतसम्भार र पुनःनिर्माण गरी केही महिनाभित्रै उठ्याैँ भन्ने सन्देश दिन्छौँ ।' प्रदर्शनका क्रममा कार्यालय क्षतिग्रस्त भए पनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका कर्मचारी गत भदौ २८ गते बिदाका दिन पनि कार्यालय आई सरसफाइ र मर्मतमा जुटेका थिए । हाल पूर्ण रुपमा क्षतिग्रस्त भएका मन्त्रालयका कर्मचारी ‘रोस्टर’ बनाएर हाजिरी गर्ने र सरसफाइमा जुट्दै आएका छन् । जेनजीको प्रदर्शनका क्रममा गत भदौ २४ सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, शिक्षा तथा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो । प्रदर्शनकारीले नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयमा आज बिदाका दिनमा पनि मर्मतसम्भार र रङरोगन भइरहेको देखिन्छ । रङरोगनमा खटिएका श्रमिकहरु बाँसको खट बनाई, डोरीमा झुन्डिएर धमाधम काम गरिरहेका छन् । प्रदर्शनकारीले ध्वस्त तुल्याएका गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हकमा भने ठूलो क्षति पुगेकाले सामान्य मर्मत र रङरोगनले नपुग्ने भएपछि पुनःनिर्माण गरिने भएको छ । मन्त्रालय क्षेत्रका पार्किङस्थलमा जलेर नष्ट भएका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन जलेर असरल्ल बनेका सवारीको व्यवस्थापन पनि चलिरहेको छ । जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेका रक्षा, कानुन तथा संसदीय मामिला, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, परराष्ट्र, श्रम तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका मन्त्रालयमा सामान्य क्षति पुगेको छ । साथै नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोग अराजक समूहबाट बचेका छन् । रासस