१ अर्ब लगानीले ५ अर्बसम्म जीडीपी बढाउँछ, सरकारले हाड हेरेर घाँटी बनाउनुपर्छ : डा. आचार्य
काठमाडौं । पूर्वाधार विकासविज्ञ डा. सूर्यराज आचार्यले छोटो समयमा आवश्यक सबै पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले ठूलो लगानी अपरिहार्य रहेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले तत्काल देखिने चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे । डा. आचार्यका अनुसार पूर्वाधारमा गरिएको लगानीले अर्थतन्त्रमा बहुगुणात्मक प्रभाव पार्छ । ‘पूर्वाधारमा १ अर्ब रुपैयाँ खर्च गर्दा त्यसले ४ देखि ५ अर्ब रुपैयाँसम्म जीडीपीमा योगदान पुर्याउँछ,’ उनले भने । उनका अनुसार पूर्वाधारमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिए पनि दीर्घकालमा उत्पादकत्व र आर्थिक वृद्धिमा स्पष्ट प्रभाव देखिन्छ । उनले पूर्वाधारलाई केवल भौतिक संरचनाका रूपमा नभई क्षेत्रीय तथा उत्पादनमुखी विकाससँग जोडेर हेर्नुपर्ने बताए । ‘राष्ट्रिय राजमार्ग भनेको गाडी मात्र चल्ने बाटो होइन, यसले उत्पादन, बजार र रोजगारीलाई पनि जोड्छ,’ उनले स्पष्ट पारे । डा. आचार्यले देशमा स्रोतको अभावभन्दा सोच र योजना निर्माणको कमजोरी बढी देखिएको उल्लेख गरे । ‘हामीसँग पर्याप्त पैसा छैन भन्ने गरिन्छ, तर बनेका विमानस्थलहरू पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । गाउँ–गाउँमा सडक बनेका छन्, तर ती सडक उत्पादनसँग जोडिएका छैनन्,’ उनले भने । साथै सुरुङ मार्गजस्ता ठूला पूर्वाधार सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति समेत तयार गर्न नसकिएको उनको भनाइ छ । उनले योजना तर्जुमा गर्दा दीर्घकालीन आवश्यकता र परिणाम स्पष्ट हुनुपर्नेमा जोड दिए । ‘योजना कागजी खोस्टा मात्र हुनु हुँदैन, व्यवहारमा लागू हुने खालको हुनुपर्छ,’ उनले बताए । पूर्वाधार क्षेत्रमा लगानी गर्ने बैंकको नभएको उनले बताए । विकास बैंक भनेर धेरै वटा सञ्चालनमा रहेपनि रिटेल बैंकिङ गरिरहेको उनको भनाइ छ । ‘हामीसँग विकास बैंक धेरै छन् । तर ती विकास बैंकले रिटेल बैंकिङ मात्रै गरिरहेका छन् । हामीसँग विकासमा काम गर्ने बैंक नै छैनन्,’ उनले भने । उनका अनुसार निर्माण गर्ने क्षमता भयो भने पैसाको समस्या हुँदैन । कतिपयले घाँटी हेरेर हाड निल्ने भनिरहेका हुन्छन् । तर, घाँटी हेरेर हाड निल्ने भनेको परिवारले हो । सरकारले हाड हेरेर घाँटी बनाउनुपर्ने उनको भनाइ छ ।
१६१ किलोमिटर लामो बुटवल–लमही प्रसारण लाइन बनाउँदै प्राधिकरण, पूर्वको बिजुली पश्चिममा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही ४ सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरिएको छ । कुल ४ सय केभी क्षमताको सो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहने गरी क्षेत्राधिकार तोकिएको छ । सो प्रसारण लाइनमा कुल ४०५ वटा टावर रहने छन् । यस्तै, दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेसन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक, आर्थिक प्रणालीमा के-कस्तो प्रभाव पर्दछ पनि एकिन गर्न लागिएको सूचनामा उल्लेख छ । त्यस क्षेत्रका आयोजनाका कारण पर्न जाने प्रभावका बारेमा आवश्यक जानकारी, सुझाव एवं सल्लाह दिन प्राधिकरणले आग्रह गरेको छ । वातावरणीय प्रस्तावका सम्बन्धमा आवश्यक राय, सुझाव र सल्लाह प्राधिकरणको केन्द्रीय कार्यालय र परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड ललितपुरमा उपलब्ध गराउन भनिएको छ ।
झापा इनर्जीले ५ महिनामा बेच्यो पौने ५ करोडको बिजुली, प्रतियुनिट ७.३० रुपैयाँ
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो । बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । झापा इनर्जीले आव २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७७७ रुपैयाँको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ पुगेको अध्यक्ष लिम्बूले बताए ।